करदातालाई खुसी बनाउन आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो, ३९% लाई घटाइयो

49.8k
Shares

काठमाडौं । सरकारले बजेटमार्फत आयकरको दर हेरफेर गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको स्ल्यावमा हेरफेर गर्दैछन् ।

करदातालाई खुसी बनाउन सरकारले व्यक्तिगत र संस्थागत दुबैतर्फको आयकर स्ल्याब हेरफेर गरिएको छ। आयकर ऐन २०५८ सालको व्यवस्थाअनुसार आयकर लिने व्यवस्था गरेको भए पनि आर्थिक ऐनले समयसमयमा स्ल्याब परिवर्तन गर्ने गरेको छ ।

अहिले व्यक्तिगत आयकरको सीमा कम्तीमा १ देखि बढीमा ३९ प्रतिशत छ। तल्लो सीमालाई बढाइएको छ भने माथिल्लो सीमालाई घटाइएको छ ।

‘आयकरको माथिल्लो सीमा ३९ प्रतिशतलाई घटाएर ३० प्रतिशतमा झारिएको छ भने न्यूनतम वार्षिक ६ लाख आम्दानीमा लाग्ने १ प्रतिशत करको सीमालाई बढाएर १२ लाख रुपैयाँ बनाइएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘माथिल्लो सीमालाई घटाउँदा धेरै तलब खाने करदातालाई बोझ कम हुन्छ भने तल्लो सीमा बढाउँदा न्यून आय भएका मध्यम वर्गलाई राहत मिल्छ । ठूला र साना दुबै खाले करदातालाई सहज हुने गरी स्ल्याव परिवर्तन गरिएको छ ।’

त्यसैगरी, १२ देखि २० लाख रुपैयाँको आम्दानीमा लाग्ने करलाई पनि घटाइएको छ ।

‘संस्थागत आयकरको २५ देखि ३० प्रतिशतको सीमालाई पनि अवस्था हेरेर घटाइएको छ’ स्रोतले भन्यो ।

नेपालमा व्यक्तिगत र संस्थागत दुबैतर्फको आयकर बढी भएको गुनासो लामो समयदेखि सरोकारवालाहरुले गर्दै आएका थिए । एकातिर झन्झटिलो प्रशासन र अर्कातिर करको बोझका कारण लगानीकर्ताहरु नेपालमा आकर्षित हुन नसकेको बताइरहेको बेला सरकारले कर घटाएको हो ।

‘करको दरलाई हेरफेर गरी सहज बनाउँदा बढी कर असूली हुन्छ भन्ने अर्थमन्त्रीज्यूको विश्वा छ,’ स्रोतले भन्यो ।