विश्वप्रसिद्ध म्यागजिन ‘टाइम’ को १०० प्रभावशाली व्यक्तिमा प्रधानमन्त्री बालेन शाह समावेश

154
Shares

काठमाडौं । विश्वप्रसिद्ध म्यागाजिन ‘टाइम’ ले सन् २०२६ का लागि विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन शाह (बालेन्द्र शाह) पनि समावेश भएका छन् ।

३५ वर्षकै उमेरमा नेपालको इतिहासकै कान्छा प्रधानमन्त्री बनेका शाहलाई टाइमले ‘युवा विद्रोह र परिवर्तनको संवाहक’ का रूपमा चित्रण गरेको छ।

गत फागुनमा सम्पन्न आम निर्वाचनमा शाहले ऐतिहासिक ‘ल्याण्डस्लाइड’ जित हासिल गरेका थिए। सो विजयलाई गत शरद ऋतुमा पुरानो राजनीतिक पुस्ताको कार्यशैली र भ्रष्टाचारविरुद्ध ‘जेन-जी’ पुस्ताले सडकमा गरेको शक्तिशाली प्रदर्शनको परिणाम मानिएको छ।

टाइम म्यागाजिनले शाहको बारेमा लेखेको छ, ‘आफ्नो इमान बेच्नेहरूका लागि पैसा रूखमै फल्छ’ भन्दै र्‍याप गाउने यी पूर्व हिप-हप कलाकार आज ३ करोड नेपालीको नेतृत्व गरिरहेका छन्।

सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले चार वर्षअघि काठमाडौंको मेयर हुँदा कर्मचारीतन्त्रको झन्झट हटाएर फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा लोभलाग्दो सुधार गरेका थिए।

प्रतिवेदनले बालेनको उदयलाई केवल नेपालको मात्र नभई दक्षिण एसियाकै ‘वंशवादी राजनीति’ को अन्त्यका रूपमा व्याख्या गरेको छ। यसले छिमेकी मुलुकका स्थापित राजनीतिक शक्तिहरूमा समेत कम्पन पैदा गरेको उल्लेख गरिएको छ।

अमेरिकी र्‍यापर टुप्याक शाकुर र ५० सेन्टबाट प्रभावित शाहले कुनै समय सामाजिक सञ्जालमा लेखेका थिए— ‘नयाँ र पुराना सबै राजनीतिज्ञहरू चोर हुन्।’

अहिले सारा विश्व र नेपाली जनताको आँखा बालेनमाथि छ। के उनले काठमाडौं महानगरमा देखाएको सफलतालाई राष्ट्रिय स्तरमा पनि दोहोर्‍याउन सक्लान भन्दै टाइम म्यागाजिनले लेखेको छ, ‘नेपालीहरू आशा गर्छन् कि उनले आफूलाई (नेताहरू चोर हुन् भन्ने आफ्नै भनाइलाई) गलत प्रमाणित गर्नेछन्।’

बालेन शाहसँगै यस वर्षको प्रभावशाली सूचीमा विश्वका अन्य चर्चित नेता, उद्यमी र कलाकारहरू समावेश छन्। यो उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बदलिँदो राजनीतिक परिदृश्य र युवा नेतृत्वको बढ्दो प्रभावलाई प्रतिविम्बित गरेको छ।