रोकिएन ब्याजदर घट्न, जेठका लागि पनि घटाए बैंकहरूले निक्षेपको ब्याजदर

2.2k
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत घटाउन बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै लगेका हुन् ।

नेपाल राष्ट्र बैंकले बचतको ब्याजदरमा एउटा न्यूनतम क्याप लगाएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ ।

मौद्रिक नीतिमा निक्षेप संकलन दर २.७५ प्रतिशत तोकेको छ । बचतको न्यूनतम ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएका बैंकहरूले स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था छ ।

सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन सकेका छैनन् । जसले गर्दा लागत कम गर्न मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै घटाएर ४ प्रतिशतभन्दा पनि तल झारेका हुन् । वैशाखका लागि २० मध्ये व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत पनि छैन ।

२० मध्ये जेठका लागि सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर सामान्य बढाउँदा ६ बैंकले घटाएका छन् ।

१३ बैंकको भने ब्याजदर वैशाखकै यथावत रहेको छ । वैशाखामा ४ प्रतिशत रहेको सिद्धार्थ बैंकले जेठका लागि ०.०५ प्रतिशत बिन्दुले बढाएर व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.०५ प्रतिशत पुर्याएको छ ।

वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर रहेको एनएमबि बैंकले पनि जेठका लागि घटाएको छ । बैंकले जेठमा ०.२० प्रतिशत बिन्दुले घटाएर व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.८ प्रतिशत बनाएको छ ।

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि निक्षेपमा दिने ब्याजदर प्रकाशित गर्नुपर्छ । बिहिबार जेठका लागि दिने निक्षेपको ब्याजदर सार्वजनिक गर्दा वैशाखको तुलनामा जेठका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०५ प्रतिशतले घटाएका हुन् ।

वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.३९ प्रतिशत रहेकोमा जेठमा ४.३४ प्रतिशतमा झरेको छ । जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा एनएमबी बैंकले सर्वाधिक ४.८ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले वैशाखको ब्याजदर ४.७५ प्रतिशत नै प्रस्ताव गरेको छ ।

वैशाखको तुलनामा जेठमा ब्याजदर घटाएका बैंकमा एनएमबि, एनआईसी एशिया, हिमालयन, कुमारी, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी छन् ।

त्यस्तै स्थिर राखेकामा राष्ट्रिय वाणिज्य, प्रभु, नबिल, ग्लोबल आईएमई, माछापुच्छ्रे, सानिमा, नेपा इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नेपाल, नेपाल एसबीआई, प्राइम कमर्सियल र कृषि विकास र एभरेष्ट छन् ।

बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशतभन्दा कम गर्न नसक्ने भएपछि लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका हुन् । मुद्दती निक्षेपमा २ वर्षदेखि १० वर्षका लागि बैंकहरूले ४ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरेपछि छोटो अवधिको मुद्दती निक्षेपमा भने सबैजसो बैंकको ब्याजदर ४ प्रतिशतभन्दा तल छ ।

जेठमा कुमारी बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ३.९६ प्रतिशत मात्रै ब्याजदर प्रस्ताव गरेको छ । वैशाखमा ४.०५ प्रतिशत रहेकोमा जेठमा ०.०९ प्रतिशत बिन्दुले घटाएको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले वैशाखमा ४.१ प्रतिशत रहेको जेठमा ०.१ प्रतिशतले घटाएर ४ प्रतिशत बनाएको छ । एभरेस्ट बैंकले पनि ४.०५ प्रतिशत ब्याजदर यथावत राखेको हो ।

ब्याजदर घटाउनेमा सिटिजन्सले ४.१५ प्रतिशतबाट ०.०५ प्रतिशत बिन्दुले घटाएर ४.१० प्रतिशत बनाएको हो । त्यस्तै हिमालयन बैंकले ४.५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत बनाउँदा एनआईसी एशिया बैंक ले पनि ४.७५ प्रतिशतबाट ४.५ प्रतिशतमा घटाएको छ ।

निक्षेप लगाार बढ्ने र सोही अनुसार कर्जा बढ्न नसक्दा राष्ट्र बैंकले निरन्तर तरलता खिचिरेहको छ । बैंकहरुले १० खर्ब रुपैयाँभन्दा बढी तरलता राष्ट्र बैंकमा पार्क गरेका छन् ।