
काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका-५ स्थित बेत्रावतीबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।
पासाङल्हामु सडकखण्डमा काठमाडौँबाट टिमुरेतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार एक व्यक्तिको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएको हो ।
पक्राउ पर्नेमा धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय सुशील गुरुङ रहेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बेत्रावती बजारमा नियमित जाँच गर्ने क्रममा गुरुङको साथमा रहेको उक्त डलर फेला पारेको थियो ।
बरामद गरिएको डलर र पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले अवैध डलरको कारोबार नगर्न र सधैं वैधानिक कारोबार मात्र रोज्न सर्वसाधारणमा आग्रह समेत गरेको छ ।





प्रतिक्रिया