
काठमाडौं । पत्रकारलाई लामोसमयसम्म पारिश्रमिक नदिएपछि अंग्रेजी पत्रिका द हिमालयन टाइम्स पत्रिकाको बैंक खाता रोक्काका लागि पत्राचार भएको छ ।
इन्टरनेशनल मिडिया नेटवर्क नेपाल प्रालिले प्रकाशित गर्ने द हिमालयन टाइम्सले पत्रकारको पत्रकारलाई पारिश्रमिक भुक्तानी नगरेपछि श्रम तथा रोजगार कार्यालयको सिफारिसमा बैंक खाता र सेयरको खरिदबिक्री रोक्का गर्न पत्राचार गरेको हो ।
कार्यालयले वैशाख २१ गते कम्पनी रजिष्टारको कार्यालय र नेपाल राष्ट्र बैंकलाई फरक फरक पत्र लेखेर खाता रोक्काका लागि अनुरोध गरेको छ ।
कार्यालयले श्रम अदालतले गरेको फैसला कार्यान्वयन नगरेका कारण सेयर खिरिद बिक्री र अध्यावधिक रोक्का राख्न अनुरोध गरेको हो । पत्रमा भनिएको छ, ‘इन्टरनेशनल मिडिया नेटवर्क नेपाल प्रालिको कम्पनी शेयर खरिद बिक्री नामसारी अध्यावधिक लगायतको कारोबार फैसला कार्यान्वयन नगरिएसम्म वा अर्को आदेश नभएसम्म रोक्का राखी दिनु हुन अनुरोध छ ।’
कार्यालयले नेपाल राष्ट्र बैंकलाई पनि पत्र लेखेर बैंक खाता रोक्का गरिदिन अनुरोध गरेको छ । कार्यालयले श्रम ऐन, २०७४ को दफा १६७ को उपदफा (२) को खण्ड (ख) बमोजिम खाता रोक्का गरिदिन अनुरोध गरेको हो । ऐनले तोकेको सेवा सुविधा र पारिश्रमिक प्राप्त नभएपछि पत्रकार अरोराले श्रम अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले अरोराको माग बमोजिम भुक्तानीका लागि आदेश गरेको थियो तर इन्टरनेशनल मिडिया नेटवर्क नेपालले अदालतको आदेश कार्यान्वयन नगरेपछि पत्रकार अनुज अरोराले २०८१ माघ ८ गते फैसला कार्यान्वयनका लागि श्रम कार्यालयमा निवेदन दिएका थिए ।









प्रतिक्रिया