
एजेन्सी । मिनर्भा ग्लोरिया मेक्सिकोको खाडीमा रहेको अमेरिकाको विशाल तेल भण्डारबाट धेरै टाढा नपर्ने मिसिसिपी साउन्डको एक घाटमा लंगर हालेर बसेको छ ।
२५० मिटर लामो, गाढा नीलो र कलेजी रंगको यस जहाजले भेनेजुएलाबाट बहुमूल्य सामग्री बोकेको छ जुन केवल ६ महिनाअघिसम्म अमेरिका ल्याउन असम्भव थियो । त्यो ४ लाख ब्यारल कच्चा तेल हो ।
भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार छ । भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरोको पालामा लगानीको अभावका कारण तेलको निर्यात उल्लेख्य रूपमा घटेको थियो । त्यसपछि यो ल्याटिन अमेरिकी देशबाट हुने कुनै पनि आयातविरुद्ध अमेरिकी प्रतिबन्धहरू लागे ।
तर, जनवरीमा अमेरिकी सेनाले एक आकस्मिक रात्रिकालीन छापामारीमा मदुरोलाई पक्राउ गरेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ती भण्डारहरूको उपयोग गर्ने वाचा गरे ।
अहिले भेनेजुएलामा फेरि तेलको प्रवाह सुरु भएको छ । मार्चमा देशको मासिक कच्चा तेल निर्यात प्रति दिन १० लाख ब्यारल नाघेको छ । यो सेप्टेम्बर यता पहिलोपटक हो ।
इरानले हर्मुज जलयोजक बन्द गरेका कारण विश्वव्यापी ऊर्जा मूल्यमा परेको प्रभावबाट विश्व आक्रान्त भइरहँदा सेभरन जस्ता ठूला तेल र ग्यास कम्पनीहरूले अहिले जहाजका जहाज भेनेजुएलाको कच्चा तेल आयात गरिरहेका छन् ।
‘यो सेभरनका लागि मात्र नभई सम्पूर्ण खाडी क्षेत्रका लागि नै ठूलो कुरा हो,’ टिम पोटर भन्छन् । उनी मिसिसिपीको पास्कागुलास्थित सेभरनको तेल प्रशोधन केन्द्रका निर्देशक हुन् जुन अमेरिकामा कम्पनीको सबैभन्दा ठूलो सञ्चालन केन्द्र हो । यो हाल भेनेजुएलामा सञ्चालित एकमात्र ठूलो अमेरिकी तेल कम्पनी पनि हो ।
यसको अर्थ सेभरनले आफ्नै भेनेजुएलाको तेल निकाल्न, आफैं प्रशोधन गर्न र प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तासम्म पुर्याउन सक्छ ।
‘यसलाई चलाउनु हाम्रा लागि ठूलो प्रोत्साहन हो,’ पोटर भन्छन्, ‘प्रशोधन केन्द्र वास्तवमै भेनेजुएलाको जस्तो गह्रौं तेल प्रशोधन गर्नका लागि डिजाइन गरिएको थियो र हामीले त्यसमा लगानी गरेका थियौं ।’
भेनेजुएलाको तेलले अन्ततः अमेरिकामा पेट्रोलको मूल्यमा गिरावट ल्याउने सेभरनका निर्देशक टिम पोटर बताउँछन् ।
भेनेजुएलाको कच्चा तेल किन्न तुलनात्मक रूपमा सस्तो छ किनभने यसलाई प्रशोधन गर्न धेरै गाह्रो हुन्छ । यो धेरै गह्रौं, बाक्लो, गाढा र सल्फरको मात्रा बढी भएको हुन्छ जसलाई प्रायः सावर आयल भनिन्छ। यसको प्रयोग डिजेल, ग्यासोलिन, जेट इन्धन र अन्य उत्पादनहरू बनाउन गरिन्छ ।
सेभरनका डाउनस्ट्रिम, मिडस्ट्रिम र केमिकलका अध्यक्ष एन्डी वाल्जका अनुसार, सेभरनले अहिले औसतमा प्रतिदिन २ लाख ५० हजार ब्यारल बराबरको भेनेजुएलाको कच्चा तेल आयात गर्छ ।
‘हामीलाई लाग्छ, हामी यसलाई थप ५० प्रतिशतले बढाउन सक्छौं अर्थात् भेनेजुएलामा हाम्रो हिस्साको मात्र प्रतिदिन ३ लाख ५० हजारदेखि ४ लाख ब्यारल पुर्याउन सक्छौं ।’
वाल्जले अमेरिकाको भेनेजुएलामा स्थिति भन्नाले सेभरन सो देशमा उत्खनन क्षमता भएको एकमात्र अमेरिकी कम्पनी भए पनि अरूले आन्तरिक उत्पादकहरूबाट भेनेजुएलाको तेल किनिरहेका छन् भन्ने बुझाउन खोजेका हुन् ।
अमेरिकामा तेल प्रशोधनको कुरा गर्दा सेभरन मात्र एक्लो खेलाडी होइन । अमेरिकामा १३२ वटा प्रशोधन केन्द्रहरू छन् जुन विभिन्न प्रकारका कच्चा तेलको मिश्रणमा चल्छन् । र अमेरिकाको लगभग ७० प्रतिशत प्रशोधन क्षमता गह्रौं कच्चा तेलसँग सबैभन्दा कुशलतापूर्वक चल्छ ।
अमेरिकाले मध्यपूर्वबाट धेरै कम तेल आयात गर्छ । सन् २०२५ मा लगभग ८ प्रतिशत मात्र आएको थियो । भेनेजुएलाबाट आयातमा भएको वृद्धिले गर्दा थप तेल उपलब्ध भएको छ जसले अमेरिकी चालकहरूका लागि सस्तो ग्यासोलिन मूल्यमा रूपान्तरण हुनुपर्छ ।
‘अमेरिकाले हर्मुज जलयोजकबाट लगभग शून्य बराबर तेल आयात गर्छ र भविष्यमा पनि गर्ने छैन । हामीलाई यसको आवश्यकता छैन,’ अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता आफ्नो प्राइमटाइम सम्बोधनमा भने ।
मिसिसिपीको पास्कागुलास्थित सेभरनको तेल प्रशोधन केन्द्र भेनेजुएलामा पाइने गह्रौं तेल प्रशोधन गर्नका लागि डिजाइन गरिएको थियो ।
तर, सेभरन प्रशोधन केन्द्रबाट केही माइल टाढा रहेको सेभरन इन्धन स्टेशनमा पम्पको मूल्य बढिरहेकै छ ।
‘मलाई यो मन पर्दैन,’ भियतनाम युद्धका अवकाशप्राप्त सिपाही डेभिड म्याक्वीन भन्छन् । उनीे आफ्नो जीविकोपार्जनका लागि सामाजिक सुरक्षामा निर्भर छन् । ‘मूल्य घट्नुपर्छ किनभने यसका कारण मेरो हालत खराब भइरहेको छ ।’
अमेरिकाको विशाल तेल भण्डारको बीचमा भएर पनि आफ्नो कार भर्न किन अझै यति धेरै पैसा तिर्नुपरेको छ भनी सोध्दा म्याक्वीन सरकारले मूल्य बढाउनका लागि तेल थुपारेर राखेको विश्वास गर्छन् । उनी थप्छन्, ‘हामीसँग पर्याप्त ग्यास छ ।’
अर्को पम्पमा डोनाले ३० डलर बराबरको इन्धन भर्दै भनिन्, ‘म कम गाडी चलाउँदैछु र अन्य कुराहरूमा कम खर्च गर्दैछु ।’
नका नातिनातिनीहरू केही घण्टाको दूरीमा बस्छन् तर खर्चिलो भएकाले उनीहरूलाई पहिले जस्तो धेरै भेट्दिनन् । ‘जे गर्नुपर्ने हो, त्यो त गर्नैपर्याे ।’
अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार, मिसिसिपीको यस भागमा एक ग्यालन ग्यासोलिनको औसत मूल्य अझै पनि राष्ट्रिय औसत भन्दा सस्तो छ । इरानमा युद्ध सुरु हुनुअघि ग्यास लगभग १ डलर सस्तो थियो ।
इन्धनको उच्च मूल्यको अर्थ उनले आफ्ना नातिनातिनीहरूलाई कम भेट्नु परिरहेको डोना बताउँछिन् ।
त्यही साँझको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकाको तेल उत्पादन क्षमताको प्रशंसा गरे । ‘हामी यस ग्रहको नम्बर एक तेल र ग्यास उत्पादक हौं, भेनेजुएलाबाट प्राप्त भइरहेको लाखौँ ब्यारलको त कुरै छाडौं ।’
तर, ती विशाल तेल भण्डारहरूमा पहुँच हुँदा पनि अमेरिकीहरूका लागि मूल्य अझै कम भएको छैन । यो किनभने अमेरिका पनि अन्य देशहरू जस्तै विश्वव्यापी तेल बजारको उतारचढावप्रति उत्तिकै संवेदनशील छ ।
‘हाम्रो तुलनात्मक रूपमा स्थानीय आपूर्तिका कारण यस प्रशोधन केन्द्रका लागि कच्चा तेल उपलब्ध भए पनि त्यसको समग्र मूल्य बढेको छ किनभने यो विश्व बजारमा आधारित छ,’ पोटर भन्छन् ।
तर, सेभरनले भेनेजुएलाको कच्चा तेलमा गरेको दाउले अन्ततः उपभोक्ताहरूलाई फाइदा पु¥याउने विश्वास गर्छ । इरान युद्धले हालका लागि ती फाइदाहरूलाई ओझेलमा पारेको छ ।
‘स्थिति सामान्य भएपछि भेनेजुएलाबाट हुने त्यो अतिरिक्त आपूर्तिले वास्तवमै अमेरिकीहरूका लागि मूल्य घटाउनेछ । त्यसैले यो भविष्यमा हुनेछ तर अहिले यसको प्रभाव देखिएको छैन,’ वाल्ज भन्छन् ।








प्रतिक्रिया