विश्व बजारलाई तर्साउने गरी ट्रम्पले लगाए हर्मुजमा नाकाबन्दी ?

658
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वकै महत्त्वपूर्ण जलमार्ग हर्मज जलयोजकमा कडा जलसैनिक नाकाबन्दीको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले एक सन्देश जारी गर्दै उक्त जलमार्गबाट प्रवेश गर्ने वा बाहिरिने कुनै पनि र सबै जहाजहरूलाई रोक्न अमेरिकी जलसेना परिचालन गरिएको जानकारी दिएका छन् ।

यो कदम विशेषगरी इरानको खार्ग टापुबाट बाहिरिने तेल ट्यांकरहरू र अन्तर्राष्ट्रिय जलक्षेत्रमा इरानलाई ट्रान्जिट महसुल बुझाउने हरेक जहाजहरूलाई लक्षित गरी चालिएको हो । इरानले हालैका दिनमा तेलको उच्च मूल्यबाट लाभ उठाइरहेको सन्दर्भमा अमेरिकाले उसको आर्थिक मेरुदण्डमा प्रहार गर्न यो रणनीति अपनाएको देखिन्छ ।

अमेरिकी सेन्ट्रल कमान्डले नाकाबन्दीको औपचारिक पुष्टि गर्दै सोमबार साँझदेखि इरानी बन्दरगाहहरूमा हुने सबै आवतजावतलाई रोक्न सुरु गरिने जनाएको छ । सेन्ट्रल कमान्डका अनुसार, यो नाकाबन्दी निष्पक्ष रूपमा सबै राष्ट्रका जहाजहरूमाथि लागू हुनेछ जसले इरानी बन्दरगाह वा तटीय क्षेत्रहरू प्रयोग गरिरहेका छन् ।

यसैबीच, अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले प्रतिबन्धित इरानी तेल खरिद वा बिक्री गर्ने जोसुकैलाई पनि न्याय विभागले कानुनी कठघरामा उभ्याउने चेतावनी दिएका छन् । यसको प्रत्यक्ष असर पाकिस्तान लगायतका एसियाली राष्ट्रहरूमा पर्ने देखिएको छ जसले विगत केही हप्तादेखि इरानसँग तेल खरिदका लागि वार्ता गरिरहेका थिए ।

हर्मज जलयोजकमा सामुद्रिक कानुन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि लागू हुने वा नहुने विषयमा अमेरिका र इरानबीच लामो समयदेखि विवाद छ । इरानले प्रति जहाज २० लाख डलर महसुल उठाउँदै आएको छ जसलाई तेहरानले युद्ध क्षतिपूर्तिको नाम दिएको छ ।

तर, वाशिङटनले यसलाई अन्तर्राष्ट्रिय जलमार्गमा वैधानिक व्यापारमाथिको अवरोध र गैरकानुनी असुलीको रूपमा व्याख्या गरेको छ ।

नाकाबन्दीको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ । ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्य प्रति ब्यारल १०० डलरभन्दा माथि पुगेको छ । राष्ट्रपति ट्रम्पले स्वयं पत्रकारहरूसँग कुरा गर्दै आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावसम्म तेल र ग्यासको मूल्य उच्च रहन सक्ने स्वीकार गर्नुभएको छ ।

यसले अमेरिकी आन्तरिक अर्थतन्त्र र विश्वव्यापी आपूर्ति सञ्जालमा दीर्घकालीन प्रभाव पार्ने संकेत गरेको छ ।

तथ्यांक अनुसार, मार्च महिनामा इरानको तेल उत्पादन दैनिक करिब ३२ लाख ब्यारल थियो जसमा करिब १५ देखि १७ लाख ब्यारल निर्यात भइरहेको थियो । इरानले प्रतिबन्ध छल्नका लागि डार्क फ्लिट (पहिचान लुकाएका जहाजहरू), एआईएस म्यानिपुलेसन र समुद्रमै जहाजबाट जहाजमा तेल सार्ने जस्ता प्रविधिहरू प्रयोग गर्दै आएको थियो ।

अमेरिकी नाकाबन्दीले यी गतिविधिहरूलाई पूर्ण रूपमा ठप्प पार्ने अपेक्षा गरिएको छ ।

यद्यपि, इस्लामाबादमा भएको वार्ताका क्रममा इरानले केही गैर–इरानी ट्यांकरहरूलाई सद्भावको रूपमा जलयोजक पार गर्न अनुमति दिएको थियो । तर, अमेरिकी नाकाबन्दीले अब ती सबै कूटनीतिक प्रयासहरूलाई जोखिममा पारेको छ ।

अमेरिकी कदमप्रति टिप्पणी गर्दै इरानको संसद्का सभामुख मोहम्मद बागर गालिबाफले यो नाकाबन्दीले इरानी राष्ट्रमाथि कुनै प्रभाव नपर्ने दाबी गरेका छन् । तर, विश्लेषकहरूका अनुसार यो नाकाबन्दीले यस क्षेत्रमा नयाँ सैन्य मुठभेडको जोखिम बढाएको छ ।

अमेरिकाले एकातिर वस्तुहरूको निर्बाध प्रवाह सुरक्षित गर्ने दाबी गरिरहेको छ भने अर्कोतिर आफैंले नाकाबन्दी गर्दा ऊर्जा बजारमा एक प्रकारको विरोधाभासपूर्ण र विवादास्पद स्थिति सिर्जना भएको छ ।

यो नाकाबन्दी कति समयसम्म कायम रहन्छ र यसले मध्यपूर्वको सुरक्षा सन्तुलनलाई कुन दिशामा लैजान्छ भन्ने कुरा अहिले विश्व चासोको विषय बनेको छ ।