एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

126
Shares

काठमाडौं । एफवानसफ्ट इन्टरनेशनलले २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ । पौडेलले सह–संस्थापक तथा निर्देशक सुबास शर्मापछि सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

शर्माले एक दशकभन्दा बढी समय उक्त भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए । उनले एफवानसफ्ट ग्रुपको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा, फोनपे लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका थिए । कम्पनीका अनुसार शर्माले अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट ग्रुपको रणनीतिक दिशानिर्देशनमा योगदान पुर्याउनेछन् । हाल फोननेक्स्ट प्रालिका सीईओ रहेका पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन् ।

एफवानसफ्ट ग्रुपमा आबद्ध हुनुअघि उनले नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै पेमेन्ट टेक्नोलोजी म्यानेजमेन्ट तथा डिजिटल ट्रान्सफर्मेसन कार्यक्रमको नेतृत्व गरेका थिए । उनी दुई दशकभन्दा बढी अनुभव भएका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका अनुभवी विज्ञ मानिन्छन् ।

निवर्तमान सीईओ सुबास शर्माले कम्पनीले २२ वर्षमा निर्माण गरेको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी यात्रामा सनत पौडेलको नेतृत्वप्रति पूर्ण विश्वास रहेको बताए । नवनियुक्त सीईओ पौडेलले एफवानसफ्टको २२ वर्षे यात्राको महत्वपूर्ण मोडमा नेतृत्व गर्ने अवसर पाउनु गर्वको विषय भएको उल्लेख गर्दै कम्पनीको प्रविधि नेतृत्वलाई अझ मजबुत पार्ने, सेवा विस्तारलाई तीव्र बनाउने र नेपालको फिनटेक दक्षतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रतिबद्धता जनाए ।

नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एफवानसफ्टले इसेवा, फोनपे लगायतका सेवा मार्फत डिजिटल वालेट, अन्तरसञ्चालनयोग्य भुक्तानी प्रणाली तथा डिजिटल ऋण प्लेटफर्म विकास गर्दै देशको वित्तीय पहुँच विस्तारमा योगदान पुर्याउँदै आएको छ । कम्पनीले तेस्रो दशकमा प्रवेशसँगै आफ्नो संस्थागत क्षमता थप सुदृढ बनाउने, नेपालभित्र प्रभाव विस्तार गर्ने र फिनटेक क्षमतालाई विश्वव्यापी स्तरमा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।