बालेनको उदयलाई भारतीयले सकारात्मक रूपमा हेरेका छन्: पूर्वराजदूत पुरी

175
Shares


काठमाडौं । सभ्यतागत सम्बन्धका कारण नेपाल भारतका लागि अत्यन्तै महत्त्वपूर्ण मुलुक भएको नेपालका लागि भारतका पूर्व राजदूत मञ्जीव सिंह पुरीले बताएका छन् ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेशन एन्ड इंगेजमेन्ट (नाइस) ले बुधबार आयोजना गरेको वेबिनारमा बोल्दै पुरीले भारतका लागि नेपाल कोरा छिमेकी मात्र नभएकोमा जोड दिए ।

भारतसँग राजनीतिक मात्र नभई सभ्यतागत, आर्थिक र भौगोलिक सम्बन्ध रहेको कुरा नभुल्नका लागि उनले बालेन शाह नेतृत्वको सरकारलाई सुझाव दिए ।

‘सभ्यतागत सम्बन्धका कारण चीनसँगको भन्दा फरक सम्बन्ध भारत र नेपालले कायम गरेका छन्, यस कुरालाई विचार गर्नुपर्ने हुन्छ,’ उनले बताए ।

चीनप्रति बढी ढल्केका कारण भारतलाई ओलीसँग समस्या रहेको पनि पुरीले दाबी गरे । भारतविरुद्ध कुनै किसिमको भूराजनीतिक खेल नेपालले खेल्न नहुने पनि उनले बताए ।

बालेन शाह र उनको पुस्ता विश्वव्यापीकरणको उत्पादन भएकाले संसारका सबै मुलुकहरूसँग समान सम्बन्ध राख्न खोजे पनि भारतसँगको विशेष सम्बन्धलाई विचार गर्नुपर्ने उनको भनाइ छ ।

भारतीयहरूले बालेन शाहको उदयलाई सकारात्मक रूपमा हेरेको पनि पुरीले भनाइ राखे । काठमाडौंको विकास र सौन्दर्यीकरणमा सफलताका साथ काम गरेको देख्दा बालेनले देशको हितमा पनि काम गर्ने आशा पलाएको उनले बताए ।

पश्चिम एसिया सधैं द्वन्द्वको भुमरीमा परिरहेकाले खाडीबाट आउने विप्रेषण घट्ने स्थिति आएमा समस्या आउन सक्ने पुरीले चेतावनी दिए । त्यसबेला भारतसँगको सुमधुर सम्बन्ध फलदायी हुने उनको भनाइ छ ।

भारतीयहरू नेपालसँगको सम्बन्ध सुमधुर भएको हेर्न चाहन्छन् र नेपाललाई अल द बेस्ट भन्छन्, पुरीले थपे ।

नेपालले धेरै होहल्ला नगरिकन विशाल प्रगति गर्न सक्ने पनि पूर्वराजदूत पुरीले बताए । विशेषगरी नेपालले जलविद्युत् उत्पादनमार्फत समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ । अरुण तेस्रो परियोजनाबाट विद्युत् उत्पादन हुन थालेपछि नेपालको समृद्धिलाई कसैले रोक्न नसक्ने उनले बताए ।

नेपालका धेरै विद्यार्थीहरू भारतका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको तथ्यलाई स्मरण गराउँदै उनले विद्यार्थीहरूको आदानप्रदानलाई थप बढाउनुपर्ने भनाइ राखे । नेपाल र भारतले मिलेर काम गर्ने थुप्रै ठाउँहरू रहेको उनले बताए ।