
काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरू हटाउन अन्तिम समयसीमा (अल्टिमेटम) दिँदै वैशाख १२ गते बिहानैदेखि डोजर चलाउने घोषणा गरेको छ।
बिहीबार साँझ थापाथली, सिनामंगल लगायतका क्षेत्रमा माइकिङ गर्दै महानगरले शुक्रबार (वैशाख ११ गते) साँझ ७ बजेभित्रै आफ्ना सरसामान हटाएर बस्ती खाली गर्न कडा निर्देशन दिएको हो।
महानगरको टोलीले बस्ती नछाडे शनिबार (वैशाख १२ गते) बिहान ६ बजेदेखि संरचनाहरू भत्काइने र सो क्रममा हुने धनमालको क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने चेतावनी दिएको छ।
महानगरले वैशाख ११ गते साँझ ७ बजेभित्र अवैध घर-टहरा खाली गरिसक्नुपर्ने समयसीमा तोकेको छ । वैशाख १२ गते बिहान ६ बजेदेखि सुकुम्बासी बस्तीको संरचना भत्काउन सुरु गरिने पनि जनाएको छ ।
महानगरले घर-टहरामा रहेका अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी र वृद्धवृद्धालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।
यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोग लिन समेत भनिएको छ।
वास्तविक भूमिहीन सुकुम्बासीहरूको पहिचानका लागि तत्काल ‘स्क्रिनिङ’ सुरु गरिने र १० देखि १५ दिनभित्र वास्तविक सुकुम्बासी देखिएकाहरूलाई बसोबासको उचित प्रबन्ध गरिने आश्वासन समेत दिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले सुकुम्बासीहरूलाई आफ्ना बालबच्चा र सरसामानसहित सुरक्षित स्थानमा सर्न सूचित गरिएको जानकारी दिए।
उनले शनिबारदेखि बस्ती खाली गर्ने कार्यमा सुरक्षा निकाय परिचालन हुने स्पष्ट पारे।
प्रशासनले पहिलो चरणमा काठमाडौं उपत्यकाका ४ वटा मुख्य सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ। सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिइएको छ।
महानगरले यो कार्यमा अवरोध पुर्याउने जोकोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
यसअघि पनि पटक-पटक सूचना जारी गर्दा बस्ती खाली नभएपछि महानगरले यसपटक थप कडाइका साथ सुरक्षाकर्मी परिचालन गरी अतिक्रमण हटाउने रणनीति लिएको देखिएको छ।









प्रतिक्रिया