कर्मा तेञ्जिङले पोखरामा पाँचतारे होटल बनाउँदै, लागत कति ?

13.1k
Shares

काठमाडौं । व्यवसायी कर्मा तेञ्जिङले पर्यटकीय नगरी पोखरामा पाँचतारे होटल बनाउने भएका छन् । तेन्जिङले सन् २०२४ मा दर्ता गरेको इम्पेरर हस्पिटालिटी एन्ड होटल्स प्रालिले पोखरामा पाँचतारे होटल बनाउने भएको हो ।

तेञ्जिङले काठमाडौंमा १ सय ७० वटा कोठा सुविधाको ले मेरिडियन ब्रान्ड निर्माण गरिरहेका छन् । त्यस्तै, उनले महराजगञ्जमा १ सय ६२ वटा युनिटको अपार्टमेन्ट पनि निर्माण गर्दै छन् ।

कम्पनीले पोखरामा १ सय ३० वटा कोठाको सुविधासहित होटल बनाउने जनाएको छ । कम्पनीले १ लाख ५१ हजार ९ सय ६० स्क्वारफिट क्षेत्रफलमा स्वीमिङ पुल, क्यासिनो र स्पाको सुविधा भएको होटल निर्माण गर्नेछ । कम्पनीले होटल निर्माणका लागि २ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

कम्पनीले होटल निर्माणका लागि ७४ः२६ लागत अनुपात राखेको छ । जसमा कम्पनीले २ अर्ब ६ करोड रुपैयाँ बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा लिई लगानी गर्ने भएको छ भने ७१ करोड रुपैयाँ स्वपुँजी (इक्वीटी)मार्फत् लगानी गर्नेछ ।

कम्पनीले कर्जाका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । जसमा ६२ करोड ९० लाख रुपैयाँ बैंकबाट स्वीकृति पाइसकेको छ । त्यसैगरी ८८ करोड ८० लाख रुपैयाँ भने होटल परियोजना निर्माण गर्न खर्च भइसकेको छ । कम्पनीले खानाको सेवा, कन्फरेन्स रुम, स्वीमिङ पुल, स्पा, हेल्थ क्लब र अन्य सुविधा हुने उल्लेख गरेको छ ।

कम्पनीअनुसार हाल होटलको निर्माण कार्य सुरुवाती चरणमा छ । जग्गाको अधिग्रहण भने भइसकेको छ । होटल निर्माणका लागि ३४ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीको भनाइ छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले होटल व्यवस्थापनका लागि स्टारवुड एसिया प्यासिफिक होटल्स एन्ड रिसोर्टसँग सम्झौता गरेको छ । उक्त कम्पनीले मेरिडियन ब्रान्डमा विश्वभर होटलको कारोबार गर्दै आएको छ ।