सम्पत्तिबारे प्रश्न उठेपछि गृहमन्त्री गुरुङ भन्छन्: गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो

0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेका प्रश्नहरूमाथि प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत् उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

फेसबुक स्टोरीमार्फत् गुरुङले लेखेका छन्, ‘तिमी जन्मिँदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब नै मर्नु त्यो तिम्रो गल्ती हो,’ उनले थप्दै भनेका छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो । चेतना भया !’

सरकारले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गुरुङ उल्लेखनीय सम्पत्तिका धनी देखिएका छन् । विवरणमा उनको नाममा सुनचाँदीदेखि घरजग्गासम्म ठूलो परिमाणमा सम्पत्ति रहेको देखिन्छ । उनले ८९ तोला सुन र करिब ६ किलो चाँदी रहेको उल्लेख गरेका छन् भने विभिन्न कम्पनीमा करिब ४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । तीन वटा बैंक खातामा ६२ लाख रुपैयाँभन्दा बढी बचत रहेको विवरणमा उल्लेख छ।

जग्गा जमिनतर्फ हेर्दा, गोरखामा (पैतृक) २२१ रोपनी जग्गा रहेको छ जुन हजुरबाको नाममा रहेको उल्लेख गरिएको छ । त्यस्तै, चितवनको भरतपुर–१८ मा उनका पिता दिलबहादुर गुरुङको नाममा ३० कठ्ठा जग्गा छ भने गुरुङकै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ ।

उनको सम्पत्तिको स्रोत के हो भन्दै प्रश्न उठिरहेको छ । उनले स्रोतमा ‘पैतृक’ र ‘व्यवसाय’ उल्लेख गरे पनि कुन व्यवसायबाट कमाइ भयो भन्ने विवरण दिएका छैनन् ।

यस्तै, पहाडी क्षेत्रमा ८० रोपनीभन्दा बढी जग्गा राख्न नपाइने हदबन्दीको व्यवस्थाबीच गोरखामा उल्लेख गरिएको २२१ रोपनी जग्गा पनि बहसको विषय बनेको छ, यद्यपि उक्त जग्गा बाँडफाँट नभएको पैतृक सम्पत्तिको रूपमा प्रस्तुत गरिएको छ ।

उनले आफ्नो स्टोरीको ब्याकग्राउण्डमा ‘के पाइस् नेपाली केरा’ बोलको गीतसमेत राखेका छन्, जसले सामाजिक सञ्जालमा थप चर्चा पैदा गरेको छ ।