
काठमाडौं । गोदावरी ग्रुपका दुई कम्पनीले साढे ६ अर्ब रुपैयाँको कारोबार गरेका छन् । ग्रुपका गोदावरी स्टिल र गोदावरी वायरले गत आर्थिक वर्षमा ६ अर्ब ५० करोड ७० लाख रुपैयाँको कारोबार गरेका हुन् ।
गत आवमा गोदावरी वायरले १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ र गोदावरी स्टिलले ५ अर्ब १ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् । स्टिल कम्पनीले सन् २०२४ मा ६ अर्ब ४० करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार गत आवमा २१.७७ प्रतिशतले कम भएको छ । कम्पनीका अनुसार गत आवमा कम परिमाणमा बिक्री हुँदा व्यापारमा कमी आएको हो । कम्पनीले उद्योगको ४९ प्रतिशत क्षमता उपयोग गरेको जनाएको छ ।
कम्पनीले गत आवमा प्रति मेट्रिक टन ७४ हजार ५ सय रुपैयाँमा बिक्री गरेको पाइएको छ । सन् २०२४ मा प्रति मेट्रिक टन ७६ हजार ७ सय ७ रुपैयाँमा बिक्री गरेको थियो । कम्पनीले गत आवमा ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा ४० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
त्यस्तै, कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । सन् २०२४ मा ६ करोड २० लाख रुपैयाँ कुल नगद सञ्चय रहेकामा गत आवसम्म ८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
सन् २०१९ देखि व्यावसायिक कारोबार सुरु गरेको कम्पनीले वार्षिक १ लाख ४४ हजार मेट्रिक टन क्षमतामा डण्डी, सादा स्टिल बार, स्टिल बिलेट र वायर उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त क्षमता बढाएर २ लाख १६ हजार मेट्रिक टन पुर्याउने तयारी गरेको छ । कम्पनीले उत्पादन गरेको डण्डी ‘गोदावरी’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
मुन्नाप्रसाद सेनुरिया बानियाको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ३२ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब २८ करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले सन् २०२१ देखि चरणबद्ध पुँजीगत खर्च अगाडि बढाएको छ । कम्पनीले डण्डी उत्पादनका लागि निरन्तर कास्टिङ मेसिन स्थापना गरी पछिल्लो एकीकरण, रोलिङ मिलको स्वचालन तथा वायर रड युनिट थप्ने कार्य समावेश गरेको छ ।
कम्पनीको रोलिङ मिल र निरन्तर कास्टिङ मेसिन सन् २०२३ को जुनदेखि सञ्चालनमा आएको थियो । कम्पनीले गत आवको अन्त्यसम्म कुल ४ अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च गरिसकेको छ । साथै, कम्पनीले सेक्सन मिल स्थापना गरी थप क्षमता विस्तार गरिरहेको छ । उक्त मिलबाट वार्षिक ७२ हजार मेट्रिक टन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।
ग्रुपको अर्को कम्पनी गोदावरी वायरले गत आवमा १ अर्ब ४९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब १६ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब १२ ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार गत आवमा २९ प्रतिशतले बढेको छ । व्यापार बढेसँगै नाफा पनि बढेको छ । कम्पनीले गत आवमा १.७७ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा १.१२ प्रतिशत नाफा कमाएको थियो ।
सन् २०२० मा स्थापना भएको कम्पनीले डण्डी तथा डण्डीजन्य सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनीले एमएस वायर, एसएस वायर, ग्याल्भनाइज्ड वायर उत्पादन गर्ने प्लान्टको निर्माण, प्रक्रिया र मेसिनरीको कार्य तीव्र गतिमा अघि बढाएको छ ।
उक्त उद्योगबाट उत्पादन हुने सामग्री निर्माण क्षेत्रमा बढी प्रयोग हुने जनाइएको छ ।
कम्पनीले उद्योगबाट दैनिक २ सय मेट्रिक टन सामग्री उत्पादन हुने जनाएको छ । उद्योग निर्माणका लागि १ अर्ब ३७ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान छ, जसमा कम्पनीले लगानीको अनुपात ७५:२५ राखेको छ । हालसम्म कर्जा व्यवस्थापन भइसकेको छ । कम्पनीको वित्तीय प्रगति ६९ प्रतिशत पुगेको रेटिङमा उल्लेख छ ।
मुन्नाप्रसाद सेनुरिया बानियाको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब १५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब १२ करोड रुपैयाँको रेटिङ गराएको हो ।










प्रतिक्रिया