
एजेन्सी । चीनले २०० वटा बोइङ जेट विमानहरू खरिद गर्ने चीनको वाणिज्य मन्त्रालयले बुधबार बताएको छ । गत वर्ष क्वालालम्पुरमा भएको अमेरिकासँगको व्यापार सम्झौताको म्याद थप गर्न खोज्ने कुरा पनि उसले जनाएको छ ।
यो बोइङ खरिदको अर्डरबारे बेइजिङको पहिलो आधिकारिक पुष्टि हो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता चीनका राष्ट्रपति सी चिनपिङसँगको शिखर वार्ताका लागि चीनको भ्रमण गरेका थिए । उक्त भ्रमणले बोइङ खरिद र कृषि बजारमा पहुँच लगायतका व्यापारिक प्रतिबद्धताहरूको शृंखला सिर्जना गरेको छ ।
बेइजिङ शिखर वार्तापछि ट्रम्पले बोइङ खरिद ७५० विमानसम्म पुग्न सक्ने बताए र ती विमानहरूमा जीई एरोस्पेसका इन्जिनहरू जडान हुने थप जानकारी दिए ।
बोइङ सम्झौता अन्तर्गत अमेरिकाले चीनलाई विमानका इन्जिनका पाटपुर्जा र सामग्रीहरूको आपूर्तिको सुनिश्चितता प्रदान गर्ने चिनियाँ मन्त्रालयले जनाएको छ ।
दुवै पक्षले एकअर्काका ३० अर्ब डलर वा त्यसभन्दा बढी मूल्यका सामानहरूमा पारस्परिक भन्सार महसुल कटौतीको प्रयास गर्नेछन् । साथै, चीनमाथिको अमेरिकी भन्सार महसुल क्वालालम्पुर सम्झौता अन्तर्गत तोकिएको स्तरभन्दा बढी हुन नहुने कुरा पनि मन्त्रालयले उल्लेख गरेको छ ।
गत अक्टोबरमा दक्षिण कोरियामा भएको ट्रम्प–सी भेटवार्ता अघि चीन र अमेरिकाबीच क्वालालम्पुरमा एक सम्झौता भएको थियो जसले उनीहरूको भन्सार शुल्क युद्धको विरामलाई एक वर्षका लागि लम्ब्याएको थियो ।
उक्त सम्झौतामा चिनियाँ उत्पादनहरूमा अमेरिकी भन्सार महसुल कटौती र दुर्लभ खनिज पदार्थ तथा चुम्बकहरूमा बेइजिङको नयाँ प्रतिबन्धमा रोक लगाउने विषय समावेश थियो ।









प्रतिक्रिया