
काठमाडौं । ६ हप्ता लामो युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने तय भएको छ।
यद्यपि, लेबनानमा जारी द्वन्द्व र आर्थिक प्रतिबन्धहरूका विषयमा ठोस प्रतिबद्धता नआएसम्म वार्ता सुरु हुन नसक्ने इरानले बताएपछि वार्ताको भविष्यलाई लिएर अन्यौल सिर्जना भएको छ।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरिरहेका छन्, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र ज्वाइँ जारेड कुश्नर समेत सहभागी छन्।
यो टोली पेरिसमा इन्धन भरेर इस्लामावादतर्फ प्रस्थान गरिसकेको छ। इरानी टोलीको नेतृत्व भने संसदका सभामुख मोहम्मद बकर कालिबाफ र विदेशमन्त्री अब्बास अराक्चीले गरेका छन्, जो शुक्रबार नै इस्लामावाद पुगिसकेका छन्।
इरानसँग कुनै ‘कार्ड’ छैन : ट्रम्प
इरानी सभामुख कालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वासिङ्टनले यसअघि नै इरानी सम्पत्ति फुकुवा गर्न र लेबनानमा युद्धविरामका लागि सहमति जनाएको दाबी गरेका छन्।
लेबनानमा इजरायली आक्रमणबाट करिब २,००० व्यक्तिको मृत्यु भइसकेको छ। कालिबाफले ती प्रतिबद्धताहरू पूरा नभएसम्म वार्ता सुरु नहुने अडान राखेका छन्।
यता, अमेरिका र इजरायलले लेबनानको अभियान अमेरिका–इरान युद्धविरामको हिस्सा नभएको बताउँदै आएका छन्, जबकि इरानले यसलाई अनिवार्य सर्त बनाएको छ।
ह्वाइट हाउसले इरानी मागबारे तत्काल कुनै टिप्पणी गरेको छैन। तर, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै इरानीहरू केवल ‘सम्झौताका लागि मात्र जीवित रहेको’ बताएका छन्।
उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरेर विश्वलाई थोरै समयका लागि धम्क्याउनु बाहेक इरानीहरूसँग कुनै बलियो आधार (कार्ड) छैन भन्ने उनीहरूले बुझेका छैनन्।’
उपराष्ट्रपति जेडी भेन्सले पनि इरानले वार्तामा खेल्न खोजे आफूहरू कठोर हुने चेतावनी दिएका छन्।
सुरक्षाको कडा प्रबन्ध
शान्ति वार्ताको पूर्वसन्ध्यामा इस्लामावादमा अभूतपूर्व सुरक्षा सतर्कता अपनाइएको छ।
हजारौंको संख्यामा अर्धसैनिक र सेनाका जवानहरू सडकमा उतारिएका छन्। पाकिस्तानका कनिष्ठ आन्तरिक मन्त्री तलाल चौधरीले शून्य अवरोध र पूर्ण नियन्त्रणका लागि बहु–तहको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन्।
लेबनानमा संघर्ष जारी
ट्रम्पले गत मंगलबार दुई हप्ताको युद्धविराम घोषणा गरेपछि इरानमाथि हुने अमेरिकी र इजरायली हवाई हमला रोकिएका छन्। तर, इरानले स्ट्रेट अफ हर्मुजमा गरेको नाकाबन्दी अझै जारी छ, जसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो अवरोध पुगेको छ।
लेबनानमा भने इजरायली आक्रमण रोकिएको छैन। शुक्रबार दक्षिण लेबनानमा भएको आक्रमणमा १३ जना सुरक्षाकर्मी मारिएका छन्। जवाफमा हिजबुल्लाहले पनि उत्तरी इजरायली सहरहरूमा रकेट प्रहार गरेको छ।
इरानको अडान र चुनौती
इरानले वार्ताका लागि वर्षौंदेखि आफ्नो अर्थतन्त्रलाई तहसनहस पारेका प्रतिबन्धहरू हटाउनुपर्ने र स्ट्रेट अफ हर्मुजमा आफ्नो अधिकार स्वीकार गर्नुपर्ने माग राखेको छ।
यसैबीच, इरानका नयाँ सर्वोच्च नेता आयतुललाह मोज्तबा खामेनीले युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति माग्दै आक्रामक सन्देश दिएका छन्।
उनले भनेका छन्, ‘हाम्रो देशमाथि आक्रमण गर्ने अपराधीहरूलाई हामी सजाय नदिई छाड्ने छैनौं।’
ट्रम्पले विजयको दाबी गरे पनि युद्धका मुख्य उद्देश्यहरू इरानको आणविक कार्यक्रम ध्वस्त पार्ने र सैन्य क्षमता कमजोर बनाउने, पूर्ण रूपमा सफल भएको देखिँदैन। इरानसँग अझै पनि छिमेकी देशहरूमा प्रहार गर्न सक्ने मिसाइल र ड्रोनहरूका साथै बम बनाउन पर्याप्त युरेनियमको भण्डार सुरक्षित छ।
रोयटर्सको सहयोगमा








प्रतिक्रिया