सेयर किन्ने बढ्न नखोज्ने, बेच्ने घट्न नखोज्ने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार ९.४ अंकले घटेर १२७८.९६ बिन्दुमा आइपुग्यो ।

नेप्सेमा ३० करोडको सेयर कारोबार भयो । बजार बढेको बेला दैनिक १ अर्बभन्दा बढीको सेयर कारोबार हुने गरेकोमा अहिले यो २५ देखि ३० करोडमा झरेको छ ।

केही कम्पनीको मार्केट डेप्थ हेर्दा लगानीकर्ताहरु सेयर खरिद गर्न खोजेका बढी भएपनि मुल्य भने कमै राखेको देखिएको छ । यस्तै बिक्रीकर्ताले पनि केही मुल्य बढीमा बेच्न खोजेको देखिन्छ ।

खरिदबिक्रीमा बिक्रीकर्ताले बढी लिन खोज्ने र खरिदकर्ताले कम तिर्न खोज्ने स्वभाविक नियम नै हो ।

सेयर कारोबार खुल्ला हुँदा केही कम्पनीको मार्केट डेप्थ हेर्दा लगानीकर्ताले खरिद गर्न खोजेपनि भनेको मुल्यमा अझै सेयर नपाएको देखिन्थ्यो ।

नबिल बैंकमा आज ८ हजार कित्ता सेयर खरिदको लाडि अर्डर थियो भने ५ हजार कित्ता बिक्रीको लाडि अर्डर थियो ।

जसमा खरिद गर्नेले नबिल बैंकको सेयर प्रतिकित्ता १०१५ रुपैयाँ देखि १०२० सम्म इच्छा देखाएका थिए । यस्तै बिक्रीले गर्नेले १०२४ देखि १०३० सम्ममा नबिल बैंकको सेयर बेच्न खोजेको थिए । कारोबार बन्द हुने समयमा नबिल सेयर मुल्य १०२४ मा पुगेको छ ।

यस्तै एभरेष्ट बैंकमा आज ४ हजार कित्ता खरिदको अर्डर थियो । भने ३५ सय कित्ता बिक्रीको अर्डरको थियो । एभरेष्ट बैंकको सेयर प्रतिकित्ता ७१८ देखि ७२६ रुपैयाँसम्ममा लगानीकर्ता किन्न खोज्दै थिए ।

बिक्रीकर्ता भने ७४० देखि ७४५ सम्ममा बेच्न खोज्दै थिए । बजार बन्द हुने समयमा एभरेष्टको सेयर प्रतिकित्ता ७३७ रुपैयाँमा पुग्यो ।

स्टाण्र्डट चार्टर्ड बैंकमा २६ सय कित्ता खरिदको अर्डर थियो । लगानीकर्ताले प्रतिकित्ता ८८६ देखि ८९० मा खरिदको कोट गरेका थिए । बिक्रीको अर्डर १०३७ कित्ता थियो । जसमा ८९१ देखि ८९९ सम्ममा पाएमा बेच्न खोज्ने देखिए । स्टाण्डर्ट चार्टर्ड भने प्रतिकित्ता ८९४ मा आएको छ ।

यस्तै अर्को वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैैंकमा ४६९० कित्ता सेयर खरिदको लागि अर्डर थियो । बिक्रीको लागि ४२३९ कित्ता सेयर अर्डर थियो । खरिदकर्ताले ६४५ देखि ६५० सम्मको अर्डर दिए भने बिक्रीकर्ताले ६५५ देखि ६६० सम्ममा अर्डर दिए । बजार बन्द हुने बेला इन्भेष्टमेन्टको सेयर मुल्य प्रतिकित्ता ६५७ मा आयो ।


क्लिकमान्डु