सेबोनको रिपोर्टः दीपक र सुलभसहित दर्जन कम्पनीको टिएमएस एउटैको हातमा, यसरी हुन्थ्यो कारोबार

7.8k
Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ्ग, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली (टिएमएस) एउटै व्यक्तिले चलाउने गरेको पाइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ले यस्तो तथ्य बाहिर ल्याएको हो ।

यसअनुसार भट्ट, अग्रवाल, भृकुटी स्टकका साथमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली एउटै व्यक्तिले चलाउने गरेको पाइएको हो ।

बजारमा विभिन्न कम्पनीहरूबीच प्रतिस्पर्धा देखाएर पर्दा पछाडिबाट एकै व्यक्तिले मूल्य तोक्ने, माग सिर्जना गर्ने र कारोबार गर्ने काम गरी लगानीकर्ता फसाउने काम भएको रिपोर्टनका क्रममा भेटिएको छ ।

दीपक भट्ट र भृकुटी स्टक मुख्य योजनाकार देखिएको यस योजनामा सुलभ अग्रवाल, शुभी अग्रवाल, राज बहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता र शेखर गोल्छा जस्ता ठूला नामहरू मतियारका रूपमा उभिएको बोर्डले निष्कर्ष निकालेको छ ।

भृकुटी स्टक ब्रोकिङ्ग (ब्रोकर नं. ५५) सँगको मिलेमतोमा दीपक भट्टले नियम विपरित एक रुपैयाँ पनि अग्रिम भुक्तानी नगरी ३ अर्ब ८० करोड ५३ लाख रुपैयाँको सेयर खरिद गरेको र हालसम्म पनि २ अर्ब ८९ करोड २० लाख ४८ हजार रुपैयाँ उधारो बाँकी राखेको भेटिएको छ ।

सबोनको रिपोर्टअनुसार भट्टले ब्रोकरसँग मिलेर नेपाल पुनर्बिमाको सेयर मूल्यमा योजनावद्ध चलखेल गरी १४६१ रुपैयाँबाट १६८६ रुपैयाँसम्म पु¥याएर लगानीकर्तालाई झुक्याउने काम गर्दथे ।

यस कार्यमा हिमालयन रिइन्स्योरेन्स, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड र विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरूको रकम र खाता प्रयोग गरी बजारमा कृत्रिम माग सिर्जना गरिएको छ । भट्टले आफू नै सञ्चालक रहेका कम्पनीहरू— हिमालयन रिइन्स्योरेन्स, इन्फिनिटी होल्डिङ्ग्स, नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफबीच ऋणपत्रको झुठो कारोबार गरेर एक खल्तीबाट अर्को खल्तीमा पैसा सार्दै व्यक्तिगत लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।

जाँचबुझका क्रममा शुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोरले समेत दीपक भट्टकै शैलीमा बिना कोल्याट्रल अर्बौँको कारोबार गरेको र भुक्तानी नै नगरी सेयर आफ्नो खातामा प्राप्त गरी मूल्य वृद्धिमा सहयोग पु¥याएको देखिएको छ ।

लगानीकर्ता फसाउने अवैध कारोबारको संरचना र शैली

सेबोनले गरेको प्रारम्भिक जाँचबुझ तथा बोर्डको सुपरिवेक्षणको क्रममा विभिन्न संस्थाहरुसँग माग गरिएको विवरण, कागजात तथा जानकारीबाट प्राप्त तथ्यको विश्लेषणका आधारमा रिपोर्ट बनाएको छ ।

रिपोर्टमा धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्गले दिपक भट्टलाई धितोपत्रहरु एनबीएलडी८५, एनआईएमबीडी९०, एसबीआईडी८३, एसबीएलडी८९ र एनआरआईसीको खरिद गर्न धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम (कम्तीमा २५ प्रतिशत) प्राप्त नगरी कारोबार गराएको र भट्टले अग्रिम रकम नदिई कारोबार गरेको देखिएको बोर्डले जनाएको छ ।

यस्तै, रिपोर्टअनुसार धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्गले उक्त संस्थाको ग्राहक (लगानीकर्ता) सँग धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ को विनियम १३ बमोजिम कारोबार भएको दिन बाहेक दुई कार्यदिन (टी प्लस ट२) मा राफसाफ तथा फछ्र्यौट गरेतापनि धितोपत्र सोही विनियमावलीको विनियम १६ र १७ वमोजिम खरिदकर्ता ग्राहकवाट रकम लिने र विक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको पनि देखिएको छैन ।

यस कार्यबाट दिपक भट्ट र भृकुटी स्टक दुवैले नियमावली तथा विनियमावलीको व्यवस्था उल्लङ्घन गरी मिलोमतोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने उद्देश्य राखेको देखिएको र यसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) वमोजिमको कसूर गर्ने आधार तयार भएको धितोपत्र बोर्डले जनाएको छ ।

भट्टले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टकमार्फत् २०८२ साउन ५ देखि चैत१ सम्म विभिन्न मितिमा ३ अर्ब ८० करोड ५३ लाख ८३ हजारको धितोपत्र खरिद गरेको र ९३ करोड ०५ लाख ९२ हजार रुपैयाँको धितोपत्र बिक्री गरेको देखिएको छ ।

यस अवधिमा उक्त धितोपत्र दलाल व्यवसायीले दिपक भट्टबाट कुनै पनि रकम नलिएको र हालसम्म पनि २ अर्ब ८९ करोड २० लाख ४८ हजार रकम लिनुपर्ने उधारो कायमै रहेको सन्दर्भमा कुनै पनि रकम नलिई उधारोमा कारोबार गर्न सुविधा दिएको सेबोनको निष्कर्ष छ ।

भट्टले २०८२ साउन ५ देखि चैत १ सम्म विभिन्न मितिमा ३ अर्ब ८० करोड ५३ लाख ८३ हजारको धितोपत्र खरिद गर्दा कुनै पनि रकम धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीलाई भुक्तानी नगरेको देखिएको रिपोर्टमा धितोपत्र बोर्डले उल्लेख गरेका छन्।

‘भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्गस्को ४.५ प्रतिशत स्वामित्व रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन, हिमालयन इन्स्योरेन्स कम्पनीको शत प्रतिशत स्वामित्व रहेको हिमालयन क्यापसर्व, भट्टको १५ प्रतिशत स्वामित्व रहेको नेपाल माइक्रो इन्स्योरेन्स समेतको मिलोमतोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने प्रपञ्च रचेको देखिन्छ,’ धितोपत्र बोर्डको रिपोर्टमा भनिएको छ ।

यसरी सेयर खरिद बिक्रीका लागि रकम लेनदेन नगर्ने कार्यबाट बजारमा नेपाल पुनिर्बमा कम्पनीको सेयर मूल्यमा कृतिम माग सिर्जना गराई यस कम्पनीको मूल्य सेयर मूल्य २०८२ साउन ५ को दिउँसो १२ः५६ मा १४६१ बाट २०८२ भदौ १० को दिउँसो ३ः५९ सम्ममा१६८६ रुपैयाँसम्म पुराएको देखिएको पनि बोर्डले जनाएको छ ।

यस योजना तथा कार्यबाट लगानीकर्ता तथा समग्र धितोपत्रको दोस्रो बजार प्रणालीलाई झुक्याई नेपाल पुनर्बिमाको सेयरको मूल्य बढाउने कार्य गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूर गरेको देखिन्छ ।
यस कार्यमा मुख्य रुपमा दिपक भट्ट र भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी तथा सहयोगीको रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्या फण्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएको पनि बोर्डले जनाएको छ ।

यस्तै शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स, ऋषिराज मोर र राजबहादुर शाह समेत नेपाल पुनर्बिमाको सेयर मूल्य बढाउने कार्यमा संलग्न रहेको निष्कर्ष बोर्डले निकालेको छ ।

भट्टले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टकमार्फत् खरिद बिक्री गरेको एनबीएलडी८५ ऋणपत्रको कारोबारलाई विश्लेषण गर्दा दिपक भट्टले निज नै एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्गस् को ४.५ प्रतिशत स्वामित्व रहेको हिमालयन रिइन्स्योरेन्सबाटसन् २०२५ नोभेम्बर ९ मा १०८० प्रति कित्तामा खरिद गरेको र निजले २०२५ नोभम्बर १६ मा निजको १५ प्रतिशत स्वामित्व रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रति कित्ता ११०० देखि ११६० सम्ममा हिमालयन रिइन्स्योरेन्सकै १५ प्रतिशत स्वामित्व रहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रति कित्ता ११६० देखि ११८२ सम्ममा हिमालयन रिइन्स्योरेन्सकै २१.४३ प्रतिशत स्वामित्व रहेको प्रोटेक्टिभ माइको इन्स्योरेन्स कम्पनीलाई प्रति कित्ता ११८५ मा बिक्री गरेको देखिएको बोर्डले निष्कर्ष निकालेको छ ।

भट्टले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टकमार्फत् खरिद बिक्री गरेको एसबीएलडी ८९ ऋणपत्रको कारोबारलाई विश्लेषण गर्दा निज एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्गस्को ४.५ प्रतिशत स्वामित्व रहेको हिमालयन रिइन्स्योरेन्सबाट विभिन्न मितिहरूमा ३ लाख ३८ हजार ४४१ कित्ता खरिद गरी २०२५ नोभेम्बर १६ मा निजको १५ प्रतिशत स्वामित्व रहेको नेपाल माइक्रो इन्स्योरेन्सलाई ९० हजार कित्ता, निजको १५ प्रतिशत स्वामित्व रहेको गार्डियन माइक्रो लाइफलाई ८० हजार कित्ता, हिमालयन रिइन्स्योरेन्सकै १५ प्रतिशत स्वामित्व रहेको क्रेस्ट माइको लाइफ इन्स्योरेन्सलाई १५ हजार कित्ता, हिमालयन रिइन्स्योरेन्सकै २१.४३ प्रतिशत स्वामित्व रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई १५ हजार ८१४ कित्ता बिक्री गरेको देखिएको सबोनले जनाएको छ ।

भट्टले आफू नै भएको नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्सकै १५ प्रतिशत स्वामित्व रहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्स कै २१.४३ प्रतिशत स्वामित्व रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीलाई बिक्री गरेको कार्यबाट उक्त ऋणपत्र कम मूल्यमा खरिद गरी आफैको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नियन्त्रण गर्न सक्ने कम्पनीलाई बिक्री गर्न लगाई लाभ लिएको देखिएको बोर्डको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा दिपक भट्ट, सुलभ अग्रवाल, हिमालयन रिइन्स्योरेन्स, हिमालय सेक्युरिटिज बैंक, हिमालयन क्यापसर्भ, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टि माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको कारोबार खाता एकै व्यक्तिले चलाएको देखिएको उल्लेख छ ।

सुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोरले समेत दिपक भट्टले जस्तै अग्रिम रकम नदिई सेयर कारोवारको सीमा प्राप्त गरी कारोबार गरेको, सेयर कारोबारको सबै रकम चुक्ता नगरेको तथा रकम चुक्ता भुक्तान नभई सेयर निजहरुको खातामा प्राप्त बोर्डले जनाएको छ । यस कार्यबाट निजहरुले खरिद गरेको सेयरको मूल्य बृद्धि हुन सहयोग पुगेको देखिएको छ । साथै लगानीकर्ता र धितोपत्र वजारलाई झुक्याउने कार्य भएको देखिन्छ ।

Skip This