विकल पौडेल र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, ६८ करोड ९४ लाख बिगो दाबी

945
Shares

काठमाडौं । विकल पौडेल र उनको श्रीमती एलिना बस्नेत विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले पौडेल र उनको श्रीमती बस्नेत विरुद्ध ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ बिगोदाबी मागसहित सोको दोब्बर जरिवाना र कसूरको मात्राअनुसार सजाय माग गर्दै मुद्दा दर्ता गरेको हो ।

पौडेल तथा बस्नेतले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको सम्बन्धमा जम्मा ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ विगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतमा २०८१ असोज १४ मा मुद्दा दायर भएको थियो ।

उक्त सम्वद्ध कसूरबाट आर्जित सम्पत्ति सम्वन्धमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा उल्लिखित कार्यहरू गरेको तथ्य अनुसन्धाबाट स्थापित हुन आएकोले पौडेललाई बिगो ६१ करोड १३ लाख २१ हजार र श्रीमती बस्नेतलाई बिगो ७ करोड ८१ लाख ४४ हजार गरी जम्मा ६८ करोड ९४ लाख ६५ हजार बिगो कायम भएको छ ।

विभागले उक्त बिगोको दोब्बर जरिवाना र कसूरको मात्रा अनुसार कैद सजाय हुन तथा ऐनको दफा ३४ को उपदफा सम्बद्ध कसूर गरी आर्जित सम्पत्ति जफतको मागदावी लिई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन वमोजिम सजाय माग गरेको छ ।

विभागको अनुसन्धान प्रतिवेदन एवं सोको राय बमोजिम जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमार्फत् बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको विभागले जनाएको छ ।