‘निष्क्रिय कर्जा वृद्धिले वित्तीय स्थायित्वमा चुनौती देखियो’

140
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ मा निष्क्रिय कर्जा वृद्धिले वित्तीय स्थायित्वमा चुनौती देखिएको उल्लेख गरिएको छ । बैंकिङ क्षेत्रमा पर्याप्त लगानीयोग्य तरलता भए पनि निष्क्रिय कर्जा बढ्दा वित्तीय स्थायित्वमा थप दबाब परेको जनाइएको छ ।

‘बैंकहरूमा निक्षेपको तुलनामा कर्जा विस्तार न्यून हुँदा प्रणालीमा ‘प्रचुर तरलता’ रहेको छ । २०८२ चैत १२ सम्ममा बैंकहरूमा ९ खर्ब ४ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा भएको उच्च वृद्धिका कारण निक्षेप संकलन बढे पनि व्यवसायीको आत्मविश्वास कमजोर हुँदा कर्जाको माग बढ्न सकेको छैन,’ अर्थमन्त्री वाग्लेले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थितिपत्रमा भनिएको छ ।

उनका अनुसार बैंकहरूको निष्क्रिय कर्जा (खराब कर्जा) चिन्ताजनक रूपमा बढेको छ । ‘२०८० असारमा ३.०२ प्रतिशत रहेको निष्क्रिय कर्जा २०८२ माघ मसान्तसम्म आइपुग्दा ५.४२ प्रतिशत पुगेको छ ।

विशेषगरी विकास बैंक र वित्त कम्पनीहरूमा यो समस्या अझ बढी देखिएको छ । तत्काल सुधारका कदम नचालिए यसले वित्तीय क्षेत्रको स्थायित्वमै गम्भीर असर पार्ने देखिन्छ,’ स्थितिपत्रमा उल्लेख छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर उच्च बिन्दुबाट घटेको छ । ब्याजदर घट्दा ऋणीलाई राहत पुगे पनि निक्षेपको ब्याजदर ३.४५ प्रतिशतमा झरेकाले साना बचतकर्ताको आम्दानी खुम्चिएको उल्लेख गरिएको छ । २०७७/७८ मा औसत १२.५ प्रतिशत पुगेको कर्जाको ब्याजदर २०८२ फागुनमा ७.०६ प्रतिशतमा झरेको छ ।

पछिल्लो दशकमा बैंक तथा वित्तीय संस्थाहरूको सबलीकरणका लागि लागू गरिएको मर्जर नीतिका कारण संस्थाको संख्या घटेको छ भने विद्युतीय भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ ।

२०७३ मा १७८ रहेका संस्थाहरू २०८२ फागुनसम्म १०६ मा झरेका छन् । अर्कोतर्फ, डिजिटल भुक्तानीमा भने उल्लेख्य विस्तार भएको छ । मोबाइल बैंकिङ, क्यूआर कोड र वालेटमार्फत हुने कारोबारमा वृद्धि हुँदै नगद कारोबारलाई क्रमशः प्रतिस्थापन गरिरहेको छ ।

त्यस्तै, सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षण कमजोर हुँदा ठूलो संकट उत्पन्न भएको पनि स्वीकार गरिएको छ । बचत तथा ऋण सहकारी संस्थाहरूमा संस्थागत सुशासनको अभावले बचतकर्ताको रकम जोखिममा परेको उल्लेख गरिएको छ ।

बीमा क्षेत्रको पहुँच ४९.९२ प्रतिशत पुगे पनि बीमा कम्पनीहरूको संस्थागत क्षमता कमजोर रहेको र कृत्रिम दाबी भुक्तानी जस्ता समस्या देखिएको स्थितिपत्रमा उल्लेख छ ।

समग्रमा, वित्तीय क्षेत्रमा ‘तरलता पर्याप्त भए पनि लगानीको वातावरण नभएको’ चित्रण गरिएको छ । खराब कर्जा नियन्त्रण, सहकारीको समस्या समाधान र उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको अर्थमन्त्री वाग्लेले जारी गरेको वर्तमान आर्थिक स्थितिपत्रमा उल्लेख छ ।