महासंघ नेतृत्वका लागि प्याकुरेल र बोहोरासहित कोशीका डेढ दर्जन व्यवसायी चुनावी मैदानमा


विराटनगर । वैशाख २१ र २२ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभाबाट चुनिने नयाँ केन्द्रीय नेतृत्वका लागि कोशी प्रदेशका झण्डै डेढ दर्जन उद्योगी व्यवसायी चुनावी मैदानमा उत्रिएका छन् ।

महासंघ केन्द्रको एशोसिएट १७ सदस्यका लागि हुने निर्वाचनमा विराटनगरबाट सुयस प्याकुरेल र अविनाश बोहोरा चुनावी मैदानमा छन् । प्याकुरेल उद्योग संगठन मोरङका पूर्वअध्यक्ष हुन् भने बोहोरा संघका केन्द्रीय सदस्य, मोरङ व्यापार संघ र नेपाल–भारत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्।

उद्योगी बोहोरा उद्योग वाणिज्य महासंघ कोशीका सल्लाहकार पनि हुन् ।

प्याकुरेल निजी क्षेत्रका एक दूरदर्शी, परिणाममुखी र बहुआयामिक सफल नेतृत्वकर्ता उद्योगी मानिन्छन् । एम.एम. ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक प्याकुरेलले उत्पादनजन्य, वित्त, कृषि, मनोरञ्जन तथा खेल क्षेत्रसम्म आफ्नो व्यवसायिक पहुँच विस्तार गर्दै उद्यमशीलताको एक सशक्त नमूना प्रस्तुत गर्न सफल भएका छन् ।

विराटनगर र हेटौडामा सञ्चालित एम.एम. प्लास्टिक तथा एम.एम. पोलिमर्स उद्योगमार्फत उत्पादन गरिएका इन्टरमिडिएट प्याकेजिङ सामग्रीहरू बहुराष्ट्रिय कम्पनीहरूले प्रयोग गर्नु स्वयंमा उनको औद्योगिक दक्षता, विश्वसनीयता र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक क्षमताको ज्वलन्त प्रमाण बनेको छ ।

वित्तीय क्षेत्रमा सिटीजन बैंकसँगको संलग्नता, मनोरञ्जन क्षेत्रमा सिटी सिनेमा, कृषि क्षेत्रमा बन्जारा कृषि फर्म तथा प्राङ्गारिक मल उद्योगमार्फत दुग्धजन्य उत्पादन र खेल क्षेत्रमा एनपिएलअन्तर्गत विराटनगर किंग्सको सह–स्वामित्व जस्ता विविध आयामहरूको नेतृत्व प्याकुरेलले गरिसकेका छन् ।

उनी निजी क्षेत्रका जटिल चुनौतीहरू, संरचनात्मक समस्या र सम्भावनामा पोख्त मानिन्छन् । सन् २००६ देखि उद्योग संगठन मोरङको कार्यसमिति सदस्यबाट प्रारम्भ भएको उनको यात्रा उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षसम्मको नेतृत्वदायी जिम्मेवारीमा रूपान्तरित भइसकेको छ ।

अध्यक्षका रूपमा उनले निजी क्षेत्रका मुद्दाहरूलाई केवल उठाउने मात्र होइन, तिनलाई तथ्य, तर्क र दृढताका साथ सम्बन्धित निकायसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्दै नीतिगत बहस, पैरवी र समन्वयमार्फत ठोस परिणाम हासिल गरेका छन् । उनको नेतृत्वमा सञ्चालन भएका स्टार्टअप एण्ड इनोभेशन, बिजनेस क्लिनिक, इन्डस्ट्रिज–एकेडेमिया लिंकेज, मेरो देश, मेरै उत्पादन जस्ता नवीनतम कार्यक्रमहरूले संगठनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान दिलाउनुका साथै सम्मान पनि दिलाइसकेका छन् ।

त्यसैगरी प्रदेशबाट चुनिने जिल्ला–नगर उद्योग वाणिज्य संघतर्फका दुई केन्द्रीय सदस्यका लागि इनरुवाका वीरेन्द्र साह, उदयपुरका रमेश रसाइली, इटहरीका जीवन पराजुली, पथरीका दीपक बस्नेत, झापाका जिवी कार्की र इलामका ईश्वर चिपालु चुनावी मैदानमा छन् ।

त्यस्तै संघको जिल्ला–नगर १५ केन्द्रीय सदस्यका लागि कोशीबाट पाँचथरका दीपक नेपाल, बिर्तामोडका राजु न्यौपाने, उदयपुरका प्रयास कार्की र दमकका गोकुल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी संस्थापक २ केन्द्रीय सदस्यका लागि झापाका टीकाराज ढकाल र धरानका गोपाल श्रेष्ठ चुनावी मैदानमा देखिँदा जिल्ला–नगर २ केन्द्रीय उपाध्यक्षका लागि झापाका उमेश डालमियाले उम्मेदवारी दिएका छन् ।