इरान युद्धले विश्वव्यापी आर्थिक मन्दी गराउने आईएमएफको चेतावनी

112
Shares

एजेन्सी । यो साता इरानसँग अमेरिकाको युद्धको समाधान भएछ भने पनि यस वर्ष विश्वले तेलको अभाव झेल्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।

द्वन्द्वको सम्भावित र गम्भीर प्रभावहरूबारे चेतावनी दिने यो पछिल्लो प्रमुख आर्थिक निकाय बनेको छ ।

कोषले बुधबार सरकारहरूलाई उच्च ऊर्जा मूल्यबाट उपभोक्ताहरूलाई जोगाउन अत्यधिक खर्च नगर्न चेतावनी दिएको छ । युद्ध सुरु हुनुअघि नै सार्वजनिक वित्त पहिले नै दबाबमा रहेको र यसलाई थप जोखिमको मुखमा धकेल्न नहुने उसले उल्लेख गरेको छ ।

युद्धको छिटो समाधान भए पनि सरकारहरूले उच्च ऊर्जा मूल्य र अभावसँग संघर्ष गरिरहनुपर्ने हुन सक्छ ।

‘आज राति सबै कुरा रोकियो र भोलिदेखि हामीले हर्मुज जलयोजक पुनः खोल्ने दिशामा अघि बढ्यौं भने पनि हामीले यस वर्ष तेलको अभाव नै देखिरहेका हुनेछौं,’ आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभर गोरिन्चासले क्वेस्ट मिन्स बिजनेसमा सीएनएनलाई दिएको अन्तर्वार्तामा भने ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (ईआईए) ले मंगलबार आफ्नो पछिल्लो तेल बजार प्रतिवेदनमा भनेअनुसार मार्च महिनामा विश्वव्यापी तेल आपूर्ति दैनिक १०.१ मिलियन ब्यारेलले घट्यो जुन इतिहासकै सबैभन्दा ठूलो अवरोध हो ।

ईआईएले यस वर्ष तेलको अभाव हुने त देख्दैन तर यसले विश्वव्यापी तेल आपूर्तिको आफ्नो पूर्वानुमानलाई उल्लेख्य रूपमा घटाएको छ । अब आपूर्ति मागभन्दा दैनिक केवल ४ लाख ४१ हजार ब्यारल बढी हुने अपेक्षा गरिएको छ जबकि मार्चको प्रतिवेदनमा यो २.४ मिलियन ब्यारल थियो ।

यी तथ्यांकहरूले युद्धका कारण विश्वव्यापी ऊर्जा बजार र व्यापक अर्थतन्त्रको परिदृश्यमा आएको नाटकीय परिवर्तनलाई उजागर गर्छन् । द्वन्द्वअघि विश्व अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको थियो र आईएमएफका अनुसार यस वर्षको वृद्धिदर माथितिर परिमार्जन हुने क्रममा थियो ।

अमेरिकी भन्सार महसुलमा कम भएको अनिश्चितता र कृत्रिम बुद्धिमत्ता (एआई) मा आएको लगानीको लहरलाई उद्धृत गर्दै गोरिन्चासले विश्व अर्थतन्त्रमा धेरै गति रहेको बताएका थिए ।

तर, युद्ध सुरु भएदेखि विश्वव्यापी परिदृश्य अचानक अन्धकारमय भएको छ,’ उनले मंगलबार प्रकाशित कोषको पछिल्लो विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा लेखेका छन् । यो द्वन्द्वले अझै पनि अभूतपूर्व स्तरको विश्वव्यापी ऊर्जा संकट निम्त्याउन सक्ने उनले थपे ।

आईएमएफले अब २०२६ मा विश्वव्यापी आर्थिक वृद्धि ३.१ प्रतिशत हुने अपेक्षा गरेको छ । त्यो जनवरीको पूर्वानुमानभन्दा ०.२ प्रतिशत बिन्दुले कम हो । यो सामान्य परिमार्जनले युद्ध तुलनात्मक रूपमा अल्पकालीन हुने अनुमान गरेको छ । यस वर्ष विश्वव्यापी मुद्रास्फीति बढेर ४.४ प्रतिशत पुग्ने देखिएको छ ।

तर, कोषले लामो समयसम्म चल्ने द्वन्द्वका लागि दुईवटा परिदृश्यहरू पनि प्रस्तुत गरेको छ । यीमध्ये बढी गम्भीर परिदृश्यमा, जसमा तेल र प्राकृतिक ग्यासको मूल्य जनवरीको तुलनामा १०० देखि २०० प्रतिशतले बढ्छ र २०२७ सम्म सोही स्तरमा रहन्छ, विश्वव्यापी आर्थिक वृद्धि यस वर्ष केवल २ प्रतिशतमा सीमित हुनेछ ।

यो ‘विश्वव्यापी आर्थिक मन्दीको निकै नजिक’ पुग्ने अवस्था हुनेछ । सन् १९८० यता विश्वव्यापी आर्थिक वृद्धि २ प्रतिशतभन्दा तल झरेको केवल चारपटक मात्र भएको छ ।

आईएमएफको यो भविष्यवाणी लामो समयसम्म चल्ने इरान युद्धको आर्थिक क्षतिका बारेमा चेतावनी दिने अर्थशास्त्री र एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरूको सूचीमा पछिल्लो थप हो ।

ती चेतावनीहरूले अमेरिका र इजरायलले सुरु गरेको युद्धका गम्भीर परिणामहरूलाई चित्रण गर्छन् जसले अहिले मित्र वा सहयोगी राष्ट्रहरूमा पनि आर्थिक संकट निम्त्याउन सक्ने देखिएको छ ।

इरानले हर्मुज जलयोजक प्रभावकारी रूपमा बन्द गरिदिएको छ जसले विश्वको कच्चा तेल आपूर्तिको करिब पाँचौं हिस्साका साथै प्राकृतिक ग्यास, हिलियम र मल जस्ता अन्य वस्तुहरूको आपूर्ति पनि ठप्प पारेको छ । केही देशहरूमा, विशेषगरी एसिया–प्रशान्त क्षेत्रमा, इन्धनको अभाव हुन थालेको छ र पेट्रोलियम उत्पादनबाट बन्ने वस्तुहरूको मूल्य बढ्न थालेको छ ।

बुधबार अस्ट्रेलियाका अर्थमन्त्री जिम चालमर्सले पश्चिम एसियाको युद्धका कारण विश्व अर्थतन्त्रले वास्तवमै खतरनाक समयको सामना गरिरहेको चेतावनी दिएका छन् ।

‘अस्ट्रेलिया अन्य धेरै देशहरूको तुलनामा राम्रो स्थितिमा र तयारीमा छ तैपनि हामी पनि यो ठूलो आर्थिक धक्काको दुष्प्रभावबाट बच्न सक्ने छैनौं,’ उनले पत्रकारहरूसँग भने ।

अस्ट्रेलियाली सरकारले यस वर्ष उच्च मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिको अपेक्षा गरेको छ । ‘अस्ट्रेलियालीहरूले पश्चिम एसियाको यो युद्धको परिस्थिति रोजेका होइनन् तर उनीहरूले यसको ठूलो मूल्य चुकाइरहेका छन्,’ चालमर्सले भने ।

इन्धनको मूल्यमा आएको वृद्धिका कारण आर्थिक कठिनाइ भोगिरहेका उपभोक्ताहरूलाई राहत दिन अस्ट्रेलियाले पेट्रोल र डिजेलको कर तीन महिनाका लागि आधा घटाएको छ ।

चालमर्स यस हप्ता जी–२० अर्थमन्त्रीहरूको बैठक र आईएमएफ तथा विश्व बैंकसँगको भेटका लागि वाशिङटन जाँदैछन् जहाँ उनले अन्य अधिकारीहरूसँग मिलेर युद्ध अन्त्यका लागि आह्वान गर्ने बताएका छन् । उनले भने, ‘आर्थिक दृष्टिकोणले यो युद्ध जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ र यसका परिणामहरू केही समयसम्म महसुस गरिनेछ ।’

Skip This