इरान युद्ध र ‘एल निनो’ को दोहोरो मार: विश्वभर चामलको संकट चुलिने खतरा

161
Shares


काठमाडौं । विश्वभर सबैभन्दा बढी उपभोग गरिने खाद्यान्न चामलको आपूर्तिमा यो वर्ष ठूलो संकट आउने देखिएको छ।

इरानमा जारी युद्धका कारण इन्धन र रासायनिक मलको मूल्यमा भएको भारी वृद्धि तथा सक्रिय हुँदै गरेको ‘एल निनो’ मौसम प्रणालीका कारण धान उत्पादनमा उल्लेख्य गिरावट आउने प्रक्षेपण गरिएको हो।

खाद्य सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने चामलको आपूर्तिमा सामान्य अवरोध आउँदा पनि यसले विश्वव्यापी मूल्यवृद्धि गराउने र विशेषगरी एसियाली तथा अफ्रिकी मुलुकका न्यून आय भएका उपभोक्ताहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ।

इरानमा जारी युद्धका कारण विश्वकै प्रमुख व्यापारिक मार्ग ‘हर्मुज जलसन्धि’ बाट हुने इन्धन र मलको आपूर्ति अवरुद्ध भएको छ। यसको सीधा असर थाइल्याण्ड र भियतनाम जस्ता ठूला निर्यातकर्ता र फिलिपिन्स तथा इन्डोनेसिया जस्ता आयातमा निर्भर देशका किसानहरूलाई परेको छ।

यदि हर्मुज जलसन्धि आगामी दुई देखि तीन हप्ताभित्र सुचारु नभएमा चामलको मूल्य अकल्पनीय रूपमा बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। सन् २००८ मा चामलको मूल्य प्रति टन १,००० डलर पुग्दा धेरै देशहरूमा खाद्य दङ्गा भएको थियो। अहिलेको परिस्थितिले पुनः त्यस्तै संकट निम्त्याउन सक्ने त्रास बढाएको छ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका मुख्य अर्थशास्त्री म्याक्सिमो टोरेरोका अनुसार, लागत बढेका कारण किसानहरूले खेती गर्ने क्षेत्रफल घटाएका छन्।

‘मल र इन्धनको मूल्य बढेपछि किसानहरूले कृषि सामग्रीको प्रयोग कम गर्न थालेका छन्,’ टोरेरोले भने, ‘यसले गर्दा वर्षको उत्तरार्ध र आगामी वर्षको सुरुमा विश्वभर चामलको आपूर्तिमा निकै कडा अवस्था आउनेछ।’

थाइल्याण्डको चाई नाट प्रान्तकी ६० वर्षीया किसान श्रीपाई केउ–एमका अनुसार रासायनिक मलको मूल्य प्रतिबोरा ८५० बाट बढेर १२०० बाट सम्म पुगेको छ।

उनले भनिन्, ‘मल र इन्धनको मूल्य यति धेरै बढेको छ कि मैले मलको प्रयोग आधाले घटाउनु परेको छ।’

फिलिपिन्समा पनि धान उत्पादनमा ६० लाख टनसम्मको गिरावट आउन सक्ने अनुमान गरिएको छ। त्यहाँका कृषि विज्ञहरूका अनुसार आयातमा हुने अनिश्चितता र स्थानीय उत्पादनमा हुने कमीले देशलाई कठिन अवस्थामा पुर्‍याउनेछ।
एल निनो र खडेरीको जोखिम

युद्धसँगै दक्षिणपूर्वी एसियाका किसानहरूले ‘एल निनो’ को सामना गरिरहेका छन्। यसले वर्षको दोस्रो आधा भागमा अत्यधिक गर्मी र खडेरी निम्त्याउने निश्चित छ। इन्डोनेसियाको तथ्याङ्क विभागका अनुसार त्यहाँ धान खेती गरिने क्षेत्र १०.६ प्रतिशतले खुम्चिएको छ भने उत्पादनमा ११ प्रतिशतभन्दा बढी गिरावट आउने देखिएको छ।

चामलको व्यापारमा संलग्न व्यापारीहरूका अनुसार ढुवानी अहिले ठूलो चुनौती बनेको छ। बोराको अभाव, ट्रकहरूको उपलब्धतामा कमी र ढुवानी मार्गमा अवरोधका कारण चामल बन्दरगाहसम्म पुर्‍याउन कठिन भइरहेको छ।

विश्वभर आपूर्तिको चिन्ता रहे पनि भारतसँग रहेको चामलको ठूलो भण्डारणले केही राहत दिने अपेक्षा गरिएको छ। विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता भारतसँग अहिले ४ करोड २० लाख टन चामल मौज्दात छ, जुन विश्वव्यापी भण्डारणको करिब २० प्रतिशत हो।

चामल उत्पादन र निर्यातमा एसियाको वर्चस्व
विश्वको आधाभन्दा बढी जनसङ्ख्याको मुख्य खाद्यान्नको रूपमा रहेको चामल केवल एउटा बाली मात्र नभई विश्वव्यापी खाद्य सुरक्षाको आधार स्तम्भ हो।

विशेषगरी एसियाली मुलुकहरूमा चामलको उत्पादन र खपत सबैभन्दा बढी हुने गरेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर वार्षिक करिब ५२ करोड मेट्रिक टन चामल उत्पादन हुने गर्दछ, जसमध्ये ९० प्रतिशत हिस्सा एसियाली मुलुकहरूले ओगटेका छन्।

विश्वको चामल उत्पादनको नक्सालाई हेर्दा चीन र भारत दुई विशाल शक्ति राष्ट्रका रूपमा देखिन्छन्। यी दुई देशले मात्रै विश्वको कुल उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्छन्।

विश्वकै सबैभन्दा बढी चामल उत्पादन गर्ने मुलुक चीन हो। चीनले वार्षिक करिब १४ करोड ८० लाख देखि १५ करोड मेट्रिक टन चामल उत्पादन गर्दछ। यद्यपि, चीन विश्वको ठुलो उत्पादक भए पनि आफ्नो विशाल जनसङ्ख्याका कारण यो देश चामलको ठुलो उपभोक्ता र कहिलेकाहीँ आयातकर्ता समेत बन्ने गर्दछ। चीनमा मुख्यगरी हाइब्रिड धानको खेतीमा जोड दिइन्छ।

उत्पादनको हिसाबले भारत दोस्रो स्थानमा छ। भारतले वार्षिक करिब १३ करोड ५० लाख मेट्रिक टन चामल उत्पादन गर्छ। भारतको पश्चिम बङ्गाल, उत्तर प्रदेश, पन्जाब र आन्ध्र प्रदेश मुख्य धान उत्पादन हुने क्षेत्र हुन्। भारत विश्वको सबैभन्दा ठुलो निर्यातकर्ता समेत हो।

सानो भूगोल भए पनि सघन खेती प्रणालीका कारण बङ्गलादेश विश्वको तेस्रो ठुलो चामल उत्पादक बनेको छ। यहाँ वार्षिक करिब ३ करोड ८० लाख मेट्रिक टन चामल उत्पादन हुन्छ।

इन्डोनेसियाले वार्षिक करिब ३ करोड ४० लाख मेट्रिक टन र भियतनामले करिब २ करोड ७० लाख मेट्रिक टन चामल उत्पादन गर्छन्। भियतनामले आफ्नो कुल उत्पादनको ठुलो हिस्सा निर्यातका लागि छुट्याउने गर्दछ।

थाइल्याण्ड विश्वको प्रमुख उत्पादक र निर्यातकर्ता हो। यहाँ वार्षिक करिब २ करोड मेट्रिक टन चामल उत्पादन हुन्छ। थाइल्याण्डको चामल विशेषगरी यसको बास्ना ९सुगन्ध० का लागि विश्वभर प्रसिद्ध छ।

उत्पादनमा चीन र निर्यातमा भारतको अग्रता
उत्पादनमा चीन अगाडि भए पनि निर्यातको बजारमा भने भारतको एकछत्र राज चल्दै आएको छ। तर, पछिल्लो समय भारतले आन्तरिक मूल्य नियन्त्रण गर्न गैर-बासमती चामलको निर्यातमा लगाएको प्रतिबन्धले विश्व बजारमा हलचल पैदा गरेको छ।

केही समय अघिसम्म विश्वको कुल चामल निर्यातको ४० प्रतिशत हिस्सा भारत एक्लैले ओगटेको थियो। भारतले वार्षिक करिब २ करोड २० लाख मेट्रिक टन चामल निर्यात गर्दै आएको थियो।

भारतले मुख्यगरी बेनिन, नेपाल, बङ्गलादेश, चीन र खाडी मुलुकहरूमा चामल निर्यात गर्दछ। बासमती चामलको हकमा भने भारत र पाकिस्तानको युरोप र अमेरिकामा ठुलो पकड छ।

भारतपछि थाइल्याण्ड र भियतनाम प्रमुख निर्यातकर्ता हुन्। थाइल्याण्डले वार्षिक करिब ७० लाख देखि ८० लाख मेट्रिक टन चामल निर्यात गर्छ। थाइल्याण्डको मुख्य बजार संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका र चीन हुन्।

त्यस्तै, भियतनामले वार्षिक ७० लाख मेट्रिक टन हाराहारीमा निर्यात गर्दछ, जसको मुख्य ग्राहक फिलिपिन्स र चीन हुन्।

पाकिस्तान विश्वको चौथो ठुलो चामल निर्यातकर्ता हो। पाकिस्तानले वार्षिक करिब ४० लाख देखि ५० लाख मेट्रिक टन चामल निर्यात गर्छ। पाकिस्तानको बासमती चामल मध्यपूर्वी देशहरूमा निकै लोकप्रिय छ।

चामल उत्पादन नगर्ने वा मागभन्दा कम उत्पादन हुने देशहरू आयातमा निर्भर छन्।

हाल फिलिपिन्स विश्वको सबैभन्दा ठुलो चामल आयातकर्ता मुलुक बनेको छ। यसले वार्षिक करिब ३८ लाख मेट्रिक टन चामल आयात गर्छ।

चीन ठुलो उत्पादक भए पनि औद्योगिक प्रयोग र पशु आहारका लागि भियतनाम र म्यानमारबाट ‘ब्रोकन राइस’ (कणिका) ठुलो मात्रामा आयात गर्दछ।

नाइजेरिया, आइभोरी कोस्ट र सेनेगल जस्ता अफ्रिकी मुलुकहरूले भारत र थाइल्याण्डबाट ठुलो मात्रामा उसिना चामल आयात गर्छन्।

Skip This