
एजेन्सी । विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डामा फैलिएको इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यस भाइरसले छिमेकी देशहरूका लागि ठूलो जोखिम निम्त्याउने चेतावनी पनि उसले दिएको छ ।
विश्व स्वास्थ्य संगठनले बुन्डिबुग्यो स्ट्रेनसँग सम्बन्धित यो प्रकोप हाल महामारी–स्तरको आपतकालको रूपमा नरहेको बताएको छ । तर, यसले कंगोसँग जमिनको सिमाना जोडिएका देशहरूमा संक्रमण फैलिने उच्च जोखिम रहेको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायले एक विज्ञप्तिमा शनिबारसम्म पूर्वी कंगोको इटुरी प्रान्तमा ८० जनाको शंकास्पद मृत्यु, आठवटा प्रयोगशालाबाट पुष्टि भएका केस र २४६ जनामा शंकास्पद संक्रमण देखिएको बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, यो प्रकोप बुनिया, रम्पारा र मोन्गब्वालु गरी कम्तीमा तीनवटा स्वास्थ्य क्षेत्रमा फैलिएको छ ।
यस रोगको जाइरे प्रजातिका लागि मात्र खोपहरू उपलब्ध छन्ः मर्कको एर्भेबो र जोन्सन एन्ड जोन्सनको साबडेनो ।
विश्व स्वास्थ्य संगठनको अनुमतिपछि सन् २०२२ को अन्त्यदेखि सुडान स्ट्रेनका लागि तीनवटा सम्भावित खोपहरूको परीक्षण गरिएको छ ।
जाइरे स्ट्रेन विरुद्ध मृत्युदर उल्लेख्य रूपमा कम गर्ने दुईवटा मोनोक्लोनल एन्टिबडीहरू पनि उपलब्ध छन् ।
तर, जुनसुकै अवस्थामा पनि लक्षण देखिएका बिरामीहरूको उपचारका लागि रिहाइड्रेसन (शरीरमा जलको मात्रा कायम राख्ने) र रगत चढाउने (ट्रान्सफ्युजन) विधि प्रयोग गरिन्छ ।
इबोला भाइरसको पूर्ण वैज्ञानिक नाम अर्थोइबोलाभाइरस जाइरेन्स हो । पहिलोपटक सन् १९७६ मा यो प्रजातान्त्रिक गणतन्त्र कंगोमा फेला परेको थियो जसलाई त्यस समय जाइरे भनिन्थ्यो ।
यो फिलोभिरिडे भाइरस परिवारबाट आएको हो जसको मुख्य विशेषता उच्च ज्वरो आउनु हो । यसको नाम देशको उत्तरी भागमा रहेको नदीको नामबाट राखिएको हो जहाँ पहिलोपटक यो महामारी फैलिएको थियो ।
अहिलेसम्म इबोलाका ६ वटा फरक–फरक स्ट्रेन पहिचान भएका छन्ः जाइरे, सुडान, बुन्डिबुग्यो, रेस्टन, ताई फरेस्ट र बोम्बाली । सन् २०१४ यता धेरैजसो संक्रमण जाइरे प्रजातिका कारण भएका छन् ।
यो भाइरस फ्रुट ब्याट (चमेरो) बाट फैलिन्छ जसलाई इबोलाको प्राकृतिक वाहक मानिन्छ र तिनीहरू आफैं भने बिरामी पर्दैनन् । वनमान्छे, मृग र दुम्सी जस्ता अन्य जनावरहरूले पनि यो रोग बोक्न र मानिसमा सार्न सक्छन् ।
महामारीको समयमा इबोला संक्रमित मानिससँगको प्रत्यक्ष र नजिकको सम्पर्कबाट सर्छ । एक स्वस्थ व्यक्ति बिरामी व्यक्तिको शारीरिक तरल पदार्थ रगत, बान्ता वा दिसाबाट संक्रमित हुन सक्छ ।
मानिसहरू भाइरसबाट मृत्यु भएका व्यक्तिको शवसँग प्रत्यक्ष सम्पर्कमा आए भने अन्त्येष्टि संस्कारका क्रममा पनि संक्रमित हुन सक्छन् । तर, इबोला हावाबाट नसर्ने भएकाले यो अन्य भाइरल रोगहरू भन्दा कम संक्रामक छ ।
तर, यो रोग लाग्नेहरूमा मृत्युदर धेरै उच्च छ । विश्व स्वास्थ्य संगठनका अनुसार, प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालैका महामारीहरूमा मृत्युदर ४० देखि ७० प्रतिशतको बीचमा रहेको छ ।
नेचर विज्ञान पत्रिकामा प्रकाशित एक अध्ययन अनुसार, यो भाइरस निको भएका मानिसहरूमा सुषुप्त अवस्थामा रहन सक्छ र वर्षौंपछि पुनः सक्रिय भई नयाँ प्रकोप निम्त्याउन सक्छ ।
दुई देखि २१ दिनको इन्क्युबेशन (संक्रमण भएदेखि लक्षण देखिने समय) अवधिपछि पहिलो लक्षणहरू अचानक देखिन सक्छन्ः ज्वरो आउने, थकान लाग्ने, अस्वस्थ महसुस हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने र घाँटी दुख्ने ।
ती लक्षणहरू पछि बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, शरीरमा डाबर देखिने र मृगौला तथा कलेजोको कार्यक्षमतामा गडबडी हुने जस्ता लक्षणहरू देखिन्छन् ।
यसका साथै कहिलेकाहीँ आन्तरिक र बाह्य रक्तश्राव पनि हुन सक्छ ।
यस रोगबाट निको भएकाहरूमा प्रायः बाथ, दृष्टिसम्बन्धी समस्या, आँखा सुन्निने र सुन्नमा कठिनाइ हुने जस्ता समस्याहरू देखिन्छन् ।









प्रतिक्रिया