अमेरिका र इरान युद्धविराम लम्ब्याउन अप्रत्यक्ष वार्ता गर्दै

182
Shares

एजेन्सी । अर्को साता २२ अप्रिलमा सकिन लागेको दुई हप्ते युद्धविरामलाई थप लम्ब्याउने उद्देश्यका साथ अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता भइरहेको छ ।

यसैबीच मध्यस्थता प्रयासलाई जारी राख्न पाकिस्तानका सेना प्रमुख तेहरान पुगेका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार अमेरिकाले दुई हप्ते युद्धविराम लम्ब्याउनका लागि औपचारिक रूपमा अनुरोध गरेको कुरालाई अस्वीकार गरिन् । तर, वाशिङटन यी वार्ताहरूमा धेरै हदसम्म संलग्न रहेको कुरा उनले थपिन् ।

दोस्रो चरणको वार्ता इस्लामाबादमा हुने धेरै सम्भावना रहेको बताउँदै उनले शान्ति सम्झौताका लागि भएका वार्ताहरू असफल भएको केही दिनमै ह्वाइट हाउस सम्झौताको सम्भावनाप्रति सकारात्मक रहेको बताइन् ।

‘तपाईँले यहाँ ह्वाइट हाउसबाट हामीमार्फत नसुनेसम्म केही पनि आधिकारिक हुँदैन,’ उनले थपिन् ।

पाकिस्तानी अधिकारीहरूले द्वन्द्व अन्त्यका लागि वार्ता गर्ने प्रयास स्वरूप शटल डिप्लोमेसीको नयाँ चरण सुरु गरेसँगै यी टिप्पणीहरू आएका हुन् । यसमा उनीहरूले शान्ति सम्झौताका लागि कूटनीतिक समर्थन जुटाउन इरान र यस क्षेत्रका अन्य देशहरूको भ्रमण गरिरहेका छन् ।

फिल्ड मार्शल असिम मुनिरले बुधबार तेहरानमा वाशिङटनको सन्देश पुर्याउन र अमेरिका–इरान युद्धविराम वार्ताको दोस्रो चरणको व्यवस्था गर्न एक पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । इस्लामाबादका अधिकारीहरूका अनुसार, यस उच्चस्तरीय प्रतिनिधिमण्डलमा गृहमन्त्री मोहसिन नकवी पनि सहभागी थिए ।

सोही दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ अन्य क्षेत्रीय शक्ति राष्ट्रहरूको समर्थन समन्वय गरेर शान्ति प्रयासहरूलाई मजबुत बनाउने प्रयासमा साउदी अरब, कतार र टर्कीको चार दिने भ्रमणमा निस्किए ।

यस क्षेत्रका रिपोर्टहरूले दुवै पक्ष युद्धविराम लम्ब्याउने पक्षमा रहेको संकेत गरेका छन् यद्यपि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शान्ति सम्झौता सुरक्षित गर्न म्याद थप आवश्यक नहुन पनि सक्ने सुझाव दिएका छन् ।

‘यस भ्रमणका क्रममा दुवै पक्षका विचारहरूमा विस्तृत रूपमा छलफल हुने सम्भावना छ,’ इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले भने । उनले गत साताको अन्त्यमा इस्लामाबादमा २१ घण्टाको युद्धविराम वार्ता बिना निष्कर्ष टुंगिएपछि पनि वाशिङटन र तेहरानबीच सन्देश आदानप्रदान जारी रहेको बताए ।

तेहरानका स्रोतहरूले बताएअनुसार, इरानले अमेरिकासँगको अर्को चरणको वार्ताका लागि लेबननमाथिको इजरायली आक्रमण अन्त्य हुनुपर्ने पूर्वशर्त राखेको छ । इजरायलले वाशिङटनमा लेबनानी सरकारसँगको आफ्नो वार्तालाई इरान–सम्बद्ध हिजबुल्लाह लडाकु समूहको लेबननमाथिको पकड अन्त्य गर्ने ऐतिहासिक अवसरको रूपमा चित्रण गरेको छ ।

तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार साँझ एक भिडियो विज्ञप्तिमा आफू युद्धविरामका लागि प्रतिबद्ध नरहेको संकेत गरे । उनले आईडीएफ (इजरायली सेना) ले लेबननको बिन्त जेबैलस्थित हिजबुल्लाहको गढमा आक्रमण जारी राखेको र लेबननमा सैन्य कारबाही जारी राखेर सुरक्षा क्षेत्र विस्तार गर्न निर्देशन दिएको बताए ।

‘हाम्रा बलहरूले हिजबुल्लाहमाथि आक्रमण जारी राखेका छन् । हामी बिन्त जेबैल कब्जा गर्ने तर्खरमा छौं,’ उनले भने । ‘यसैबीच हिजो मैले आईडीएफलाई सुरक्षा क्षेत्र अझ मजबुत बनाउन निर्देशन दिएको छु ।’

इजरायली सेनाका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल इयाल जामिरले बुधबार इजरायली सैनिकहरूको स्थान भ्रमण गर्दै इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको लिटानी नदीको दक्षिणबाट हिजबुल्लाहको उपस्थितिलाई हटाउने वाचा गरे ।

‘मैले लिटानी रेखासम्मको दक्षिणी लेबननको सम्पूर्ण क्षेत्रलाई हिजबुल्लाह आतंकवादीका लागि किल जोन (मार्ने क्षेत्र) मा परिणत गर्न आदेश दिएको छु,’ जामिरले भने । उनले थपे, ‘हामी अगाडि बढिरहेका छौं र हिजबुल्लाहमाथि प्रहार गरिरहेका छौं । उनीहरू पछि हटिरहेका छन् ।’

दुई लेबननी अधिकारीहरूले रोयटर्सलाई बताएअनुसार, इजरायलसँगको युद्धविराम चाँडै घोषणा हुन सक्ने अपेक्षा गरिएको छ तर उनीहरूले वार्ताका बारेमा थप विवरण दिएनन् ।

अमेरिकी सेनाले इस्लामाबाद वार्ता सकिएपछि इरानी बन्दरगाहहरूमा लगाइएको समुद्री नाकाबन्दी पूर्ण रूपमा लागू भएको र मंगलबार स्ट्रेट अफ हर्मुज पार गर्न खोज्ने चिनियाँ स्वामित्वको ट्यांकर रिच स्टारी लगायत नौवटा जहाजहरूलाई अमेरिकी युद्धपोतहरूले फिर्ता पठाइदिएको बताएको छ । उक्त जहाजलाई अमेरिकाले प्रतिबन्धको सूचीमा राखेको छ ।

इरानको संयुक्त सैन्य कमान्डका नेता मेजर जनरल अली अब्दोल्लाहीले बुधबार अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी नहटाएमा आफ्नो सेनाले खाडी क्षेत्रमा व्यापार ठप्प पार्न सक्ने बताए ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले बमवर्षा अभियानको वित्तीय विकल्पको तयारी गरेर इरानमाथि आर्थिक दबाब बढाउन तयार रहेको बताएका छन् । प्रशासनले कम्पनीहरू र देशहरूलाई तपाईंहरूले इरानी तेल किनिरहनुभएको छ वा इरानी पैसा तपाईंको बैंकहरूमा छ भने हामी अब सेकेन्डरी प्रतिबन्धहरू लगाउन तयार छौं भनेको छ ।

त्यो धेरै कडा कदम भएको बेसेन्छले बताए । ‘र हामीले सैन्य गतिविधिहरूमा देखेको कुराको वित्तीय विकल्प हुनेछ भन्ने कुरा इरानीहरूले बुझ्नुपर्छ,’ उनले थपे ।

चीनले समुद्री नाकाबन्दीप्रति आफ्नो आपत्ति जनाएको छ तर ट्रम्पले बुधबार आफूले चिनियाँ राष्ट्रपति सी चिनपिङबाट इरानलाई हतियार नपठाउने सहमति प्राप्त गरेको दाबी गरे । बेइजिङस्थित विदेश मन्त्रालयले भने युद्धको समयमा चीनले इरानलाई हतियार आपूर्ति गरिरहेको कुरालाई अस्वीकार गर्दै आएको थियो ।

यद्यपि, फाइनान्सियल टाइम्सले बुधबार रिपोर्ट गरेअनुसार इरानको रिभोलुसनरी गार्डको एरोस्पेस फोर्सले सन् २०२४ मा चिनियाँ जासुसी उपग्रह प्राप्त गरेको थियो र पाँच हप्ते युद्धका क्रममा यस क्षेत्रमा रहेका अमेरिकी आधारहरूलाई निशाना बनाउन त्यसको प्रयोग गरेको थियो ।

ट्रम्पले नेतन्याहूसँगको साझेदारीमा द्वन्द्व सुरु गरेदेखि नै युद्धको छिटो अन्त्य हुने आफ्नो भविष्यवाणीलाई जारी राखेका छन् । उनले एबीसी न्युजका संवाददाता जोनाथन कार्ललाई भने, ‘मलाई लाग्छ, तपाईंले आगामी दुई दिनमा केही अद्भुत कुरा देख्नुहुनेछ ।’

राष्ट्रपतिले कार्लसँग कुरा गर्दै इरानको सेनालाई ठूलो क्षति पुर्याएर अमेरिका पछि हट्न सक्ने वा तेहरानसँगको सम्झौतापछि बाहिरिन सक्ने तर्क गर्दै आगामी बुधबार युद्धविराम समाप्त हुनुअघि नै युद्ध अन्त्य हुन सक्ने बताए ।

‘यो जुनसुकै तरिकाले पनि अन्त्य हुन सक्छ । तर मलाई लाग्छ, सम्झौता उत्तम हुन्छ किनभने त्यसपछि उनीहरूले पुनर्निर्माण गर्न सक्छन्,’ उनले भने ।

ट्रम्पले फक्स न्युजलाई पनि युद्ध धेरै चाँडै समाप्त हुन सक्ने र त्यसपछि तेलको मूल्यमा भारी गिरावट आउने बताए । बुधबार तेलको मूल्य प्रति ब्यारल ९५ डलरको हाराहारीमा रह्यो किनभने व्यापारीहरू शान्ति वार्ताको भविष्यबारे अनिश्चित थिए ।

आइतबार इस्लामाबाद वार्ता समाप्त भएपछि ट्रम्पले इरानी खाडी बन्दरगाहहरूमा आउने वा जाने जहाजहरूमा समुद्री नाकाबन्दीको आदेश दिए । यो युद्धको सुरुवातदेखि नै खाडीतर्फ जाने रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुजलाई इरानले लगभग पूर्ण रूपमा बन्द गरेको विरुद्धमा र आर्थिक दबाब बढाउनका लागि गरिएको थियो ।

अमेरिकी नाकाबन्दी जारी रह्यो भने इरानले खाडी, ओमानको खाडी र लाल सागर लगायत यस क्षेत्रका सबै आयात–निर्यात ठप्प पार्ने चेतावनी अली अब्दोल्लाहीले दिएका छन् ।

‘इरानले आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र आफ्नो हितको रक्षा गर्न शक्ति प्रयोग गर्नेछ,’ अली अब्दोल्लाहीले भने ।