
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) भन्नाले कुनै पनि व्यवसायले समाज, वातावरण र आफ्ना सरोकारवालाहरूप्रति निर्वाह गर्ने जिम्मेवारीलाई बुझाउँछ । नेपालको सन्दर्भमा, यो अवधारणाले व्यापारिक संस्थाहरूलाई मुनाफा कमाउनु मात्र नभई सामाजिक विकासमा पनि योगदान पुर्याउन अभिप्रेरित गरिरहेको छ ।
नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ र संस्थागत सामाजिक उत्तरदायित्वमा भएको योगदानले व्यवसायीहरूलाई समाजसँग जोड्दै विश्वसनीय वातावरण सिर्जना गर्न थप मद्दत गर्दछ ।
नेपालमा प्राचीनकालदेखि नै परोपकारी कार्यहरू हुँदै आएका छन्, जस्तैः विद्यालय वा स्वास्थ्य चौकी निर्माण, खानेपानीको व्यवस्था वा धर्मशाला स्थापना, मठमन्दिर वा देवालयको जीर्णोद्धार आदि ।
आधुनिक समयमा शिक्षा र स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका क्षेत्रहरूमा स्वतःस्फूर्त सामाजिक कार्यहरू भइरहेका छन्, जसले व्यापारिक प्रतिष्ठान एवं संघसंस्थाहरूलाई समाजप्रति उत्तरदायी बहन गराइरहेको अनुभूत गर्न सकिन्छ ।
विशेष गरी बैंक तथा वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई अनिवार्य गरेको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यका लागि हरेक आर्थिक वर्षको खुद मुनाफाको नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशतले हुन आउने रकम (हाल कम्तिमा १ प्रतिशत) छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ र सो रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्न सकिने भनी तोकिएका क्षेत्रहरूमा नियमानुसार परिचालन गर्नुपर्छ ।
सोहीअनुरूप बैंक तथा वित्तीय संस्थाहरूले तोकिएका क्षेत्रहरूमा तोकिएको सीमाभित्र रही योगदान गरिरहेका छन्, जसले गर्दा लक्षित समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने बैंक तथा वित्तीय संस्थाले समाज तथा सम्बद्ध सरोकारवालाहरूप्रति प्रत्यक्ष रूपमा उत्तरदायित्व बहन गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गनिर्देशनबमोजिम बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्य गर्ने र कोष सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि तर्जुमा गरी सो कार्यविधिबमोजिम खर्च गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य र अन्य क्षेत्रहरूमा खर्च गर्न सक्ने प्रावधान छ ।
सामाजिक रूपमा योगदान हुने यस्तो कोष परिचालनको मुख्य उद्देश्य गरिब, विपन्न तथा लक्षित वर्गको हित तथा उत्थानमा योगदान पुर्याउनु, गरिबीको रेखामुनि रहेका मध्ये पनि चरम गरिबीमा जीवनयापन गरिरहेका समुदायको छनोट/पहिचान गरी त्यस्ता समुदायको हित तथा उत्थानलाई प्राथमिकता दिनु, सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्च निष्पक्ष र पारदर्शी रूपमा मुलुकभर न्यायोचित ढंगले वितरण हुनु, सामाजिक हित प्रवर्द्धन हुने र बहु-उपयोगी कार्यमा स्रोतको प्रभावकारी प्रयोग हुनु रहेको छ, जसमा बैंक तथा वित्तीय संस्थाले सोही भाव तथा मर्मबमोजिम कोषको परिचालन गर्दै सामाजिक उत्तरदायित्वमा मुलुकभर दिगो सहभागिता जनाउँदै आएका छन् ।
यस्तो खर्च रकम प्रदेशगत रूपमा समान वितरण गर्ने प्रावधानअनुरूप संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा कुनै एक भौगोलिक क्षेत्र तथा विषय (जस्तैः शिक्षा, स्वास्थ्य आदि) मा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्रभित्रका भौगोलिक क्षेत्रमा रहेका गरिब तथा विपन्न वर्गको उत्थानलाई लक्षित गरी न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउन र बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई आफ्नो उपस्थिति भएको प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुने गरी खर्च गर्नुपर्ने प्रावधान नेपाल राष्ट्र बैंकले तर्जुमा गरेको हुँदा खर्चको समान वितरण हुन गई राज्यका सबै स्थानमा बैंक तथा वित्तीय संस्थाको सामाजिक क्षेत्रमा बराबर योगदान भइरहेको देखिन्छ ।
मुलुकको आर्थिक उत्थानका लागि मुख्य भूमिकामा रही टेवा पुर्याउँदै आएका बैंक तथा वित्तीय संस्थाको यो पृथक् भूमिकाले जनमानसमा बैंकप्रतिको विश्वास तथा समाज र बैंकबीचको समझदारी दिगो एवं दरिलो हुँदै गएको देखिन्छ
यसैगरी विभिन्न क्षेत्रहरू तथा शीर्षकमा हुने खर्चमा पारदर्शी तथा द्विविधा उत्पन्न हुन नदिन क्षेत्रगत खर्चका शीर्षक तोकी केही क्षेत्रमा समाविष्ट हुने खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको खर्चमा समावेश गर्न नपाउने भनी केन्द्रीय बैंकले जारी गरेको मार्गनिर्देशनले खर्च गर्न पाउने क्षेत्र तथा शीर्षकमा मात्र नभई खर्च गर्न नपाउने क्षेत्र (कार्य) उल्लेख गरेबाट बैंक तथा वित्तीय संस्थालाई खर्च गर्दा कुनै पनि किसिमको द्विविधा उत्पन्न नहुने र स्पष्ट एवं पारदर्शी तवरबाट खर्च गर्न सकिने तथा समान रूपमा खर्च गर्न सकिने भएकोले राज्यका सबै स्थानहरूमा दुरुस्तै एकै किसिमका शीर्षक तथा कार्यहरूमा योगदान हुने भएकोले प्रवर्द्धनात्मक एकरूपता देखिन्छ ।
बैंक तथा वित्तीय संस्था प्रत्यक्ष रूपमा व्यापार, व्यवसाय एवं आर्थिक गतिविधिसँग जोडिएको भए तापनि यसका सामाजिक दायित्वका धेरै आयामहरूमध्ये समाज र जनमानससँग जोडिएर सामाजिक उत्थानका निमित्त योगदान गर्नु पनि यसको मुख्य उद्देश्य हो ।
सोहीअनुरूप बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक तथा लक्षित वर्गको उत्थान एवं विकासको लागि समाजसँग जोडिएर विभिन्न किसिमका कार्यक्रममा सहयोग र सहकार्य गर्दै बैंक तथा वित्तीय संस्था पनि समाजको एक अंग हो भनी प्रमाणित गर्दै आइरहेका छन् ।
भूकम्प, बाढीपहिरो लगायतका ठूला प्राकृतिक विपत्तिको समयमा विपद् व्यवस्थापनका लागि समेत बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको कोषमा रकम योगदान गर्दै राज्यलाई आर्थिक सहयोग गर्दै आएका छन्, जसमा बैंक तथा वित्तीय संस्थाले यस्तो योगदानलाई विपद्को बेलामा राज्यप्रतिको दायित्वको रूपमा बोध गर्दै आएको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाले मुलुक र समाजप्रतिको दायित्व निर्वाह गर्दै कोष परिचालनको उद्देश्यमुताबिक संस्थागत सामाजिक उत्तरदायित्वका मूल्य, मान्यता, मर्म र अन्तर्राष्ट्रिय सिद्धान्तअनुरूप विपन्न, गरिब तथा लक्षित वर्गको उत्थानको लागि तथा वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै लैजान, वित्तीय स्थायित्व कायम गर्न र संस्थाहरू दीर्घकालसम्म सञ्चालन गर्नका लागि मानवीय, सामाजिक र बाह्य वातावरणको संरक्षणमा समेत योगदान पुर्याउँदै आएका छन् ।
सामाजिक तथा बाह्य वातावरणलाई अझ स्वच्छ, समावेशी र दिगो बनाई गरिब, विपन्न तथा लक्षित वर्गको उत्थान गर्ने कर्तव्य बैंक तथा वित्तीय संस्थाले बोध गरी यस्ता सामाजिक कार्यहरू तोकिएको परिधिभित्र रही पारदर्शी एवं प्रभावकारी रूपमा योगदान गर्दै आएका छन् ।
मुलुकको आर्थिक उत्थानका लागि मुख्य भूमिकामा रही टेवा पुर्याउँदै आएका बैंक तथा वित्तीय संस्थाको यो पृथक् भूमिकाले जनमानसमा बैंकप्रतिको विश्वास तथा समाज र बैंकबीचको समझदारी दिगो एवं दरिलो हुँदै गएको देखिन्छ ।
(लेखमा प्रस्तुत बैंकर आत्रेयाका निजी विचार हुन् ।)









प्रतिक्रिया