प्रहरी महानिरीक्षक र एपीजीका प्रतिनिधिबीच भेटवार्ता: ‘ग्रे लिस्ट’बाट निकाल्न प्रहरीको भूमिकाबारे छलफल

70
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ्ग (एपीजी) का प्रतिनिधिहरूबीच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।

भेटघाटका क्रममा एपीजीका डेपुटी एक्जुकेटिभ सेक्रेटरी डेभिड श्यानन र पोलिसी अफिसर किया सासलको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्न नेपालले प्रस्तुत गरेको कार्ययोजना र त्यसमा प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका रूपमा नेपाल प्रहरीको भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलका क्रममा सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेका काम कारबाहीहरूको समीक्षा गरिएको थियो ।

साथै, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग र आगामी कार्यदिशाका सम्बन्धमा पनि दुई पक्षबीच कुराकानी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भेटवार्तामा वित्तीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, आपसी सहयोग तथा समन्वय लगायतका महत्वपूर्ण विषयहरूमा समेत जोड दिइएको थियो ।

उक्त कार्यक्रममा वित्तीय जानकारी इकाईका प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारीहरूका साथै नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकहरू र वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।