
एजेन्सी । च्याटजीपीटीको माउ कम्पनी ओपनएआईले उन्नत साइबर सुरक्षा क्षमता भएको एउटा नयाँ एआई मोडललाई अन्तिम रूप दिँदैछ । यसलाई कम्पनीले केही सीमित कम्पनीहरूका लागि मात्र उपलब्ध गराउने योजना बनाएको छ ।
एक्सियोसका अनुसार, यो कदम एन्थ्रोपिक कम्पनीले हालै चालेको मिथोस मोडलको सीमित सार्वजनिकीकरण जस्तै छ ।
एआईको स्वायत्तता र ह्याकिङ क्षमता अहिले यस्तो बिन्दुमा पुगेको छ जहाँबाट गम्भीर सुरक्षा चुनौतीहरू उत्पन्न हुन सक्छन् । एआई निर्माताहरू आफ्नै उपकरणले निम्त्याउन सक्ने सम्भावित विध्वंसबाट धेरै डराएकाले उनीहरू यी शक्तिशाली मोडलहरूलाई खुला रूपमा सार्वजनिक गर्न हिचकिचाइरहेका छन् ।
एन्थ्रोपिकले मंगलबार आफ्नो नयाँ मिथोस प्रिभ्यु मोडलको पहुँच प्रविधि र साइबर सुरक्षा क्षेत्रका केही चुनिएका कम्पनीहरूमा मात्र सीमित राख्ने घोषणा गरेको थियो । यस्तो गर्ने यो पहिलो एआई कम्पनी बनेको थियो । अब ओपनएआईले पनि त्यस्तै दृष्टिकोण अपनाउने तयारी गरिरहेको छ ।
ओपनएआईले फेब्रुअरी महिनामा आफ्नो सबैभन्दा शक्तिशाली साइबर–सक्षम मोडेल जीपीटी–५.३–कोडेक्स सार्वजनिक गरेपछि ट्रस्टेड एक्सेस फर साइबर नामक पाइलट प्रोग्राम सुरु गरेको थियो । यस कार्यक्रममा आमन्त्रित संस्थाहरूलाई वैधानिक सुरक्षात्मक कार्यहरू गर्नका लागि अझ बढी शक्तिशाली मोडलहरूमा पहुँच दिइन्छ ।
यस्ता एआई मोडेलहरू गलत हातमा परेमा तिनले स्वायत्त रूपमा खानेपानी आपूर्ति, विद्युत् प्रणाली वा वित्तीय प्रणालीहरूलाई ठप्प पार्न सक्छन् भनी पूर्व सरकारी अधिकारी र सुरक्षा विज्ञहरूले विगत एक वर्षदेखि चेतावनी दिँदै आएका छन् । अब यस्तो क्षमता भएका मोडलहरू वास्तविकतामा आइसकेका देखिन्छन् ।
एआई कम्पनीहरूले आफ्ना मोडलहरूलाई सीमित पहुँचमा राखे पनि सुरक्षा विज्ञहरूका अनुसार अब पछि हट्ने बाटो छैन । सान्स इन्स्टिच्युटका प्रमुख एआई अधिकारी रब टी. ली भन्छन्, ‘तपाईं एआई मोडलहरूलाई कोडको कमजोरी पत्ता लगाउनबाट रोक्न सक्नुहुन्न । यो क्षमता अहिले नै अस्तित्वमा छ ।’
प्यालो अल्टो नेटवर्ककी वेन्डी ह्विटमोर केही हप्ता वा महिनाभित्रै बजारमा यस्तै क्षमता भएका अन्य खुला मोडलहरू देखापर्ने निश्चित छ । क्राउडस्ट्राइकका एडम मेयर्सले मिथोसको क्षमतालाई पूरै उद्योगका लागि चेतावनीको घण्टी भनेका छन् ।
नयाँ एआई मोडलहरूको सार्वजनिकीकरणलाई चरणबद्ध बनाउनु अहिलेको आवश्यकता देखिएको छ । एन्थ्रोपिकले मिथोस प्रिभ्युलाई कहिल्यै पनि सर्वसाधारणका लागि उपलब्ध नगराउने बताएको छ जबकि ओपनएआईले आफ्नो आगामी मोडललाई पछि गएर व्यापक रूपमा सार्वजनिक गर्नेछ वा छैन भन्ने स्पष्ट छैन ।
तर, अनुसन्धाताहरूका अनुसार अहिले बजारमा उपलब्ध सार्वजनिक एआई मोडलहरू पनि धेरैजसो सफ्टवेयरका कमजोरीहरू पत्ता लगाउन सक्षम भइसकेका छन् ।










प्रतिक्रिया