युवा स्वरोजगार कोषले उठाउन सकेन ६७ करोड कर्जा, ४३२ सहकारीबाट असुली हुन बाँकी

77
Shares

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट प्रवाह भएको कर्जामध्ये करिब २९ प्रतिशत कर्जा भाखा नाघेको पाइएको छ । कोषले लगानी गरेको २ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ ५६ लाख कर्जामध्ये ६७ करोड १९ लाख रुपैयाँभन्दा बढी रकम भाखा नाघेको पाइएको हो ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन अनुसार कोषले विभिन्न सहकारी संस्थाहरूबाट उक्त रकम बराबरको साँवा, ब्याज र हर्जाना असुल गर्नुपर्ने देखिएको हो ।

कोषको २०८२ असार मसान्तसम्मको विवरणअनुसार कुल २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार रुपैयाँ कर्जा सापटी दिएको थियो । जसमध्ये ४३२ वटा सहकारी संस्थाहरूबाट ५७ करोड ९७ लाख १८ हजार रुपैयाँ साँवा, ८ करोड ९८ लाख ६४ हजार रुपैयाँ ब्याज र २३ लाख ८२ हजार रुपैयाँ हर्जाना असुल हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम १६ अनुसार कोष र ऋणीहरूबीच ऋण सम्झौता गर्दा अवधिको सीमा ५ वर्ष र ऋण भुक्तानी अवधि ४२ महिना तोकिएको हुन्छ। सम्झौताअनुसार तोकिएको समयमा किस्ता नबुझाएमा बुझाउनुपर्ने रकमको थप २ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ।

महालेखाको प्रतिवेदनले सम्झौताअनुसारको सर्त पालना नभएको र ठुलो परिमाणमा कर्जा उठ्न बाँकी रहेको भन्दै हिसाब यकिन गरी तुरुन्त साँवा, ब्याज र हर्जाना रकम असुल गर्न निर्देशन दिएको छ।

बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित यो कोषको रकम सहकारीहरूले समयमै फिर्ता नगर्दा कार्यक्रमको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ।