रुस र चीनको संयुक्त वक्तव्य जारी, संसारमा जंगलराज आउने जोखिमको चेतावनी


एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणका क्रममा रुस र चीनले संयुक्त घोषणापत्र जारी गरेका छन् ।

संयुक्त घोषणापत्रमा केही देशहरूले औपनिवेशिक युगको शैलीमा विश्वव्यापी मामिलाहरूमा प्रभुत्व जमाउने प्रयासहरू गरे पनि त्यो असफल भएको तर विश्व जंगली कानुनतर्फ फर्कने खतरामा रहेको बताएका छन् ।

क्रेमलिनले रुसी भाषामा सार्वजनिक गरेको घोषणापत्रमा उनीहरूले भनेका छन्, ‘विश्वव्यापी परिस्थिति झन् जटिल बन्दै गएको छ ।’

‘विश्वव्यापी शान्ति र विकासको कार्यसूचीले नयाँ जोखिम र चुनौतीहरूको सामना गरिरहेको छ र अन्तर्राष्ट्रिय समुदाय विभाजित हुने तथा जंगली कानुनमा फर्कने खतरा छ ।’

‘औपनिवेशिक युगको भावनामा रहेर केही राज्यहरूले विश्वव्यापी मामिलाहरूलाई एकपक्षीय रूपमा व्यवस्थापन गर्ने, आफ्ना स्वार्थहरू पूरै विश्वमाथि थोपर्ने र अन्य देशहरूको सार्वभौम विकासलाई सीमित पार्ने प्रयासहरू असफल भएका छन् ।’

घोषणापत्रमा ती देशहरूको नाम उल्लेख गरिएको छैन । तर, चीन र रुस दुवैले विगतमा अमेरिकाको नेतृत्वमा विश्वव्यापी प्रभुत्व लाद्ने प्रयास भनी वर्णन गरिएको कुराको आलोचना गर्दै आएका छन् ।