करोडौं ठगी र करार उल्लंघनको आरोपमा निर्माण व्यवसायी ध्रुव बहादुर कुँवर पक्राउ

3k
Shares

काठमाडौं । सम्झौता बमोजिमको रकम भुक्तानी नगरी करोडौं ठगी गरेको आरोपमा सुदूरपश्चिमका स्थापित निर्माण व्यवसायी ध्रुव बहादुर कुँवर पक्राउ परेका छन् । ‘ध्रुव तारा निर्माण सेवा’ का सञ्चालक कुँवरलाई सोमबार बिहान धनगढी उपमहानगरपालिका-४ स्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सहरी विकास मन्त्रालयको विशेष पत्राचार र गृह मन्त्रालयको निर्देशनको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अछाम जिल्लाको साँफेबगर नगरपालिकामा सञ्चालित सडक, भवन तथा पार्क निर्माणका लागि ‘सिनर्जी/ध्रुव तारा जेभी’ र ‘लाडटाड कन्स्ट्रक्सन प्रा.लि.’ बीच कार्यगत सम्झौता भएको थियो । उक्त आयोजनाको मुख्य जिम्मेवारी कुँवरको कम्पनीले पाएको थियो भने लाङटाङ कन्स्ट्रक्सनले पेटी ठेकेदारका रूपमा काम गरेको थियो ।

लाङटाङ कन्स्ट्रक्सनका अध्यक्ष सन्तोष गुरुङका अनुसार सम्झौता अनुसार काम सम्पन्न गरे पनि कुँवरले ३ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेका छैनन् । पटक-पटक ताकेता गर्दा र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआईजी) को रोहबरमा भएको छलफलमा समेत रकम तिर्ने सहमति भए पनि कुँवरले भुक्तानी नदिएर ठगी गरेको गुरुङको दाबी छ ।

रकम नपाउँदा मजदुरहरूलाई ज्याला दिन नसकिएको, बैंकको ऋण र ब्याजको बोझ बढेको भन्दै पीडित सन्तोष गुरुङले २०८३ वैशाख ११ गते सहरी विकास मन्त्री सुनील लम्सालको निजी सचिवालयमा उजुरी दर्ता गराएका थिए । सो लगत्तै मन्त्रालयले गृह मन्त्रालयलाई ‘करार बमोजिम कारबाही गरिपाऊँ’ भनी पत्राचार गरेको थियो ।

गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखाले यो विषयमा आवश्यक अनुसन्धान र कारबाहीका लागि सहरी विकास मन्त्रालय र प्रहरीलाई निर्देशन दिएको कागजातहरूबाट देखिन्छ । मन्त्री लम्सालको सचिवालयले वैशाख १७ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्राचार गर्दै कुँवरलाई ‘यथाशीघ्र उपस्थित गराइदिन’ निर्देशन दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) नरेन्द्र चन्दले मन्त्रालयको पत्र र निर्देशनका आधारमा कुँवरलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । उनका अनुसार सहरी विकास मन्त्रालयबाट आएको पत्रको आधारमा कुँवरलाई पक्राउ गरिएको हो । आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि कुँवरलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको छ ।

निवेदनमा सन्तोष गुरुङले उल्लेख गरे अनुसार रकम नपाउँदा मजदुरहरू काम छोडेर हिँडेका छन्, बैंकले ऋण तिर्न ताकेता गरिरहेको छ । निवेदनमा भनिएको छ, ‘हाम्रो व्यवसाय र प्रतिष्ठा दुवैमा ठूलो असर परेको छ । पटक-पटक झुक्याएर रकम नदिनु स्पष्ट रूपमा ठगी हो ।’