
एजेन्सी । बिजनेस इनसाइडरको रिपोर्ट अनुसार, गुगलका पूर्व सीईओ एरिक स्मिटले भर्खरै अमेरिकाको एरिजोना विश्वविद्यालयको दीक्षान्त समारोहमा स्नातक विद्यार्थीहरूलाई आधुनिक प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सले सिर्जना गरेको लथालिंग अवस्थाबारे चेतावनी दिएपछि विरोधको सामना गर्नुपरेको छ ।
अन्य वक्ताहरूले विद्यार्थीहरूलाई दिएको सम्बोधनका लागि ताली पाए पनि प्रविधि र एआईका नचाहिँदो परिणामहरूबारे स्मिटको टिप्पणीले मानिसहरूको भावनामा चोट पुर्यायो ।
‘हामीले सोचेका थियौं, हामी ज्ञानको मन्दिरमा थप इँट्टाहरू थप्दैछौं… तर हामीले बनाएको संसार सोचेभन्दा बढी जटिल निस्कियो,’ उनले मानिसहरूलाई जोड्ने उद्देश्यले बनाइएका प्लेटफर्महरूले सार्वजनिक बहसको स्तर खस्काएको कुरा उल्लेख गर्दै भने ।
उनले प्रत्यक्ष रूपमा एआईको बारेमा कुरा गर्दा दर्शक र स्मिटबीचको तनाव झन् बढ्यो । ‘तपाईंको पुस्तामा एउटा डर छ कि भविष्य पहिले नै लेखिसकिएको छ । मशिनहरू आउँदैछन्, रोजगारीहरू हराउँदैछन्, जलवायु बिग्रँदैछ, राजनीति विभाजित छ र तपाईंहरूले आफूले सिर्जना नगरेको एउटा लथालिंग अवस्था उत्तराधिकारमा पाइरहनुभएको छ,’ उनले विद्यार्थीहरूलाई भने ।
उनले ती डरहरूलाई तार्किक भनी स्वीकार गरे तर उनीहरूलाई समय अनुसार चल्न र एआईको प्रयोग कसरी गर्ने भन्ने कुरालाई आकार दिन मद्दत गर्न आग्रह गरे ।
विगतमा पनि स्मिटले एआईको बारेमा चिन्ता व्यक्त गरेका थिए । प्रविधि क्षेत्रका यी अनुभवी व्यक्तिले एआई एक उपयोगी सहायकबाट दक्ष प्रोग्रामरहरूको विकल्प बन्न सक्ने गरी तीव्र गतिमा विकास भइरहेको कुरामा जोड दिए ।
ओपनएआई र एन्थ्रोपिक जस्ता अग्रणी एआई अनुसन्धान केन्द्रहरूमा एआई प्रणालीले प्रोग्रामिङको १० देखि २० प्रतिशत काम पहिले नै गरिरहेको छ र यो प्रतिशत निकै तीव्र गतिमा बढ्नेछ भनी स्मिटले खुलासा गरे ।
एरिक स्मिटले एआईको जति चर्चा हुनुपर्ने हो । त्यसभन्दा कम चर्चा भएको बताए । एआईको वास्तविक आर्थिक सम्भावना कोडिङमा मात्र नभई कर्पोरेट कार्यहरूलाई स्वचालित रूपमा गर्ने क्षमतामा रहेको उनले जोड दिए ।
धेरै स्नातकहरू एआईले सुरुवाती तहका रोजगारीहरू घटाउनेमा चिन्तित छन् किनकि क्लार्ना र आईबीएम जस्ता कम्पनीहरूले पहिले नै एआईसँग सम्बन्धित कर्मचारी कटौती गरिसकेका छन् ।
प्यु रिसर्चको एक अध्ययनले आधा अमेरिकीहरू एआईको बढ्दो भूमिकालाई लिएर उत्साहित हुनुभन्दा बढी चिन्तित रहेको फेला पारेको छ ।
केही विद्यार्थीहरूले स्मिटविरुद्ध विगतका यौन दुर्व्यवहारको आरोपलाई लिएर विरोध गर्ने योजना पनि बनाएका थिए जसलाई उनका वकिलले मनगढन्ते भनेका छन् ।
स्मिटको यो गम्भीर टिप्पणी एनभिडियाका सीईओ जेन्सेन ह्वाङको भन्दा ठीक उल्टो थियो जसले गत हप्ता कार्नेगी मेलन विश्वविद्यालयका स्नातकहरूलाई एआईले अवसरहरू समाप्त पार्ने नभई सिर्जना गर्ने बताएका थिएः ‘एआईले तपाईंलाई विस्थापित गर्ने सम्भावना छैन । तर तपाईंभन्दा राम्रोसँग एआई प्रयोग गर्ने व्यक्तिले तपाईंलाई विस्थापित गर्न सक्छ ।’
सन् २०२६ को ब्याचको लागि कार्नेगी मेलन विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै एनभिडिया प्रमुखले भने कि एआईको लहरले यस प्रविधिलाई चलाउन आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि इलेक्ट्रिसियन, प्लम्बर, वेल्डर, प्राविधिक र बिल्डरहरूको भारी माग सिर्जना गरिरहेको छ ।
ह्वाङले यस क्षणलाई एउटा नयाँ औद्योगिक युगको रूपमा वर्णन गरे र दक्ष सीपमूलक पेशाहरू छिट्टै आधुनिक अर्थतन्त्रमा सबैभन्दा मूल्यवान र उच्च तलब हुने करियरहरू बन्न सक्छन् भनी तर्क गरे ।









प्रतिक्रिया