इरानले लेबननको हिज्बुल्लाहलाई अलपत्र छोडिदिएको हो ?

231
Shares


एजेन्सी । अमेरिका र इरानबीचको युद्धविराम घोषणा भएको एक दिन नबित्दै लेबननमा इजरायलीहरूको व्यापक आक्रमणले इस्लामाबादमा हुने भनिएको वार्तामा तत्काल अनिश्चितता थपिदिएको छ । तेहरानको दृष्टिकोणमा लेबननलाई समावेश नगर्ने कुनै पनि युद्धविराम मौलिक रूपमै अपूर्ण र अस्वीकार्य छ ।

पाकिस्तानी मध्यस्थतामार्फत भएका समझदारीका आधारमा युद्धविराम क्षेत्रीय स्तरको हुनुपर्ने थियो भनी इरानी अधिकारीहरूले लगातार जोड दिँदै आएका छन् । त्यसैले लेबननलाई बाहिर राख्नुलाई प्राविधिक त्रुटि नभई रणनीतिक राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ ।

तेहरानको बुझाइमा यस परिवर्तनले बेन्जामिन नेतन्याहूसँगको परामर्शपछि इजरायली प्राथमिकताहरूसँग अझ नजिकबाट जोडिने डोनल्ड ट्रम्पको योजनाबद्ध निर्णयलाई झल्काउँछ ।

यसले इरानको लामो समयदेखिको चिन्तालाई पुनः पुष्टि गरेको छ । अर्थात्, अमेरिकी प्रतिबद्धताहरूको अविश्वसनीयता । यस्तो परिस्थितिमा वार्तामा सहभागी हुनुलाई रणनीतिक रूपमा जोखिमपूर्ण र राजनीतिक रूपमा महँगो मानिएको छ ।

साथै, इरानले एक कडा लक्ष्मणरेखा कोरेको छ । हिजबुल्लाह विरुद्ध इजरायली आक्रमण जारी रहुन्जेल वार्तामा सहभागी नहुने भनी उसले स्पष्ट पारेको छ । आक्रमणको गतिमा कमी आउनु मात्र पर्याप्त छैन, तेहरानले पूर्ण विरामको माग गरिरहेको छ ।

यस अडानले इरानको कार्यक्षमतालाई सीमित गर्ने क्षेत्रीय र आन्तरिक गहिरो संरचनात्मक दबाबहरूलाई प्रतिबिम्बित गर्छ ।
इरानमा विश्लेषकहरूले यस परिस्थितिलाई वाशिङटन र तेल अभिभले इरानलाई हार–हार (दुवै तर्फबाट घाटा हुने) को स्थितिमा धकेल्न बनाएको एक सचेत रणनीतिको रूपमा व्याख्या गरिरहेका छन् ।

इरानले इजरायली कार्यको जवाफमा सैन्य उत्तेजना बढाएमा उसले विशेषगरी आन्तरिक रूपमा युद्धविराम तोडेको आरोप खेप्नुपर्ने जोखिम रहन्छ । युद्धप्रति जनतामा व्याप्त थकाइ र वितृष्णालाई हेर्दा यो विषय विशेष संवेदनशील छ ।

इरानी जनसंख्याको ठूलो हिस्सा शासनको कट्टर समर्थक नहुन पनि सक्छन् । उनीहरूले युद्धविरामलाई स्थिरताको मार्गको रूपमा स्वागत गरेका थिए । त्यसैले पुनः तनाव बढेमा जनआक्रोश निम्तिन सक्छ ।

सरकारले आन्तरिक प्राथमिकताहरूलाई बेवास्ता गर्दै क्षेत्रीय द्वन्द्वहरू, विशेषगरी लेबनन र गाजामा, ठूलो लगानी गरिरहेको भनी धेरै इरानीहरूमा रहेको यस धारणाले स्थितिलाई अझ जटिल बनाएको छ ।

यस्तो सन्दर्भमा इरानको कुनै पनि सैन्य प्रतिक्रियालाई आन्तरिक रूपमा राष्ट्रिय रक्षाका रूपमा नभई बाह्य पक्षहरूको तर्फबाट लडिएको युद्धको रूपमा हेरिन सक्छ । यो यस्तो व्याख्या हो जसले गम्भीर राजनीतिक जोखिमहरू बोकेको छ ।

साथै, संयम अपनाउनु पनि मूल्यहीन छैन । प्रतिक्रिया नदिँदा इस्लामिक गणतन्त्रको मुख्य वैचारिक आधार टाढिने जोखिम रहन्छ । त्यसमा हिजबुल्लाहप्रति ठूलो सहानुभूति छ र त्यसले ठोस कदमको अपेक्षा गर्छ ।

यी समूहहरू संख्यामा साना भए पनि अत्यधिक संगठित र राजनीतिक रूपमा महत्त्वपूर्ण छन् । निष्क्रियताप्रति उनीहरूको असन्तुष्टि अहिल्यै देखिन थालिसकेको छ ।

परिणामस्वरूप, तेहरान दुई प्रतिस्पर्धी आन्तरिक दबाबहरूबीच संघर्ष गरिरहेको छः एकातिर युद्धबाट थकित जनता र अर्कोतिर सक्रिय वैचारिक आधार ।

इरानको वर्तमान दृष्टिकोणले यी दबाबहरूलाई सन्तुलनमा राख्ने प्रयासलाई झल्काउँछ । प्रत्यक्ष रूपमा तनाव बढाउनुको सट्टा उसले कूटनीतिक सक्रियता र अप्रत्यक्ष दबाबका उपायहरूलाई सँगसँगै अघि बढाइरहेको छ ।

कूटनीतिक मोर्चामा विदेशमन्त्री अब्बास अराग्चीले क्षेत्रीय र युरोपेली समकक्षीहरूसँग कुराकानी गर्दै एक व्यापक, क्षेत्रव्यापी युद्धविरामको आवश्यकतामा जोड दिएका छन् ।

साथै, इरानले इजरायल विरुद्ध प्रत्यक्ष सैन्य मुठभेडलाई टार्दै आफ्नो सबैभन्दा महत्त्वपूर्ण दबाबको विन्दु अर्थात् हर्मुज जलयोजक तर्फ ध्यान मोडेको छ । अमेरिकालाई इजरायलमाथि नियन्त्रण गर्न बाध्य पार्नु यसको उद्देश्य हो ।

युद्धविरामपछि समुद्री यातायात सामान्य हुने अपेक्षा गरिए पनि हिजोदेखि थोरै संख्यामा मात्र जहाजहरू आवतजावत गरेका छन् जसले दबाब कायम राख्ने योजनाबद्ध प्रयासलाई संकेत गर्छ ।

केही इरानी विश्लेषकहरूको दृष्टिकोणमा आर्थिक र समुद्री दबाबको यो रूप मिसाइल आक्रमण भन्दा रणनीतिक रूपमा बढी मूल्यवान छ । इजरायल विरुद्ध सीमित मिसाइल आक्रमणले एक्यबद्धता जनाउने बाहेक केही हासिल नहुने र उल्टै इजरायलको पक्षमा फाइदा पुग्न सक्ने धारणा बढ्दो छ ।

इजरायलले वास्तवमा तनाव जारी नै रहोस् भन्ने चाहना राख्न सक्छ र इरानी आक्रमणहरू सहन सक्ने उसको क्षमताले इरानको लामो दूरीको मिसाइल प्रतिरोधात्मक क्षमताको सीमालाई उजागर गरिदिएको छ भन्ने तर्क गरिएको छ । यसले इरानभित्रको बहसलाई मोडिदिएको छ । अब प्रश्न जवाफ दिने कि नदिने भन्दा पनि कसरी दिने भन्ने हो ।

इरानले अमेरिकासँगको युद्धविरामलाई कायम राख्दै इजरायल विरुद्ध प्रत्यक्ष आक्रमण पुनः सुरु गर्न सक्छ जसले गर्दा यी दुई मोर्चाहरूलाई प्रभावकारी रूपमा अलग राख्न सकिन्छ भनी एउटा समूहले तर्क गर्छ ।

यस परिदृश्यमा वाशिङटन वास्तवमै तनाव कम गर्न इच्छुक छ भने उसले इरान–इजरायल बीचको सीमित मुठभेडलाई सहन सक्छ जसले वार्तालाई पनि समानान्तर रूपमा अघि बढ्न दिनेछ । यसका समर्थकहरू यसलाई लाभदायक ठान्छन् किनकि यसले अमेरिकालाई किनारा लगाउनेछ र इरानलाई इजरायलसँग सिधै भिड्ने अवसर दिनेछ ।

विपक्षी समूह भने बढी शंकालु छ । अमेरिका प्रत्यक्ष सैन्य आक्रमणमा सहभागी नभए पनि वाशिङटनले इजरायललाई सैन्य व्यवस्थापन, रक्षात्मक र गुप्तचरी सहयोग जारी राख्ने उनीहरू तर्क गर्छन् । यस दृष्टिकोणबाट अमेरिका पूर्ण रूपमा अलग रहने कुरा धेरै हदसम्म भ्रम मात्र हो ।

यसबाहेक द्वन्द्वलाई इरान र इजरायलमा मात्र सीमित गर्दा इरानको रणनीतिक लचकता कम हुनेछ । तेहरानको सबैभन्दा प्रभावकारी दबाबको आधार भनेको इजरायल मात्र नभई क्षेत्रभरिका अमेरिकी स्वार्थहरूलाई निशाना बनाउन सक्ने क्षमता हो ।
यसले एक गम्भीर रणनीतिक दुविधा पैदा गरेको छः कि त अमेरिकी स्वार्थहरू सहित व्यापक रूपमा तनाव बढाउने कि त युद्धविराम कायम राख्दै कूटनीति पछ्याउने ।

यी तत्कालका रणनीतिक बहसहरू बाहेक इरानी विश्लेषकहरू दुईवटा व्यापक रणनीतिक चिन्ताहरूमा केन्द्रित छन् ।
पहिलो, प्रतिष्ठाको विषय हो । हिजबुल्लाहलाई समर्थन गर्न असफल हुँदा इरानको क्षेत्रीय सञ्जालको आधार स्तम्भको रूपमा रहेको आपसी सहयोगको सिद्धान्त कमजोर हुने जोखिम रहन्छ ।

तेहरानले कुनै कदम चालेन भने, इराक, यमन र अन्य ठाउँका सहयोगीहरूले इरानलाई समर्थन गरेबापत आफूले पनि त्यस्तै सहयोग पाउँछौं कि पाउँदैनौं भनेर प्रश्न गर्न थाल्नेछन् । यस्तो परिवर्तनले इरानको प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्नेछ र प्रतिरोधको अक्षमा उसको प्रभावलाई कम गर्नेछ ।

दोस्रो चिन्ता संरचनात्मक होः क्षेत्रमा भविष्यको शक्ति सन्तुलन ।

इरानले वर्तमान समयलाई विशेषगरी पर्सियाली खाडीमा आफ्नो प्रभावमार्फत त्यो सन्तुलनलाई पुनः आकार दिने दुर्लभ अवसरको रूपमा हेरेको देखिन्छ ।

यस दृष्टिकोणबाट लेबननमा जारी इजरायली सैन्य कारबाहीहरू युद्धकौशल मात्र नभई इरानको क्षेत्रीय सञ्जाललाई विखण्डन गर्ने उद्देश्यले गरिएका रणनीतिक कदमहरू हुन् ।

हिजबुल्लाह जस्ता व्यक्तिगत एकाइहरूलाई एक्लो पारेर र दबाब दिएर इजरायलले समन्वयात्मक र बहु–पक्षीय जवाफहरू रोक्न खोजिरहेको हुन सक्छ । समय बित्दै जाँदा यसले यस्तो नयाँ रणनीतिक वास्तविकता सिर्जना गर्न सक्छ जहाँ इरानका सहयोगीहरू क्रमशः कमजोर हुँदै जानेछन् र तेहरान आफैं थप असुरक्षित हुनेछ ।

यसको विपरीत इरानको उद्देश्य आफ्नो सामूहिक प्रतिरोधात्मक मोडललाई जोगाउनु हो जसमा कुनै एक पक्षमाथिको आक्रमणले व्यापक क्षेत्रीय प्रतिक्रिया निम्त्याउनु पर्छ ।

यही तर्कले युद्धविराममा लेबननलाई समावेश गराउन तेहरानको अडानलाई स्पष्ट पार्छ । इरानका लागि यो कुनै गौण विषय नभई आफ्नो क्षेत्रीय संरचना जोगाउन केन्द्रीय महत्त्वको विषय हो ।

अन्ततः, वर्तमान संकटलाई तेहरानमा एक रणनीतिक चुनौती र एक महत्त्वपूर्ण मोड दुवैको रूपमा व्याख्या गरिँदैछ ।

इरानले यस घडीलाई कसरी अगाडि बढाउँछ ? आन्तरिक दबाब, गठबन्धनप्रतिको प्रतिबद्धता र शक्ति राष्ट्रहरू बीचको समीकरणलाई कसरी सन्तुलनमा राख्छ ? यसले वार्ताको भविष्यलाई मात्र नभई सम्भवतः भविष्यको क्षेत्रीय व्यवस्थाको रूपरेखालाई पनि निर्धारण गर्नेछ ।