सेयर बजारमा न खरिदकर्ता न बिक्रीकर्ता



काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक दुईदिन बढ्यो । तर, परिसूचक बृद्धि दुईदिन गरेरपनि दोहोरो अंक छुन सकेको छैन ।

साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक २.४ अंकले बढ्यो । सेयर बजारमा २३ करोड ३७ लाख रुपैयाँको कारोबार भयो ।

बुधवार पनि कारोबारको हिस्सा र खासै फरक थिएन । अर्थमन्त्रीको बोलीसँग त्रसिएर घटेको सेयर बजार अहिले सरकारको नीतिको प्रतिक्षामा रहेको यसका जानकार बताउँछन् ।

‘बेच्नेले घटेर बेच्न खोजेका छैनन्, किन्नेले बढेर किन्न खोजेका छैनन्’,एक सेयर ब्रोक्ररले भने,‘अहिले तत्काल सेयर बजारमा कुनै सुधार आउने भन्दा पनि निरन्तरतामा मात्र चल्ने देखिन्छ।’

खासगरी अहिले सेयर बजारमा ठूला लगानीकर्ताहरु प्रवेश गरेका छैनन् । अघिल्लो सातासम्म बिक्रीमा जोड दिएका ठूला लगानीकर्ताहरु तत्काल लगानी गर्ने पक्षमा छैनन् । अर्का ठूला लगानीकर्ता सामुहिक लगानी कोषहरु पनि लगानी बढाएका छैनन् ।

ब्याजदर घट्ने सम्भावना देखिएको छैन । जसले गर्दा बजारमा लगानी गर्न चाहनेको संख्या बढेको छैन । सेयर बजारमा आपूर्ति बढेको बढ्यै छ । पछिल्लो सातामात्र १ करोडभन्दा बढी कित्ता सेयर कारोबारको लागि थपिएको छ ।

‘सेयर बजार अहिले घट्ने र बढ्नेभन्दा पनि स्थिरमा बस्न खोजिरहेको छ’ एक सेयर ब्रोक्ररले भने,‘तत्काल आर्थिक रुपमा परिवर्तन नभएमा यही १३ सय अंकको वरिपरी घुम्ने देखिन्छ।’

ब्रोक्रर तथा लगानीकर्ता सरकारले ल्याउन लागेको स्वेतपत्रबाट भने बजारलाई असर गर्न सक्छ । आर्थिक सुधारको लागि गर्ने बाटो स्वेतपत्रले घोषणा गर्ने अनुमान लगानीकर्ता छ । कतिपयले सेयर बजारलाई नै सिधा सम्बोधन गर्नेगरी स्वेतपत्र आउने भनेर बुझेका छन् ।

सेयर बजारमा अहिले दैनिक २५ करोडसम्मको कारोबार हुनुलाई लगानीकर्तामा रौनक नआएको मान्न सकिन्छ । पछिल्लो समयमा ठूला लगानीकर्ताले बेचेको सेयर साना तथा मझौला लगानीकर्ताले खरिद गरेका थिए ।

अहिलेको कारोबार साना तथा मझौला लगानीकर्ताबीच हो । ठूला लगानीकर्ता भने चुपचाप छन् ।


क्लिकमान्डु