
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।
त्यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत् नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्न सक्ने देखिएको छ।
कहाँ कति बढ्यो भाडा?
सार्वजनिक यातायात- १६.७१ % वृद्धि
पहाडी क्षेत्र (ढुवानी)- २१.६८ % वृद्धि
तराई क्षेत्र (ढुवानी)- १५.७५ % वृद्धि








प्रतिक्रिया