
काठमाडौं । अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापार ४६ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४६ प्रतिशतले बढेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३९ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ६७ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले चालु आवको ८ महिनाको अवधिमा ११ करोड ९० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ । कम्पनीले गत आवमा २ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । सन् २०२४ मा ४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले गत आवमा उच्च कारोबार गरेपनि नाफा भने घटेको पाइएको छ ।
कम्पनीको कुल नगद सञ्चय १ करोड ८० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ थियो ।
सन् २००७ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ९ सय मेट्रिक टन क्षमतामा उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २००९ देखि दैनिक ६ सय मेट्रिक टन क्षमतामा ग्राइन्डिङ सिमेन्ट उत्पादन गर्दै आएको थियो । उक्त क्षमता विस्तार गरी सन् २०१८ देखि ९ सय मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन भइरहेको छ ।
कम्पनीले उत्पादन गरेको सिमेन्ट अग्नि, ओरियन्ट र त्रिवेणी ब्रान्डमा पीपीसी र अल्फा ब्रान्डको ओपीसी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर ३१ जिल्लामा सिमेन्टको कारोबार हुँदै आएको छ ।
कृष्णप्रसाद पोखरेल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५४ करोड ५८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड ४१ लाख रुपैयाँको रेटिङ गराएको हो ।






प्रतिक्रिया