
एजेन्सी । नेटो सहयोगीहरूले हर्मज जलयोजकको सुरक्षामा सहयोग गर्न असफल भएकोमा र ग्रीनल्यान्ड प्राप्त गर्ने आफ्नो योजना अगाडि नबढेकोमा आक्रोशित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपबाट केही अमेरिकी सैनिकहरू हटाउने विकल्पबारे आफ्ना सल्लाहकारहरूसँग छलफल गरेका छन् । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले बिहीबार रोयटर्सलाई यसबारे जानकारी दिएका हुन् ।
आन्तरिक छलफलका बारेमा कुरा गर्न नाम नछाप्ने शर्तमा ती अधिकारीले यसबारे हालसम्म कुनै निर्णय नभइसकेको र ह्वाइट हाउसले पेन्टागनलाई युरोपमा सेना कटौतीको लागि कुनै ठोस योजना बनाउन निर्देशन पनि नदिएको बताए ।
तर, यस छलफलले नै वाशिङटन र यसका युरोपेली नेटो सहयोगीहरूबीचको सम्बन्ध हालका महिनाहरूमा कति तीव्रताका साथ बिग्रिएको छ भन्ने कुरालाई उजागर गर्छ । यसले बुधबार नेटोका महासचिव मार्क रुटको ह्वाइट हाउस भ्रमणले पनि ट्रान्सएट्लान्टिक सम्बन्धमा खासै सुधार ल्याउन नसकेको संकेत गर्छ जुन सम्बन्ध सम्भवतः सन् १९४९ मा नेटो स्थापना भएयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।
ट्रम्पले गठबन्धनबाटै पूर्ण रूपमा बाहिरिने विचार गरिरहेको ह्वाइट हाउसले सार्वजनिक रूपमा बताएको छ । युरोपबाट सेना हटाउँदा ट्रम्पलाई औपचारिक रूपमा बाहिर ननिस्की महादेशमा वाशिङटनको सुरक्षा प्रतिबद्धताहरू नाटकीय रूपमा कम गर्न अनुमति दिनेछ जुन कदमले संवैधानिक कानुनको पनि परीक्षण गर्नेछ ।
हाल युरोपमा ८० हजारभन्दा बढी अमेरिकी सैनिकहरू छन् र दोस्रो विश्वयुद्धदेखि युरोपको सुरक्षा संरचनामा अमेरिकाले केन्द्रीय भूमिका निर्वाह गर्दै आएको छ । तीमध्ये ३० हजारभन्दा बढी सैनिकहरू जर्मनीमा छन् भने इटली, बेलायत र स्पेनमा पनि उल्लेख्य संख्यामा सैनिकहरू तैनाथ छन् ।
ट्रम्पले यस विचारलाई अगाडि बढाउने निर्णय गरेमा कुन देशहरू प्रभावित हुन सक्छन् वा कति सैनिकहरू अन्त्यमा फिर्ता हुन सक्छन् भन्ने बारे ती अधिकारीले केही खुलाएनन् ।
यसबारे टिप्पणी माग्दा नेटोका प्रवक्ताले रोयटर्सलाई बुधबार सीएनएनसँगको रुटको अन्तर्वार्ता हेर्न आग्रह गरे । उक्त अन्तर्वार्तामा रुटले गठबन्धनप्रति ट्रम्पको निराशा आफूले बुझेको तर बहुसंख्यक युरोपेली राष्ट्रहरू इरानमा वाशिसङटनको युद्ध प्रयासमा सहयोगी रहेको बताएका थिए ।
ट्रम्पसँगको भेटपछि महासचिवले युरोपेली सरकारहरूलाई ट्रम्पले केही दिनभित्रै हर्मुज जलयोजकको सुरक्षामा सहयोग गर्न ठोस प्रतिबद्धता चाहेको जानकारी गराएको रोयटर्सले बिहीबार नै उल्लेख गरेको थियो ।
ट्रम्पको नेटोसँग लामो समयदेखि उतारचढावपूर्ण सम्बन्ध रहे पनि र उनले वर्षौंदेखि युरोपेली मुलुकहरूलाई रक्षा खर्चमा कञ्जुसी गरेको आरोप लगाउँदै आए पनि पछिल्लो तीन महिना विशेषगरी कठिन रहेको छ ।
जनवरीमा ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्डलाई गाभ्ने आफ्नो पुरानो धम्कीलाई नवीकरण गरेर ट्रान्सएट्लान्टिक संकट उत्पन्न गरेका थिए । फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएदेखि नेटो सहयोगीहरूले हर्मज जलयोजक पुनः खोल्न सहयोगको प्रस्ताव नगरेकोमा उनले गहिरो निराशा व्यक्त गरेका छन् ।
विश्वव्यापी ऊर्जा आपूर्तिका लागि यो एक महत्त्वपूर्ण मार्ग हो जुन यस हप्ता घोषित कमजोर युद्धविरामका बावजुद धेरै हदसम्म बन्द छ ।
नेटोका कूटनीतिकर्मीहरूले यसअघि नै अमेरिकाले हर्मुज जलयोजकमा कुनै पनि मिसन द्वन्द्वको समयमा वा पछि सुरु हुने अपेक्षा गरेको हो कि होइन भन्ने स्पष्ट पारेको छैन । साथै, अमेरिकाले प्रत्येक नेटो देशबाट कस्तो विशेष क्षमताको अपेक्षा गरेको छ भन्ने पनि खुलाएको छैन ।
द वाल स्ट्रीट जर्नलले बुधबार रिपोर्ट गरे अनुसार, प्रशासनका वरिष्ठ अधिकारीहरूले इरानसँगको अमेरिका–इजरायली युद्धको आलोचना गर्ने देशहरूबाट सेना हटाएर समर्थन गर्ने युरोपेली देशहरूमा सार्ने विषयमा छलफल गरिरहेका थिए ।
यद्यपि, ह्वाइट हाउसका अधिकारीले रोयटर्सलाई बताएअनुसार ट्रम्पले सेनालाई अन्य विदेशी मुलुकमा सार्नुको सट्टा विशेषगरी अमेरिका नै फिर्ता ल्याउने विषयमा छलफल गरिरहेका छन् । अधिकारीका अनुसार, ट्रम्प ग्रीनल्यान्ड प्राप्त गर्ने आफ्नो प्रयासलाई युरोपले बेवास्ता गरेकोमा विशेष रूपमा आक्रोशित छन् ।
जनवरीमा स्विट्जरल्यान्डमा रुटसँगको भेटपछि ट्रम्पले डेनिस क्षेत्रको विवाद अन्त्यका लागि सम्झौता हुन लागेको संकेत दिएका थिए । तर, त्यस्तो कुनै सम्झौता सफल हुन सकेको छैन ।
‘हामी डाभोसमा हुँदा उनले नेटोलाई विशेषगरी एउटा योजना ल्याउन आग्रह गरेका थिए तर तिनीहरूले यसलाई गम्भीरतापूर्वक लिइरहेका छैनन्,’ अधिकारीले भने ।








प्रतिक्रिया