रुस र युक्रेनबीच अर्थोडक्स ईस्टरका अवधिमा ३२ घण्टे युद्धविरामको घोषणा

133
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अर्थोडक्स ईस्टरका लागि ३२ घण्टाको युद्धविराम घोषणा गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको सम्मान गर्ने पुष्टि गरेका छन् ।

क्रेमलिनले जानकारी दिएअनुसार, शनिबार मस्को समय अनुसार दिउँसो ४ बजेदेखि सुरु हुने यो युद्धविराम आइतबार मध्यरातसम्म चल्नेछ जसले दुवै देशमा मनाइने ईस्टर उत्सवलाई समेट्नेछ ।

‘युक्रेनी पक्षले पनि रुसी महासंघको उदाहरण पछ्याउनेछ भन्ने आधारमा हामी अघि बढेका छौं,’ क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ ।

रक्षामन्त्री आन्द्रेई बेलोसोभले यस अवधिमा सैन्य कारबाही रोक्न जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभलाई निर्देशन दिएको यसमा थपिएको छ । यद्यपि, रुसी सेनाले कुनै पनि उल्लंघनको जवाफ दिन तयार रहने बताएको छ ।

युक्रेनले पहिले नै यस्तै युद्धविरामको प्रस्ताव गरेको र सोही अनुसार व्यवहार गर्ने जेलेन्स्कीले बताएका छन् ।

‘युक्रेनले बारम्बार भन्दै आएको छ, हामी पारस्परिक कदमका लागि तयार छौं । हामीले यस वर्षको ईस्टर बिदाको समयमा युद्धविरामको प्रस्ताव गरेका थियौँ र सोही अनुसार काम गर्नेछौं,’ उनले टेलिग्राममा लेखेका छन् ।

‘मानिसहरूलाई धम्कीबिनाको इस्टर र शान्तितर्फको वास्तविक कदम आवश्यक छ र रुससँग ईस्टर पछि पनि आक्रमणमा नफर्कने अवसर छ ।’

यस घोषणाको केही घण्टापछि निप्रोपेत्रोभ्स्क क्षेत्रका गभर्नरले रुसी तोप र हवाई आक्रमणमा दुईजनाको मृत्यु भएको बताएका छन् ।

‘शत्रुले यस क्षेत्रका तीन जिल्लामा ड्रोन र तोपबाट करिब ३० पटक आक्रमण गरेका छन्,’ ओलेक्सान्डर गान्झाले शुक्रबार टेलिग्राममा भनेका छन् ।

यस साताको अन्त्यका लागि योजना गरिएको युद्धविरामले गत वर्ष मस्कोले घोषणा गरेको यस्तै अल्पकालीन युद्धविरामको सम्झना दिलाउँछ जसमा दुवै पक्षले एकअर्कालाई उल्लंघनको आरोप लगाएका थिए ।

युद्ध अन्त्य गर्ने व्यापक कूटनीतिक प्रयासहरू ठप्प भइरहेका बेला यो युद्धविराम भएको हो जबकि वाशिङटनको ध्यान मध्यपूर्वमा बढ्दो तनावतर्फ मोडिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले इस्टर सम्बन्धी प्रस्तावका बारेमा अमेरिकासँग अग्रिम छलफल नगरेको र यसले त्रिपक्षीय शान्ति वार्ताको तत्काल पुनरुत्थानको कुनै संकेत पनि नगरेको बताएका छन् ।

सीमित युद्धविरामका बाबजुद दुई पक्षबीचको मानवीय माध्यमहरू अझै सक्रिय छन् । मस्कोबाट बोल्दै अल जजीराकी युलिया शापोभालोभाले रुस र युक्रेनले हालै सैनिकहरूको शव आदानप्रदान गरेको जानकारी दिएकी छन् ।

‘मस्कोले ४१ जना रुसी सैनिकको शवको बदलामा १ हजार युक्रेनी सैनिकको अवशेष किभलाई हस्तान्तरण गरेको छ,’ उनले भनिन् ।

उनले थप भनिन्, ‘यस वर्ष नियमित आदानप्रदानका क्रममा ५०० भन्दा बढी रुसी सैनिकको शव फिर्ता गरिएको छ भने १९,००० भन्दा बढी युक्रेनी सैनिकको अवशेष किभ फिर्ता गरिएको छ ।’

टर्कीद्वारा मध्यस्थता गरिने यी आदानप्रदानहरू आवधिक कैदी साटासाटसँगै युद्धरत पक्षहरूबीच सञ्चारका केही सीमित सक्रिय माध्यमहरूमध्ये एक हुन् ।

जेलेन्स्कीले ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्नेसहित अस्थायी युद्धविरामका लागि बारम्बार दबाब दिँदै आएका छन् तर मस्कोले ती प्रस्तावहरूलाई धेरै हदसम्म अस्वीकार गरेको उनले बताएका छन् । युक्रेनले अहिले रणभूमि र अन्तर्राष्ट्रिय साझेदारहरू दुवै तर्फबाट बढ्दो दबाबको सामना गरिरहेको उनले थपे ।

‘यो वसन्त–ग्रीष्म अवधि राजनीतिक र कूटनीतिक रूपमा निकै कठिन हुनेछ । युक्रेनमाथि दबाब हुन सक्छ,’ जेलेन्स्कीले भने, ‘रणभूमिमा पनि दबाब हुनेछ ।’

किभले रुसको निरन्तर आक्रमण र आफ्ना सहयोगीहरूबीच परिवर्तन हुँदै गएको भूराजनीतिक प्राथमिकता दुवैको सामना गरिरहेकाले आगामी महिनाहरू निर्णायक हुन सक्ने उनले चेतावनी दिए ।

‘मलाई लाग्छ– सेप्टेम्बरसम्म हाम्रा लागि निकै कठिन हुनेछ ।’