सामाजिक सुरक्षामा बढ्दो खर्चले विकास वित्तको दायरा साघुरिँदै गयोः अर्थ मन्त्रालय

245
Shares

काठमाडौं । सरकारले सामाजिक सुरक्षाको पहुँच विस्तार भए पनि यसको दिगोपनामा चुनौती थपिएको जनाएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै यस्तो विषय उल्लेख गरेको हो ।

‘सामाजिक सुरक्षामा बढ्दै गएको खर्चको कारण विकास वित्तको दायरा साघुरिँदै गएको छ,’ स्थितिपत्रमा भनिएको छ, ‘सामाजिक सुरक्षा कार्यक्रमहरू बीच दोहोरोपन हटाउनु, यसको दायरा विस्तार गर्नु र तीव्र रूपमा बढ्दो वित्तीय भार व्यवस्थापन गर्नुपर्ने अहिलेको स्थिति छ ।’

स्थितिपत्रका अनुसार २०७२ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या कुल जनसङ्ख्याको ७.८ प्रतिशत रहेकोमा बढेर २०८२ मा १२.४ प्रतिशत पुगेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७२/७३ मा कुल सरकारी खर्चको ८.७ प्रतिशत खर्च सामाजिक सुरक्षा (सामाजिक सुरक्षा भत्ता, सामाजिक सहायता र पेन्सन) मा खर्च हुने गरेकोमा आर्थिक वर्ष २०८१/८२ मा यस्तो खर्च बढेर १६.२ प्रतिशत पुगेको छ ।

हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाताको सङ्ख्या २३ हजार र योगदानकर्ताको सङ्ख्या २८ लाख ८० हजार नाघेको छ ।