बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनको आन्तरिक सजावटका लागि १२ करोडमा लाग्यो ठेक्का

133
Shares

काठमाडौ‌ । नेपाल राष्ट्र बैंकको नवनिर्मित भवनमा आन्तरिक सजावट (इन्टेरियर फर्निसिङ) तथा फिनिसिङको लागि प्रक्रिया टुंगिएको छ । केन्द्रिय बैंकको केन्द्रीय कार्यालय बालुवाटारको भवनको आन्तरिक सजावट तथा फिनिसिङका लागि लागि ‘आकृति–एसियन नेपाल जेभी’ लाई छनोट गर्दै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ ।

राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले प्रकाशित गरेको सूचना अनुसार उक्त कम्पनीले कुल ११ करोड ९७ लाख ८६ हजार ०११ रुपैयाँ १० पैसा (मूल्य अभिवृद्धि कर सहित) मा आन्तरिक सजावट तथा फिनिसिङ कार्य सम्पन्न गर्ने गरी बोलपत्र स्वीकृत भएको हो ।

राष्ट्र बैंकले २०८२ साल पुस १६ गते विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्र आह्वान गरेको थियो । रीतपूर्वक परेका विभिन्न बोलपत्रहरूमध्ये न्यूनतम मूल्यांकन गरिएको र प्राविधिक रूपमा उपयुक्त ठहरिएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को व्यवस्था अनुसार ‘आकृति–एसियन नेपाल जेभी’ लाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

छनोट भएको ‘आकृति–एसियन नेपाल जेभी’ मा आकृति इन्टरनेशनल प्रा.लि. लिड पार्टनर र एसियन नेपाल इन्टेरियर प्रा. लि. सहायक पार्टनरका रूपमा रहेका छन् । यो ठेक्का सम्झौता भएपछि नवनिर्मित भवनहरूको आन्तरिक सजावट र फर्निसिङका कामहरू अघि बढ्ने बैंकले जनाएको छ । २०७२ को भुकम्पले क्षतिग्रस्त भएपछि पुननिर्माण गरीएको भवन शहरी विकास तथा भवन निर्माण विभागले २ वर्ष अगाडि नै हस्तान्तरण गरेको थियो ।

भवन हस्तान्तरण भए पनि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक सजावट र फर्निसिङका लागि खरिद प्रक्रिया अगाडि बढाउन सकेका थिएनन् । गभर्नर नियुक्त भएपछि डा. विश्वनाथ पौडेलले पनि ७ महिनापछि मात्रै खरिद प्रक्रिया सुरु गरेका थिए ।

भवन हस्तान्तरण भएपछि केन्द्रिय बैंकको दरबारमार्ग र बालुवाटारस्थित गैर आवाशिय नेपाली संघ (एनआएन) को भवनामा रहेका कार्यलहरु मूख्य कार्यलय परिसरभित्र रहेका विभिन्न भवनमा सरिसकेका छन् । मुख्य कार्यालय परिसरमा रहेको गभर्नर र डेपुटी गभर्नरहरुको कार्यालय भने भवन हस्तान्तरण भएको २ वर्षसमम पनि आन्तरिक सजावट र फर्निसिङका काम नहुाँद नवनिर्मित भवनमा सर्न सकेको छैन ।