
काठमाडौं । लेबनानमा युद्धविरामको सम्झौतापछि इरानले शुक्रबार रणनीतिक रूपमा महत्त्वपूर्ण ‘हर्मुज जलसन्धि’ अस्थायी रूपमा खुला गरेको छ।
यो कदमले शान्ति वार्ताप्रति केही आशा जगाए पनि इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेमा यो महत्वपूर्ण जलमार्ग पुनः बन्द गर्न सक्ने चेतावनी तेहरानले दिएको छ।
इरानी परराष्ट्रमन्त्री अब्बास अराक्चीले सामाजिक सञ्जालमार्फत विश्व ऊर्जा व्यापारको मुख्य केन्द्र मानिने यो जलसन्धि १० दिने युद्धविराम अवधिभर व्यावसायिक जहाजहरूका लागि खुला रहने जानकारी दिएका छन्।
इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच बिहीबार १० दिने युद्धविराम सम्झौता भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अराक्चीको यो घोषणालाई विश्वका लागि ‘एक महान् र गौरवशाली दिन’ भनेर टिप्पणी गरेका छन्। ट्रम्प र इजरायलले गत फेब्रुअरी २८ मा इरान विरुद्ध युद्ध सुरु गरेका थिए, जसमा हजारौँको ज्यान गइसकेको छ भने हर्मुज जलसन्धि पनि लगभग बन्द अवस्थामा पुगेको थियो।
ट्रम्पले खुसी व्यक्त गरे तापनि दुवै पक्षका पछिल्ला भनाइहरूले ढुवानी सेवा कहिले सामान्य हुन्छ भन्नेमा अनिश्चितता पैदा गरेको छ। शुक्रबार केही जहाजहरूले जलसन्धि पार गर्ने प्रयास गरे पनि सफल हुन नसकी बीचबाटै फर्किएका थिए।
राष्ट्रपति ट्रम्पले एरिजोनामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै इरानसँगको कारोबार शतप्रतिशत पूरा नभएसम्म इरानी बन्दरगाह जाने जहाजहरूमाथिको अमेरिकी नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन्।
यसको प्रतिक्रियामा इरानी संसदका सभामुख तथा वरिष्ठ वार्ताकार मोहम्मद बाकर कलिबाफले अमेरिकी नाकाबन्दी जारी रहे जलसन्धि खुला नरहने चेतावनी दिएका छन्। उनले ट्रम्पले शान्ति वार्ताका बारेमा झूटो दाबी गरिरहेको आरोप समेत लगाएका छन्।
इरानले अबदेखि सबै जहाजहरूले ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ सँग समन्वय गर्नुपर्ने नयाँ नियम लागू गरेको छ, जुन युद्धअघि अनिवार्य थिएन। इरानी रक्षा मन्त्रालयले अमेरिका र इजरायलसँग सम्बन्धित ‘शत्रु शक्ति’ का जहाजहरूलाई भने अझै पनि प्रवेश अनुमति नदिइने बताएको छ।
शान्ति वार्तामा इरानको आणविक कार्यक्रम मुख्य अड्चनका रूपमा रहेको छ। राष्ट्रपति ट्रम्पले इरानको संवर्धित युरेनियमको भण्डार अमेरिका लैजाने बताएका छन् भने इरानी विदेश मन्त्रालयले उक्त सामग्री कतै नपठाइने अडान लिएको छ।
ट्रम्पले भने, ‘हामी इरानभित्र गएर ठूला मेसिनरी प्रयोग गरी उत्खनन गर्नेछौँ र ती सामग्री अमेरिका ल्याउनेछौँ।’ उनले ‘आणविक धुलो’ को प्रसङ्ग पनि उठाएका छन्, जुन गत वर्ष जुन महिनामा अमेरिका र इजरायलले इरानी आणविक केन्द्रहरूमा गरेको बमबारीको परिणाम हो।
जलसन्धि खुल्ने समाचारसँगै विश्व बजारमा कच्चा तेलको मूल्य १० प्रतिशतले घटेको छ भने सेयर बजारमा सुधार देखिएको छ। तर, सिपिङ कम्पनीहरूले भने जलमार्गमा हुन सक्ने ‘माइन’को जोखिमबारे स्पष्ट जानकारी नपाएसम्म जहाज चलाउन आनाकानी गरिरहेका छन्।
पाकिस्तानको इस्लामावादमा आगामी साता हुने भनिएको वार्तामा ६० दिनभित्र पूर्ण शान्ति सम्झौता गर्ने लक्ष्य राखिएको पाकिस्तानी स्रोतहरूले बताएका छन्। यद्यपि, इरानको जफत गरिएको अर्बौँ डलर फिर्ता गर्ने विषयमा ट्रम्प र इरानी अधिकारीहरूबीच विरोधाभासपूर्ण भनाइहरू बाहिर आएका छन्।
हाल लेबनान र इजरायलबीचको युद्धविराम धेरै हदसम्म लागू भएको देखिएको छ, तर केही स्थानमा इजरायली आक्रमणबाट हताहती भएको समाचार पनि प्राप्त भएका छन्।
रोयटर्सको सहयोगमा








प्रतिक्रिया