‘माउन्टेन ड्यु’पिउँदा स्वास्थ्य समस्या देखिएको गुनासोपछि अनुगमन, बिक्रीमा रोक

1.4k
Shares

काठमाडौं । सामाजिक संजालमार्फत सार्वजनिक भएको एक उपभोक्ताको गुनासो सम्बोधन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘माउन्टेन ड्यु’ पेय पदार्थको एक निश्चित ब्याचको बिक्री-वितरणमा तत्कालका लागि रोक लगाएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गर्दा वान्ता भएको भिडियो सामाजिक संजालमा सार्वजनिक गरेपछि विभागको ‘र्यापिड रेस्पोन्स टिम’ले तत्कालै उद्योगमा पुगेर अनुगमन गरेको थियो ।

विभागको टोलीले काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलास्थित माउन्टेन ड्यु उत्पादन गर्ने उद्योग ‘वरुण वेभेरेज (नेपाल) प्रालि’ मा अनुगमन गरेको थियो ।

निरीक्षणका क्रममा उपभोक्ताले सेवन गरेको ब्याच नं १६८, ०३-०४-२६ को २५० मिलिलिटर प्याकको माउन्टेन ड्युमध्ये उद्योगको गोदाममा एक क्रेट (२४ बोतल) मात्र बाँकी रहेको र अन्य उत्पादनहरू डिलरमार्फत बजारमा पठाइसकिएको पाइएको छ ।

अनुगमनका क्रममा उत्पादनमा प्रयोग गरिएका कच्चा पदार्थहरूको उपभोग्य मिति भने कायम रहेको फेला परेको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले देहाय बमोजिमको निर्देशन र कारबाही प्रक्रिया अघि बढाएको छ । जसअनुसार उक्त ब्याच (ब्याच नं १६८) को उत्पादनको प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्मका लागि सो ब्याचका पेय पदार्थ बिक्री-वितरण नगर्न सम्बन्धित उद्योग र डिलरहरूलाई निर्देशन दिइएको छ ।

संकास्पद ब्याचको नमूना संकलन गरी विस्तृत विश्लेषणका लागि प्रयोगशालामा पठाइएको छ ।

उक्त उत्पादनमा प्रयोग भएका कच्चा पदार्थहरूको विस्तृत विवरण र खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण अभिलेख ५ दिनभित्र विभागमा पेश गर्न उद्योगलाई आदेश दिइएको छ ।