पोखराको सेन्ट्रल एक्सचेञ्ज काउन्टरको मनिचेञ्जर इजाजतपत्र खारेज


काठमाडौं । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले कास्की जिल्लाको पोखरा-०६ मा सञ्चालित ‘सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रालि’ को मनिचेञ्जर सम्बन्धी इजाजतपत्र खारेज गरेको छ ।

बैंकले एक सार्वजनिक सूचना जारी गर्दै उक्त कम्पनीको इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो ।

परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्न इजाजत प्राप्त यस सेन्ट्रल एक्सचेञ्ज काउन्टरले आफ्नो कारोबार बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र खारेजीका लागि बैंकमा स्वैच्छिक रूपमा निवेदन पेश गरेको थियो ।

सोही निवेदनका आधारमा ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ मा भएको व्यवस्था बमोजिम बैंकले इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको मिति २०८३ वैशाख ३० गतेको निर्णयानुसार उक्त मनिचेञ्जरको इजाजतपत्र आधिकारिक रूपमा खारेज गरिएको बताइएको छ । यससँगै अब उक्त संस्थाले विदेशी मुद्रा खरिद सम्बन्धी कुनै पनि कारोबार गर्न पाउने छैन।