
एजेन्सी । करिब २० जना विज्ञ आरोही र वैज्ञानिकहरूको टोलीबाट छानिएका जिम ह्विटेकरले माइनस ३० डिग्रीको चिसो र तीव्र हिउँदे आँधीका बीच मे १, १९६३ मा सगरमाथाको शिखरमा पहिलोपटक अमेरिकी झण्डा गाडेर इतिहास रचेका थिए ।
सिएटलका अनुभवी आरोही तथा आरईआईका म्यानेजर ह्विटेकरको यस सफलताले अमेरिकामा पर्वतारोहणप्रति राष्ट्रिय चासो जगाएको थियो । यसले पछि उनले सीईओका रूपमा नेतृत्व गरेको आउटडोर रिटेलर व्यवसायलाई पनि ठूलो उचाइमा पुर्यायो ।
अप्रिल ७ मा ९७ वर्षको उमेरमा निधन भएका ह्विटेकर एक सामान्य माउन्टेन गाइडबाट रातारात राष्ट्रिय सेलिब्रेटी बनेका थिए । शीतयुद्धको तनावपूर्ण समयमा उनको यो उपलब्धि अमेरिकी सफलताको प्रतीक बनेको थियो । सगरमाथा आरोहणको करिब ९ महिनाअघि मात्र क्युबाली मिसाइल संकट झेलेको अमेरिकाका लागि उनी गौरवका पात्र बनेका थिए ।
उनको ऐतिहासिक आरोहणपछि गृहनगर सिएटलमा भव्य परेड निकालिएको थियो भने ह्वाइट हाउसको रोज गार्डेनमा राष्ट्रपति जोन एफ. केनेडीले उनलाई सम्मान गरेका थिए । उनको टोलीका अन्य चार अमेरिकीहरू पनि ह्विटेकरले शिखरमा गाडेको हावामा फाटेको झण्डा भेट्न तीन हप्तापछि सफल भएका थिए ।
वर्षौंपछि ह्विटेकरले शेभ्रोले ट्रेलब्लेजर गाडी चलाएका थिए जसको नम्बर प्लेट २९०२८ थियो । त्यतिबेला सगरमाथाको उचाइ त्यति मानिन्थ्यो ।
अमेरिकी अल्पाइन क्लबका कार्यकारी निर्देशक चार्ली शिमान्स्कीले ह्विटेकरको उपलब्धिलाई अमेरिकी पर्वतारोहणको परिभाषित क्षण भन्दै यसले अमेरिकी आरोहीहरू पनि युरोपेलीहरू सरह सक्षम छन् भन्ने प्रमाणित गरेको बताएका थिए ।
६ फिट ५ इन्च अग्ला र २०० पाउन्ड तौल भएका ह्विटेकरलाई टोलीमा बिग जिम उपनाम दिइएको थियो । उनले तिब्बती मूलका शेर्पा आरोही नवाङ गोम्बुसँग काँधमा काँध मिलाएर संसारको सर्वोच्च शिखरमा पाइला टेकेका थिए ।
ह्विटेकर र गोम्बुअघि सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले मात्र सगरमाथाको शिखरमा पाइला टेकेका थिए ।
यस अभियानले अत्यधिक चिसो र उचाइले मानव शरीरमा कस्तो असर गर्छ भन्नेबारे अमेरिकी सेनाका लागि आवश्यक तथ्यांक पनि संकलन गरेको थियो । कम अक्सिजन भएको हावामा सास फेर्न कस्तो हुन्छ भन्ने प्रश्नमा ह्विटेकरले भनेका थिए, ‘आफ्नो ओछ्यानको सिरानीले मुख छोप्नुहोस् र सिरानी थिचेरै घरको एक चक्कर लगाउनुहोस् त्यस्तै महसुस हुन्छ ।’
ह्विटेकरले आउटडोर सामान बिक्री गर्ने प्रसिद्ध संस्था आरईआई मा २४ वर्ष बिताएका थिए । सन् १९५५ मा यस संस्थाको पहिलो पूर्णकालीन कर्मचारीका रूपमा प्रवेश गरेका उनी १९७९ मा सीईओका रूपमा अवकाश लिँदा यसलाई ४ करोड ६० लाख डलरको व्यापारिक संस्थामा बदलिसकेका थिए ।
उनले नै आरईआईको चर्चित वार्षिक सेलको सुरुवात गरेका थिए ।
ह्विटेकरको सिनेटर रोबर्ट एफ. केनेडीसँग निकै घनिष्ठ मित्रता थियो । सन् १९६५ मा उनले केनेडीलाई क्यानाडाको युकोनमा रहेको माउन्ट केनेडीको आरोहणमा गाइड गरेका थिए जुन हिमालको नाम रोबर्टका दिवंगत दाजु राष्ट्रपति जोन एफ. केनेडीको नाममा राखिएको थियो ।
पछि ह्विटेकरले सन् १९६८ को राष्ट्रिय चुनावमा केनेडीको क्याम्पेन म्यानेजरका रूपमा पनि काम गरे र केनेडीको अन्त्येष्टिमा शव बोक्नेमध्ये एक उनी पनि थिए ।
सन् १९७८ मा उनले विश्वको दोस्रो सर्वोच्च शिखर केटुमा पहिलो सफल अमेरिकी आरोहणको नेतृत्व गरे । उनले १९९० मा चीन, रुस र अमेरिकाका आरोहीहरूलाई समेटेर शान्ति आरोहणको पनि आयोजना गरेका थिए ।
उनले सन् १९८१ मा अपांगता भएका ९ जना आरोहीहरूलाई माउन्ट रेनियरको शिखरमा पु-याएका थिए जसमा दृष्टिविहीन, बहिरो र युद्धमा खुट्टा गुमाएका व्यक्तिहरू समावेश थिए । यो उनको जीवनको एक गर्विलो क्षण थियो ।
हिमाल जित्ने वा विजय प्राप्त गर्ने भन्ने शब्दमा ह्विटेकरको विश्वास थिएन । उनले आफ्नो आत्मकथा ए लाइफ अन दी एजमा लेखेका छन्, ‘हिमाल निकै विशाल र शक्तिशाली छ । आरोही निकै कमजोर र थकित । हिमाल सधैं रहन्छ । हामी त त्यहाँ बिताएको हरेक सेकेन्ड मृत्युसँग लडिरहेका हुन्छौं ।’
सन् १९२९ मा सिएटलमा जन्मेका जिमका जुम्ल्याहा भाइ लु ह्विटेकर पनि प्रसिद्ध आरोही थिए । ९७ वर्षको उमेरमा पोर्ट टाउनसेन्ड वाशिङटनस्थित आफ्नै घरमा उनको निधन भएको उनकी पत्नी डियान रोबर्ट्सले पुष्टि गरिन् ।
आरोहणपछि फर्किंदाको अनुभव सुनाउँदै ह्विटेकरले एकपटक भनेका थिए, ‘तपाईं हिमालबाट तल झर्नुहुन्छ र पहिलो पटक घाँसको पात देख्नुहुन्छ, माटोको सुगन्ध सुँघ्नुहुन्छ, तब तपाईंलाई जीवित हुनुको मूल्य र कृतज्ञता महसुस हुन्छ । हामी यो ग्रहको जादु अनुभूत गर्न पाउनु नै ठूलो भाग्य हो ।’








प्रतिक्रिया