
काठमाडौं । नेपाललले कार्वन व्यापारबाट १८ वर्षमा ४ अर्ब रुपैयाँ आम्दानी गरेको छ । वैकल्पिक ऊर्जाका विभिन्न आयोजनामार्फत कार्बन उत्सर्जन न्यूनीकरण गरेबापत ४ अर्बभन्दा माथि आम्दानी गरेको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको विवरणअनुसार सन् २००७ देखि २०२५ सम्म नेपालले ६६ लाख ८८ हजार टन कार्बन न्यूनीकरण गरेबापत कुल ४ अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको महालेखा परिक्षकको ६३ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
हालसम्म घरायसी बायोयस, सुधारिएको पानी मिल र लघु तथा साना जलविद्युततर्फका ८ वटा आयोजनाहरू कार्बन बिक्रीका लागि दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष मात्रै नेपालले कार्बन व्यापारबाट ९ करोड ४९ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
वातावरण संरक्षण ऐन, २०७६ को दफा २८ मा नेपाल सरकारले कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चितीका लागि अन्तर्राष्ट्रिय सन्धिबाट स्थापित संयन्त्र, विदेशी सरकार वा संस्था, व्यावसायिक निकाय वा निजी क्षेत्रसँग कार्बन व्यापार गर्न सक्ने व्यवस्था गरेको छ। यसै व्यवस्थाअनुसार नेपालले अन्तर्राष्ट्रिय बजारमा कार्बन बिक्री गर्दै आएको छ ।
पछिल्लो समय कार्बन व्यापारको अन्तर्राष्ट्रिय संयन्त्रमा आएको परिवर्तनले भने केही चुनौती थपेको प्रतिवेदनमा उल्लेख छ। यसअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले क्योटो प्रोटोकल अन्तर्गतको ‘स्वच्छ विकास संयन्त्र’ मा आयोजना दर्ता गरी आम्दानी गर्दै आएको थियो।
तर, सन् २०२३ देखि उक्त संयन्त्र बन्द भएपछि अहिले अन्तर्राष्ट्रिय बजारमा कार्बन बिक्रीका लागि आयोजनाहरू ‘गोल्ड स्ट्याण्डर्ड’ मा दर्ता गर्नुपर्ने भएको छ । सो प्रविधि समयमै प्रमाणीकरण तथा दर्ता हुन नसक्दा अपेक्षित रूपमा कार्बन आय आर्जन हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।









प्रतिक्रिया