भारतको निर्यात प्रतिबन्धले चिनी अभाव नहुने सरकार र निजी क्षेत्रको दाबी


काठमाडौं । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने नीतिगत परिवर्तन गरेपछि नेपाली बजारमा पर्न सक्ने सम्भावित असरलाई लिएर सरकार र निजी क्षेत्रले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चिनी उद्योग संघले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा आगामी ८ महिनाको माग धान्न सक्ने पर्याप्त चिनी मौज्दात रहेको भन्दै उपभोक्तालाई आश्वस्त पारेका छन् ।

नेपाल चिनी उद्योग संघका अनुसार चालु क्रसिङ सिजनमा देशभरका १३ वटा चिनी उद्योगहरू सञ्चालनमा आई कूल १ लाख ९० हजार ८७० मेट्रिक टन चिनी उत्पादन भएको थियो । जसमध्ये केही परिमाण बिक्री भएर हाल उद्योगहरूसँग मात्रै १ लाख ८ हजार मेट्रिक टन चिनी सुरक्षित रहेको छ ।

यसका साथै, बजारमा व्यवसायीहरूसँग करिब २० हजार मेट्रिक टन र चालु आर्थिक वर्षमा आयात भएको ६० देखि ७० हजार मेट्रिक टन चिनी उपलब्ध रहेको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग रहेको मौज्दात समेत जोड्दा आउँदो ८ महिनाको राष्ट्रिय माग सहजै पूरा हुने सरकारको ठम्याइ छ ।

भारतको निर्यात प्रतिबन्धको बहानामा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र अस्वाभाविक मूल्य वृद्धि गर्ने प्रवृत्तिलाई रोक्न सरकारले कारवाहीसम्म गर्ने चेतावनी दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै प्रचलित कानुन बमोजिम कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रीको उपस्थितिमा भएको छलफलमा चिनी उद्योगीहरूले कारखाना मूल्यमा कुनै उल्लेखनीय वृद्धि नगर्ने र बजारमा चिनीको सहज र सुलभ आपूर्ति नियमित राख्ने प्रतिवद्धता जनाएका छन् ।

चिनीमा वैदेशिक निर्भरता घटाउन र आन्तरिक उत्पादन बढाउन सरकारले तीन वटा तहमा समन्वय गरी काम गर्ने योजना अघि सारेको छ ।

जसअनुसार कृषि मन्त्रालयले उन्नत जातका उखु खेती प्रवर्द्धन गर्ने, किसानलाई आधुनिक प्रविधि र नवप्रवर्तनमा सहजकीकरण गर्नुपर्नेछ । यस्तै उद्योग मन्त्रालयले उत्पादन प्रवर्द्धन, आपूर्ति व्यवस्थापन र बजार नियमनलाई प्रभावकारी बनाउनु पर्र्नेछ ।

निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्वच्छ बजार र उपभोक्ता हित संरक्षणमा सहयोग पुऱ्याउनुपर्नेछ ।

यसैगरी सरकार र उद्योग संघ दुवैले सर्वसाधारण नागरिकलाई चिनीको उपलब्धता र आपूर्ति सम्बन्धमा कुनै पनि किसिमको अन्योलमा नपर्न आग्रह गरेका छन् ।

बजारमा पर्याप्त चिनी रहेकोले आवश्यकताभन्दा बढी सञ्चिति नगर्न र बजारमा कृत्रिम अभाव हुन नदिन सहयोग गर्न उपभोक्ता एवं सरोकारवालाहरूलाई अपील गरिएको छ ।

मन्त्रालयले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनी लगायतका अत्यावश्यक वस्तुको आपूर्ति र मूल्य स्थिरता कायम गर्न आफू पूर्ण रूपमा प्रतिवद्ध रहेको स्पष्ट पारेको छ ।