इरानले हर्मुज हुँदै जाने कच्चा तेलमा प्रति ब्यारल १ डलर शुल्क लिने

917
Shares

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम भए पनि इस्लामिक गणतन्त्र इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलयोजकमा आफ्नो पकड झनै बलियो बनाउँदै लगेको छ ।

इरानले अब यो मार्ग भएर जाने तेल ट्यांकरहरूबाट क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) मा शुल्क माग गरेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।

इरानको तेल, ग्यास तथा पेट्रोकेमिकल उत्पादन निर्यातक संघका प्रवक्ता हमिद होसेनीका अनुसार, इरानले यो मार्ग भएर जाने प्रत्येक जहाजको जाँच गर्ने र शुल्क असुल्ने योजना बनाएको छ ।

फाइनान्सियल टाइम्ससँग कुरा गर्दै होसेनीले भने, ‘यी दुई हप्ताको युद्धविरामको समयमा हतियार ओसारपसार नहोस् भन्नका लागि इरानले जलमार्गबाट के भित्रिरहेको छ र के बाहिरिरहेको छ भन्ने कुराको कडा निगरानी गर्न आवश्यक छ ।’

इरानले तय गरेको नयाँ नियम अनुसार, जलमार्ग पार गर्न चाहने ट्यांकरहरूले पहिले अधिकारीहरूलाई इमेलमार्फत आफ्नो कार्गो (सामान) को विवरण पठाउनुपर्नेछ । त्यसपछि इरानले उनीहरूलाई तिर्नुपर्ने शुल्कबारे जानकारी दिनेछ ।

रिपोर्ट अनुसार, तेल बोकेका जहाजहरूले प्रति ब्यारल १ डलर शुल्क तिर्नुपर्नेछ भने खाली जहाजहरूले निःशुल्क जान पाउनेछन् । यो शुल्क बिटकोइन जस्ता डिजिटल मुद्रामा भुक्तानी गर्नुपर्ने शर्त राखिएको छ ।

होसेनीका अनुसार, डिजिटल मुद्रामा भुक्तानी गर्दा अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रकम जफत हुने वा स्रोत पत्ता लाग्ने जोखिम हुँदैन । जहाजहरूलाई भुक्तानीका लागि केही सेकेन्डको मात्र समय दिइनेछ ।

इरानले स्पष्ट चेतावनी दिँदै भनेको छ– कुनै पनि जहाजले अनुमति बिना वा शुल्क नतिरी जलमार्ग पार गर्न खोजेमा त्यसलाई नष्ट गरिनेछ । बुधबार खाडी क्षेत्रमा रहेका ट्यांकरहरूलाई इरानको पूर्व स्वीकृति बिना अघि नबढ्न चेतावनी दिइएको थियो ।

यसैबीच, इजरायलले लेबननमा हिजबुल्लाहमाथि गरेको आक्रमणको प्रतिक्रियास्वरूप इरानले हर्मुज जलमार्ग पुनः बन्द गरेको छ । इरानको रिभोलुसनरी गार्ड्सले समुद्री सुरक्षा र बारुदी सुरुङको जोखिम देखाउँदै जहाजहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिएको छ ।

हाल खाडी क्षेत्रबाट बाहिर निस्कनका लागि करिब ३०० देखि ४०० जहाजहरू पालो पर्खेर बसेका छन् । विज्ञहरूका अनुसार, इरानको झन्झटिलो जाँच प्रक्रियाका कारण अब दैनिक १० देखि १५ वटा मात्र जहाज जान सक्नेछन् । युद्ध सुरु हुनुअघि यस मार्गबाट दैनिक १३५ वटा जहाज आवतजावत गर्ने गर्थे ।

विशाल ढुवानी कम्पनी मेर्स्कले इरानका शर्तहरूबारे स्पष्ट हुनका लागि काम गरिरहेको बताएको छ । कम्पनीले अहिलेको युद्धविरामले पूर्ण रूपमा समुद्री सुरक्षाको ग्यारेन्टी नगरेको भन्दै सावधानीपूर्वक अघि बढ्ने नीति लिएको छ । अहिलेको समस्या दुई हप्ताको युद्धविराम अवधिमा हट्ने सम्भावना निकै कम देखिएको छ ।

Skip This