विश्व व्यापारको नक्सा नै बदल्ने गरी थाइल्यान्डले ल्यायो ल्यान्ड ब्रिज योजना

1.4k
Shares

एजेन्सी । विश्वको ध्यान अहिले ठूला शक्तिराष्ट्रहरूको सैन्य टकराव र युद्धतर्फ मोडिएको बेला दक्षिणपूर्वी एसियाली राष्ट्र थाइल्यान्डले विशाल भूराजनीतिक कदम चालेको छ ।

यसले भविष्यमा विश्व व्यापारको स्वरूप नै बदल्ने निश्चित छ । थाइल्यान्डले २८ अर्ब डलरको लगानीमा निर्माण गर्न लागेको ल्यान्ड ब्रिज परियोजना अहिले चर्चाको केन्द्रमा आएको छ तर यसको गहिराइलाई धेरैले अझै बुझ्न सकेका छैनन् ।

अहिले विश्वको कुल व्यापारको करिब एक चौथाइ हिस्सा मलक्का जलयोजकबाट भएर जान्छ । यो एउटा यस्तो चोकपोइन्ट (साँघुरो नाका) हो जहाँ सानो अवरोध आउनासाथ विश्वको आपूर्ति श्रृंखला नै ठप्प हुन्छ । हाल जहाजहरू हिन्द महासागरबाट प्रशान्त महासागर छिर्न यही साँघुरो र व्यस्त मार्ग प्रयोग गर्न बाध्य छन् ।

थाइल्यान्डले यही निर्भरतालाई चुनौती दिँदै आफ्नो देशको दक्षिणी भागमा करिब ९० किलोमिटर लामो स्थलमार्ग बनाउने योजना अघि सारेको छ । यस अन्तर्गत थाइल्यान्डको दुवैतर्फ (एकातर्फ हिन्द महासागर र अर्कोतर्फ प्रशान्त महासागर) विशाल बन्दरगाहहरू निर्माण गरिनेछ ।

जहाजहरूले अब मलक्काको लामो र घुमाउरो बाटो प्रयोग गर्नुको सट्टा थाइल्याण्डको एक छेउमा सामान झार्नेछन् र रेल वा सडकमार्फत केही घण्टामै अर्को छेउको बन्दरगाहमा पुर्याएर पुनः जहाजमा लोड गरिनेछ ।

यस परियोजनाले सामुद्रिक ढुवानीको समय कम्तीमा ४ देखि ६ दिनसम्म घटाउने अनुमान गरिएको छ । ढुवानी समय घट्नु भनेको इन्धनको बचत र लागतमा भारी गिरावट आउनु हो । यसले थाइल्यान्डलाई विश्व व्यापारको केन्द्रमा यसरी स्थापित गर्नेछ जस्तो यसअघि कहिल्यै देखिएको थिएन ।

यो केवल एउटा पूर्वाधार विकासको परियोजना मात्र होइन, यो एक ठूलो राजनीतिक खेल पनि हो । यसले कयौं गम्भीर प्रश्नहरू उब्जाएको छः

१. यो २८ अर्ब डलरको विशाल परियोजनामा लगानी कसले गर्दैछ ? के यसमा चीनको प्रभुत्व रहनेछ वा पश्चिमा राष्ट्रहरूको ?

२. व्यापारिक मार्ग मलक्काबाट थाइल्यान्डतर्फ मोडिएमा सिंगापुर जस्ता देशहरू, जसको अर्थतन्त्र नै यही मार्गमा टिकेको छ, उनीहरूको अवस्था के होला ?

३. यसले दक्षिणपूर्वी एसियामा शक्ति सन्तुलन कसरी परिवर्तन गर्ला ?

अधिकांश मानिसले यसलाई सामान्य समाचार ठानेर बेवास्ता गरिरहेका छन् । तर, योसडक वा रेल मार्ग मात्र होइन । यो विश्वका वस्तुहरू कसरी ओसारपसार हुन्छन् र त्यसको नियन्त्रण कसको हातमा हुन्छ भन्ने पावर गेम हो ।

बजारद्वारा सञ्चालित ऊर्जा र व्यापारको युग बिस्तारै अन्त्य हुँदैछ र इनर्जी स्टेटक्राफ्ट र ट्रेड स्टेटक्राफ्टको नयाँ युग सुरु भएको छ ।

अबका दिनमा भूगोल र रणनीतिक मार्गहरू नै नयाँ विश्वका मुद्रा हुनेछन् भनी थाइल्यान्डको यस कदमले स्पष्ट पारेको छ ।

यो यस्तो परिवर्तन हो जसलाई विश्वले निकै गम्भीरताका साथ हेर्नुपर्ने हुन्छ । थाइल्यान्डको यो ल्यान्ड ब्रिजले भविष्यमा विश्व अर्थतन्त्रको इन्जिनलाई नयाँ दिशा दिने निश्चित छ ।

Skip This