
काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आबको सोही अवधिमा बैंकको नाफा १३.२५ प्रतिशतले बढेको हो ।
सम्भावित कर्जा नोक्सानीमा छुट्याएको रकममा भारी वृद्धि भए पनि बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भएको सुधारले मुख्य भूमिका खेलेको छ ।
बैंकको मुख्य व्यावसायिक आम्दानी मानिने खुद ब्याज आम्दानी १३.६७ प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आबको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड २ लाख रुपैयाँ थियो ।
बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १ अर्ब ६४ करोड ९५ लाख रुपैयाँबाट बढेर १ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ पुगेको छ । निष्क्रिय कर्जा बढेसँगै बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उल्लेख्य रूपमा बढेको छ । गत आबको तेस्रो त्रैमासमा १ अर्ब २९ करोड ३० लाख रुपैयाँ रहेको सम्भावित कर्जा नोक्सानीमा छुट्याएको रकम चालु आबको सोही अवधिमा ७६.२३ प्रतिशतले बढेर २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढे पनि बैंकको आम्दानीमा भएको वृद्धि र कर्मचारी खर्चमा भएको कटौतीले नाफा बढ्न सहयोग पुगेको देखिन्छ ।
बैंकको सञ्चालन खर्चतर्फ कर्मचारी खर्च २ अर्ब ६० करोड ४१ लाख रुपैयाँबाट घटेर २ अर्ब २८ करोड ७८ लाख रुपैयाँमा झरेको छ । तर, अन्य सञ्चालन खर्च भने १ अर्ब २ करोडबाट बढेर १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा ४.४७ प्रतिशतबाट ४.९५ प्रतिशत पुगेको छ, जसले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको रकम पनि बढाएको हो । बैंकले कर्जा अपलेखन गर्दा ५० करोड १५ लाख रुपैयाँ छुट्याएको छ, जसले पनि आम्दानीको तुलनामा बैंकको नाफा बढ्न सकेको छैन ।
बैंकको व्यवसाय विस्तारतर्फ निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सुधार देखिएको छ । बैंकले चैत मसान्तसम्म कुल २ खर्ब ९७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा निक्षेप ६.०१ प्रतिशत र कर्जा ६.७३ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा बैंकको निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड र कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९५ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ १८ पैसा, मूल्य–आम्दानी अनुपात १३.८४ गुणा र लगानीमा प्रतिफल १०.४८ प्रतिशत छ ।
तेस्रो त्रैमाससम्म बैंकको सञ्चित नाफा ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ । यस आधारमा लाभांश क्षमता ५.३४ प्रतिशत छ ।









प्रतिक्रिया