हर्मुज नाकाबन्दीको पूर्वसन्ध्यामा उकालो लाग्यो तेलको भाउ

574
Shares

एजेन्सी । वाशिङटन र तेहरानबीच युद्ध अन्त्य गर्ने सम्झौता हुन नसकेपछि अमेरिकी जलसेनाले हर्मज जलयोजक भएर इरान जाने र आउने जहाजहरूलाई रोक्ने तयारी गरेसँगै सोमबार तेलको मूल्य प्रति ब्यारल १०० डलरभन्दा माथि पुगेको छ । यस कदमले इरानी तेल निर्यातलाई सीमित गर्न सक्नेछ ।

शुक्रबार ०.७५ प्रतिशतले घटेर बन्द भएको ब्रेन्ट क्रुड फ्युचर्स सोमबार बिहान ०४ः३० जीएमटी सम्म ६.९६ डलर (७.३ प्रतिशत) ले बढेर प्रति ब्यारल १०२.१६ डलर पुगेको छ । अघिल्लो सत्रमा १.३३ प्रतिशतले घटेको अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट ८.१२ डलर (८.४ प्रतिशत) ले बढेर प्रति ब्यारल १०४.६९ डलर पुगेको छ ।

एमएस्टी मार्की नामक संस्थाका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिकले भने, ‘बजार अहिले मुख्यतया युद्धविराम अघिको अवस्थामा फर्किएको छ तर अब अमेरिकाले हर्मुज जलयोजकबाट हुने बाँकी दैनिक करिब २० लाख ब्यारल इरानसँग सम्बन्धित प्रवाहलाई पनि रोक्नेछ ।’

राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार अमेरिकी जलसेनाले हर्मुज जलयोजकमा नाकाबन्दी सुरु गर्ने बताएका छन् । इरानसँगको लामो वार्ताले युद्ध अन्त्यको सम्झौता गर्न नसकेपछि उनले यो कदम चालेका हुन् । यसले दुई हप्ताको नाजुक युद्धविरामलाई जोखिममा पारेको छ ।

उनले नोभेम्बरको मध्यावधि चुनावसम्म तेल र ग्यासको मूल्य उच्च रहन सक्ने बताए । ६ हप्ताअघि इरानमाथि आक्रमण गर्ने उनको निर्णयबाट हुन सक्ने सम्भावित राजनीतिक प्रभावको यो एक दुर्लभ स्वीकारोक्ति थियो ।

फिलिप नोभाकी वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवाले भनिन्, ‘नाकाबन्दी लागू गर्ने धम्की मात्रै जोखिमको पुनर्मूल्यांकन गर्न पर्याप्त भएको छ जसले भूराजनीतिक घटनाहरूप्रति तेल कति संवेदनशील छ भन्ने देखाउँछ ।’

‘मूल्य फेरि तीन अंक (१०० डलर माथि) मा पुग्नु वा युद्धविरामका खबरहरूले केही समयका लागि हराएको भूराजनीतिक जोखिम प्रिमियममा भएको वृद्धि न्यायोचित देखिन्छ,’ सचदेवाले थपिन् ।

अमेरिकी सेन्ट्रल कमान्डले सोमबार बिहान १० बजे ईटी (नेपाली समयअनुसार सोमबार साँझ) देखि इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिरिने सबै सामुद्रिक आवतजावतमा नाकाबन्दी लागू गर्न सुरु गर्ने बताएको छ ।

एक्समा सेन्ट्रल कमान्डले जारी गरेको विज्ञप्ति अनुसार, ‘यो नाकाबन्दी इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा बाहिरिने सबै राष्ट्रका जहाजहरू विरुद्ध निष्पक्ष रूपमा लागू गरिनेछ जसमा अरबी खाडी र ओमानको खाडीका सबै इरानी बन्दरगाहहरू समावेश छन् ।’

अमेरिकी सेनाले गैर–इरानी बन्दरगाहहरूमा आउने–जाने र हर्मुज जलयोजक पार गर्ने जहाजहरूको स्वतन्त्र आवागमनमा भने कुनै अवरोध नगर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

आईजी बजार विश्लेषक टोनी साइकामोरले बताएअनुसार, यस कदमले इरानी तेलको प्रवाहलाई प्रभावकारी रूपमा रोक्नेछ । यसले तेहरानका सहयोगी र ग्राहकहरूलाई जलमार्ग पुनः खोलाउन आवश्यक दबाब दिन बाध्य पार्नेछ ।

इरानको रिभोलुसनरी गार्ड्सले हर्मज जलयोजक नजिक पुग्न खोज्ने कुनै पनि सैन्य जहाजलाई दुई हप्ताको अमेरिकी युद्धविरामको उल्लंघन मानिने र त्यसको कडा एवं निर्णायक जवाफ दिइने आइतबार बताएको छ ।

गतिरोधका बावजुद तेलले भरिएका तीनवटा सुपरट्यांकरहरू शनिबार हर्मुज जलयोजक हुँदै पार भएका थिए । ढुवानी तथ्यांक अनुसार, गत साता युद्धविराम सम्झौता भएपछि खाडीबाट बाहिरिने यी पहिलो जहाजहरू थिए ।

एलएसईजीको ढुवानी तथ्यांक अनुसार, इरानमाथि अमेरिकी नाकाबन्दी हुनुअघि नै तेल ट्यांकरहरू हर्मुज जलयोजकबाट टाढा रहन थालेका छन् ।

आइतबार साउदी अरबले इरान द्वन्द्वका क्रममा भएका आक्रमणबाट आफ्नो ऊर्जा क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन गरेपछि, इस्ट–वेस्ट पाइपलाइनमार्फत दैनिक करिब ७० लाख ब्यारेल तेल पम्प गर्ने पूर्ण क्षमता पुनः स्थापना भएको जनाएको छ ।