
एजेन्सी । अमेरिकी डलरको कथा अमेरिकाले लडेका युद्धहरूको चर्चा नगरी पूर्ण हुँदैन ।
सुरुवाती समयका धेरैजसो अमेरिकी डलरका नोटहरू आन्तरिक वा बाह्य द्वन्द्वहरूको खर्च जुटाउन छापिएका थिए ।
२०औं शताब्दीमा पहिलो विश्वयुद्धले डलरलाई विश्वव्यापी मुद्राको स्थानमा उकास्न मद्दत गर्यो । त्यस युद्धको एउटा प्रभाव के भयो भने कहिल्यै घाम नअस्ताउने दाबी गर्ने साम्राज्य (बेलायत) को घाम अस्ताउन थाल्यो र उसको पूर्व उपनिवेश (अमेरिका) माथि सफलताको सूर्योदय हुन थाल्यो ।
भाग्यको यो परिवर्तन मुद्राहरूको वरियतामा पनि देखियो जहाँ अमेरिकी डलरले बिस्तारै ब्रिटिस पाउन्डलाई विश्वव्यापी मुद्रा मानकको रूपमा विस्थापित गर्यो ।
अर्को विश्वयुद्धले यस परिवर्तनलाई पूर्णता दियो । दोस्रो विश्वयुद्धको अन्त्यसम्ममा सम्पूर्ण युरोप तहसनहस भइसकेको थियो र अमेरिका निर्विवाद रूपमा आर्थिक र सैन्य विश्व शक्ति बन्यो ।
अमेरिका र अमेरिकी डलरको यस नयाँ कदलाई सन् १९४५ को ब्रेटन वुड्स सम्झौताले औपचारिकता दियो । यसले अमेरिकी डलरलाई आधिकारिक विश्वव्यापी सञ्चित मुद्रा घोषित गर्याे । यसरी अमेरिकी डलरको स्वर्णिम यात्रा सुरु भयो जबसम्म अर्को युद्धले यसलाई लगभग ध्वस्त पारेन ।
यो सन् १९७० को कुरा हो । लामो समयसम्म चलेको भियतनाम युद्धले अर्थतन्त्रमा ठूलो असर पार्न थालेको थियो । अमेरिकी ट्रेजरीमा पैसा लगानी गरेका युरोपेली राष्ट्रहरू अमेरिकाको आर्थिक अवस्थालाई लिएर चिन्तित हुन थालेका थिए ।
ब्रेटन वुड्सले डलरलाई दिएको उच्च दर्जासँगै केही दायित्वहरू पनि आएका थिए जसमध्ये मुख्य थियो ऋणदाताले मागेको खण्डमा डलरको ऋण सुनमा फिर्ता गर्नुपर्ने । राष्ट्रहरूले अमेरिकाको ऋण तिर्ने क्षमतामा शंका गर्न थालेपछि धेरैले आफ्ना डलरलाई सुनमा साट्न तँछाडमछाड गरे ।
अन्ततः तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले सुनको मानक हटाएर यस होडबाजीलाई रोके । त्यसले मुद्राको अवमूल्यन गर्यो र मुख्य सम्झौतालाई उल्लंघन गर्यो ।
यसले स्वाभाविक रूपमा प्रभावित देशहरूलाई आक्रोशित बनायो तर उनीहरूलाई शान्त पार्नुको साटो अमेरिकी अर्थमन्त्री जोन कोनालीले एउटा प्रसिद्ध टिप्पणी गरे, ‘डलर हाम्रो मुद्रा हो तर समस्या तिम्रो हो ।’
सुनको मानकबाट अलग भएर लागेको चोटमाथि यस्तो अपमानले डलरको विश्वव्यापी मुद्राको यात्रा समाप्त गर्न सक्थ्यो तर दुईवटा युद्धले यसलाई बचायो । एउटा शीतयुद्ध र अर्को तातो युद्ध ।
त्यो शीतयुद्धको चरम अवस्था थियो र पश्चिमी राष्ट्रहरूले रुसलाई एउटा ठूलो खतराको रूपमा हेर्थे । उनीहरूलाई आफ्नो पक्षमा अमेरिका चाहिएको थियो । यही निर्भरताले गर्दा अमेरिकामा अहंकार बढ्यो र युरोपेलीहरूले चुपचाप उसको कुरा स्वीकार गरे ।
दोस्रो, सन् १९७३ को योम किप्पुर युद्ध थियो जुन इजरायल र अरब देशहरूबीच भएको थियो । युद्धको अन्त्यमा अरब राष्ट्रहरू इजरायलसँग शान्ति सम्झौता गर्न बाध्य भए । उनीहरूको भविष्यको सुरक्षा अमेरिकाको सम्बन्धमा निर्भर रहेको उनीहरूले महसुस गरे ।
साउदी अरबले यसमा नेतृत्व लियो र अमेरिकासँग एउटा सम्झौता गर्यो जहाँ अमेरिकाले उनीहरूलाई सुरक्षा दिने प्रतिबद्धता जनायो र बदलामा साउदीले आफ्नो सबै तेलको व्यापार डलरमा गर्ने जिम्मा लियो । यो एक प्रकारको अद्भुत मित्रताको सुरुवात थियो ।
यसले अमेरिकालाई आफ्नो सैन्य शक्तिको आर्थिक लाभ लिन र डलरको प्रभुत्व कायम गर्न मद्दत गर्यो । विश्वको सबैभन्दा ठूलो शक्तिले आफ्नो ढोका कुरिदिएपछि साउदीहरूलाई पनि शान्ति भयो ।
यस व्यवस्थाबाट सिर्जित पेट्रो–डलरले डलरलाई साच्चै नै विश्वव्यापी मुद्रा बनायो र अमेरिकालाई यस्तो स्तरको ऋण लिन मद्दत गर्यो जसको आधुनिक अर्थशास्त्रमा कुनै तुलना छैन। यो जुनसुकै हिसाबले पनि एक अद्वितीय चाल थियो !
तर, सबै राम्रा कुराहरू जस्तै यसको पनि अन्त्य नजिकिँदैछ । अमेरिकाले सुरु गरेको तर टुंग्याउन नसकेको पछिल्लो युद्धका कारण डलरको प्रभुत्व कमजोर बन्दैछ । युद्धमा कुनै स्पष्ट विजेता नहोला तर अरब देशहरूले स्पष्ट रूपमा धेरै कुरा गुमाएका छन् ।
उनीहरूले ठूलो मूल्य चुकाएर र पीडा भोगेर अमेरिकाको नाम मात्रको सुरक्षा ग्यारेन्टीले सोचेजस्तो काम नगरेको कुरा बुझे । संकटको वास्तविक घडीमा अमेरिका अरब सहयोगीहरूप्रति गरिएका प्रतिबद्धताहरू पूरा गर्नुभन्दा आफ्ना नागरिक र इजरायलको सुरक्षामा बढी केन्द्रित देखिएको पाइयो ।
यस्तो व्यवहार पूर्ण रूपमा अप्रत्याशित त नहोला तर यसले पुर्याएको चोट कम भने छैन । अरब राष्ट्रहरूले बानीका कारण केही वर्ष डलरमा कारोबार जारी राख्न सक्छन् तर तेल र डलरलाई जोड्ने त्यो कसिलो गाँठो अन्ततः सधैंका लागि टुट्नेछ ।
यसको अर्थ अमेरिकी डलर रातारात कमजोर हुनेछ भन्ने होइन । यो अझै पनि एउटा महत्त्वपूर्ण मुद्रा रहनेछ । तर, एकमात्र विश्वव्यापी मुद्रा हुनु र एउटा महत्त्वपूर्ण मुद्रा मात्र हुनुमा ठूलो फरक छ र त्यो डलरको भविष्यमा देखिनेछ ।
यसबाहेक, अन्य सहायक प्रभावहरूले यस परिवर्तनलाई अझ तीव्र बनाउनेछन् । अमेरिकी ऋण यस्तो स्तरमा पुगिसकेको छ जुन स्वयं अमेरिकाका लागि पनि धान्न नसकिने छ । वर्तमान अमेरिकी ऋण करिब ३९ ट्रिलियन डलर छ र युद्धको प्रत्यक्ष–अप्रत्यक्ष लागतले यसमा थप १ ट्रिलियन डलर थप्न सक्छ ।
यसको विपरीत अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब ३० ट्रिलियन डलर छ जुन ऋणको करिब ७५ प्रतिशत मात्र हो । अझ खराब पक्ष त के छ भने अमेरिकी ऋण प्रतिवर्ष ६ प्रतिशत भन्दा बढीले बढिरहेको छ जबकि जीडीपी ३ प्रतिशतले मात्र बढ्न सक्छ । त्यसैले केही वर्षभित्रै यो अनुपात अझ बिग्रनेछ ।
यसमाथि युद्ध र भन्सार शुल्कका कारण बढेको मुद्रास्फीतिले नयाँ ऋणको लागत अझ बढी हुनेछ । पछिल्लो अमेरिकी मुद्रास्फीति ३.३ प्रतिशत छ जुन स्वीकार्य स्तर २ प्रतिशत भन्दा धेरै बढी हो ।
छोटकरीमा भन्नुपर्दा, अमेरिकी डलरका लागि परिस्थिति राम्रो देखिँदैन तर एउटा राहतको कुरा बाँकी छ । यो ताज लिनका लागि अरू कोही विकल्प तयार छैन । चिनियाँ युआनले आफूलाई दाबेदार ठाने पनि विश्वले अमेरिकालाई भन्दा चीनलाई कम विश्वास गर्छ ।
त्यसैले, यो मुद्राको ताज केही समयका लागि अमेरिकी डलरकै टाउकोमा रहिरहन सक्छ । तर, अन्ततः एउटा यस्तो दिन आउनेछ जब विश्वले अन्य विकल्पहरू भन्दा अमेरिकी डलरलाई बढी शंकाको दृष्टिले हेर्नेछ ।
त्यो दिन पाँच वर्षमा आउला वा पन्ध्र वर्षमा तर आउने निश्चित छ । अमेरिकाले यसबीचमा अर्को कुनै युद्ध सुरु गरेर पूर्ण रूपमा नजितेमा त्यो स्थिति पक्का आउनेछ । यीमध्ये केही नभएमा हामीसँग डलर मर्यो, डलर अमर रहोस् भन्नुको विकल्प छैन र आउने परिवर्तनका लागि आफूलाई तयार राख्नुपर्छ ।









प्रतिक्रिया